१८ चैत्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चर्चा मुख र थुतुनोको, कुरा दुर्गा प्रसाई र कुलमानको : गोविन्द थापा

प्रकाशित मिति :  १५ चैत्र २०८१, शुक्रबार ०७:०७


काठमाडाैं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक गोविन्द थापाले चर्चा मुख र थुतुनोको, कुरा दुर्गा प्रसाई र कुलमानको भन्दै सामाजिक सञ्जाल फेसवुक पेजमा एउटा भिडियो पोष्ट गर्नु भएको छ ।
थापाले ‘अहिले नेपालमा दुर्गा प्रसाईं र कुलमान घिसिङको खुबै चर्चा छ । उनीहरुको बारेमा र देशको अहिलेको परिस्थितिको बारेमा म केही कुरा राख्छु’ भन्दै सामाजिक सञ्जाल फेसवुकमा एउटा भिडियो राख्नुभएको हो ।

राजनीतिक विश्लेषक थापाले हाम्रो देशमा आजकाल अचम्म अचम्म देखिन थालेको छ । यो इन्टरनेट र साइबर सामाजिक सञ्जाल भन्ने चिज बनेकै अचम्म अचम्म देख्न र हेर्नका लागि हो कि जस्तो मलाई लाग्न थालेको छ भन्दै इन्टरनेटको प्रयोग गरेर अरु देशले कति प्रगति गरिसके, हाम्रो समाजमा चाहिँ इन्टरनेट भनेको गाली गर्ने र गाली सुन्ने माध्यम बनेको छ । तपाईंहरुलाई पनि त्यस्तो लागेको छ ? भन्दै यो इन्टरनेटले नेपालमा थुतुनो युग ल्याएको छ । लोकतन्त्रको युग, एक्काइसौं सताब्दीको युग, प्रगति र उन्नतिको युग भन्छन् मानिसहरु । तर, मलाई चाहिँ नेपालमा थुतुनो युग आएको जस्तो लाग्छ । मेरा पत्रकार मित्र हुनुहुन्छ राजकुमार रेग्मी । उहाँले केही समय अगाडि नेपालमा थुतुनो युग आएको बताउनुभएको थियो । उहाँले थुतुनो युग र थुतुनो शिरोमणि बारेमा रोचक टिप्पणी गर्नुभएको थियो ।

उहाँले समाजिक सञ्जाल फेसबुकमा राख्नुभएको भिडियोमा बोल्नुभएको थप कुरा

सकारात्मक र राम्रो कुरा बोल्ने मुख हो भने नकारात्मक र नराम्रो कुरा बोल्ने थुतुनो हो । कसैले नराम्रो कुरा बोल्यो भने धेरै थुतुनो नचला है भन्ने गरिन्छ । नेपालमा आजकाल मुखतिर धेरै मानिसको ध्यान छैन, थुतुनोतिर ध्यान मात्र छ । जसको धेरै थुतुनो चल्छ उसैलाई सबैले वाह भन्ने अचम्मको युग आएको छ । थुतुनो चलाएकै भरमा पार्टी पनि खोलेका छन् । थुतुनो चलाएर साइबर सञ्जालमा मानिसहरु रातारात हिट हुने गरेका छन् । थुतुनो चलाएकै भरमा मानिसहरु सांसद् मन्त्री भइसकेका छन् । मानिसको योग्यता क्षमता सबै थुतुनोमा केन्द्रीत भएको छ । जसले आमाचकारी थुतुनो चलाउन सक्छ ऊ नै योग्य अरे । कस्तो अनौठो है ?

यस्तो थुतुनो जमाना आएको बेलामा मैले पनि आफ्ना विचार राख्न बेलाबखत भिडियो बनाउने गरेको छु । मेरो भिडियो हेरेर मित्रहरुले सरसल्लाह दिनुहुन्छ । त्यसरी आएका सरसल्लाहलाई मैले मान्ने पनि गरेको छु । तर, केही सल्लाह यति अचम्मको आउने गरेको छ त्यो चाहिँ मान्न सकिएन । धेरैजनाले भन्ने गर्नुभएको छ, त्यसरी भलाद्मी भएर भिडियोमा बोलेर हुन्छ र ? शान्तिपूर्वक बौद्धिक कुरा बोलेर भिडियो बनाउनुको अर्थ हुँदैन । उग्र कुरा गर्नुस्, उग्र भएर बोल्नुस्, विरोधी र चित्त नबुझेका मानिसलाई मनपरी भन्नुस् भनेर मलाई सल्लाह दिने गरेका छन् ।

त्यसरी सल्लाह दिने मित्रहरुलाई मैले भन्ने गरेको छु, त्यसरी मनपरी बोल्ने मेरो क्षमता छैन, किनभने मसँग थुतुनो छैन, मुख मात्र छ । मुखले बोल्ने कुरा थुतुनोले बोल्न सक्दैन, थुतुनोले बोल्ने कुरा मुखले बोल्न मान्दै मान्दैन । त्यसैले होला, मलाई आमाचकारी गाली गर्न आउँदैन । तथ्यहीन आरोप लगाउन आउँदैन । अरुको चरित्रहत्या गर्न मुखले दिँदै दिँदैन ।
मुख र थुतुनोको कुरा गरें मैले । म आफ्नो मुखसँगै सन्तुष्ट छु । थुतुनो मलाई चाहिएन । थुतुनोका अतिरञ्जित र झुठैझुठ कुरा सुन्ने हो भने सामाजिक सञ्जालका कथित अभियन्ताहरुको कुरा सुन्नुहोस् । गाली, चरित्रहत्या, तथ्य र प्रमाणसँग कुनै नातासाइनो नभएको गफ सुन्न मन भए दुर्गा प्रसाईंको गफ सुन्नुहोस् । दुर्गा प्रसाईं यति सफेद झुठ बोल्न सक्छन्, कुनै सीमा छैन । कालोलाई सेतो, सेतोलाई कालो भन्न सक्नु पनि खुबी नै हो । दुर्गा प्रसाईं र राजावादीहरुको कुरा एकछिनपछि गरौंला । अहिले कूलमान घिसिङको बारेमा केही कुरा भन्छु ।

कूलमान घिसिङलाई विद्युत प्राधिकरणको निर्देशकबाट हटाइएको छ । सरकारले नै नियुक्त गर्यो, सरकारले नै हटायो । विगतमा कूलमानलाई जसरी अरुलाई पनि सरकारले नियुक्त गरेको थियो, अरुलाई पनि हटाइएको थियो । अरु र कूलमानमा एउटा फरक छ । अरुले आफ्नो मार्केटिङ साइबर दुनियाँ मार्फत् गर्न जानेनन्, त्यस्तो कला र क्षमता कूलमानमा देखियो ।

लोडसेडिङ अन्त्य गर्न केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले वृहत् कार्ययोजना बनायो । कूलमान आफैंले पनि त्यो कार्ययोजना अनुसार लोडसेडिङ अन्त्य भएको भनेकै हो । साइबर र भाइरल रोगले ग्रस्त तथा राजनीतिक महत्वाकांक्षाले सिकिस्त कूलमानले लोडसेडिङ अन्त्यको जस आफूले मात्र लिन खोजेको प्रष्ट छ । उज्यालोको नायक, लोडसेडिङको अन्त्य गर्ने व्यक्ति भन्दै आफ्नो मार्केटिङ र ब्राण्डिङ कूलमानले गरेको सबैलाई थाहा छ ।

विद्युत प्राधिकरणमा कार्यकाल सकिने बेला आएपछि कूलमानले राम्राराम्रा काम गर्नुपथर््यो तर सिर्फ सरकारसँग निहुँ खोज्ने, विभागीय मन्त्रीसँग निहुँ खोज्ने, जुध्ने, झगडा गर्ने काम गरेको प्रष्ट छ ।०८४ को चुनावपछि सांसद् बन्ने एकसूत्रीय उद्देश्यले कूलमानले काम गरेको देखिन्छ । राजनीति गर्न पाइन्छ, राजनीतिक महत्वाकांक्षा राख्न पनि पाइन्छ, सांसद् बन्ने उद्देश्य राख्न पाइन्छ । तर, सरकारी प्रशासनिक पदमा बसेर भविष्यका लागि राजनीतिक पद सुरक्षित गर्ने गरी सरकारसँग निहुँ खोज्न पाइँदैन । यसो गर्नु अनैतिक हो ।

कूलमान घिसिङको बोलिवचन मीठो छ, अशिष्ठ र असामाजिक कुरा कुलमानले बोलेको सुनिएको छैन । तर, नियत भने खराब देखियो । वर्तमान सरकारलाई कसरी प्रहार गर्ने भनेर इश्यु खोजेर बसेकाहरुलाई कुलमान राम्रो मसला बनेको पनि प्रष्ट छ ।

अब कुरा गरौं दुर्गा प्रसाईं र राजावादीहरुको । राजावादीहरुको आशा र भरोसाको केन्द्र अहिले पूर्व राजा ज्ञानेन्द्र शाह होइन दुर्गा प्रसाईं हो । साँच्चै भन्ने हो भने अहिले दुर्गा प्रसाईंको थुतुनोले आन्दोलन गरिरहेको छ । दुर्गा प्रसाईंको थुतुनोको बलमा राजतन्त्र ल्याउने रे । कति हास्नु । दुर्गाले अन्टसन्ट बोलेर, झुठै झुठ बोलेर, अतिरञ्जित कुरा बोलेर जुटाएको भीड हो । नेपाली जनता ज्ञानी र विवेकी छन् तर केहीकेही मानिस भेडाबाख्रा टाइपका छन् । हरेक देशमा भेडाबाख्रा टाइपका मानिस हुन्छन् नै । नेपालमा पनि छन् भेडाबाख्राले खाएजस्तै लाइक र भ्यूज खाने मिडिया अहिले छ । युटुब र साइबर दुनियाँमा लाइक र भ्यूजका लागि दुर्गा प्रसाईं राम्रा पात्र हुन् । किनभने उनले जे पनि बोल्छन् ।

भेडाबाख्रा टाइपका एउटा जमात दुर्गा प्रसाईंले जुटाएका छन् । पैसा भएपछि चारखुट्टे भेडाबाख्रा पनि जुटाउन सकिन्छ, दुईखुट्टे भेडाबाख्रा पनि जुटाउन सकिन्छ । भाडामा ल्याइएका दुई खुट्टे भेडाबाख्रालाई वरिपरि राखेर युटुबका पत्रकारहरुका अगाडि दुर्गा प्रसाई भाषण गर्छन् । हातमा कागज हल्लाउँदै यही हो अर्बाैं रुपैयाँ खाएको प्रमाण भन्छन् । भाडामा ल्याइएकाहरुले सिकाए अनुसार र इशारा दिए अनुसार पर्रर ताली पिट्छन् । फोनको स्क्रिन देखाउँदै अर्बाैं रुपैयाँ खाएको भिडियो नै मैले पाइसके भनिदिन्छन्, दुर्गा प्रसाईंका भेडाबाख्राले ताली पिट्छन् । दुर्गा प्रसाईं फलानाले दुबईमा घर किनेको छ, स्विट्जरल्याण्डमा पैसा राखेको छ, भनिदिन्छन्, उनका भेडाबाख्राले ताली पिट्छन् । मैले बुझे अनुसार दुर्गा प्रसाईंले भाडामा केही मानिसको जमात राखेका छन्, जो हरदम उनको साथमा हुन्छन् । उनीहरुको काम नै पर्रर ताली पिट्ने हो । भाषण र युटुबे पत्रकार सम्मेलनमा दुर्गा प्रसाईं मनपरी बोल्छन्, नानाभाँती आरोप लगाउँछन् । उनको भिडियो हेर्ने आम मानिसलाई के लाग्छ भने वाह, दुर्गा प्रसाईं जहाँ गए पनि समर्थकले घेरिन्छन्, जहाँ गए पनि उनले बोलेको कुरामा ताली बज्छ । सत्य चाहिँ के हो भने दुर्गा प्रसाईंले भाडाका मानिस वरिपरि राखेर ताली पिट्न लगाउँदै भाषण दिएका हुन्छन् ।

यी दुर्गा प्रसाईंको कीर्ते शैली अनौठो छ । अरुलाई अनर्गल आरोप लगाउँछन्, मनपरि आरोप लगाउँछन्, आरोप लगाइसकेपछि वरिपरि रहेका आफ्नो भेडाबाख्रलाई सोध्छन्, हो कि होइन भन्नुस् त ? भेडाबाख्राहरु सिकाइए अनुसार हो हो भन्दै ताली पिट्छन् । यसरी नै यिनले सारालाई भ्रममा पारेका छन् । दुर्गा प्रसाईंले देश खत्तम भो, स्वाहा भो, देशमा नराम्रै नराम्रो भो भन्छन् ।

अचम्म त के भने दुर्गाको थुतुनोको अगाडि राप्रपा, राप्रपा नेपाल पनि हारेको छ । राप्रपा र राप्रपा नेपालजस्ता स्थापित र पूराना राजावादी पार्टीलाई पनि दुर्गाको थुतुनोले कायल बनाएको देखिन्छ । नेपाललाई इण्डियामा मिसाउनुपर्छ भन्ने, नेपालको राष्ट्रियताको कुरै नगर्ने, नेपालमा भइरहेको विदेशी हस्तक्षेपलाई ठिक भन्ने, नेपालमा बन्न लागेका खासखास विकास परियोजनाहरुको विरोध गर्ने दुर्गा प्रसाईंको नियत अत्यन्त खराब छ । झापाको बिर्तामोडमा दुई छाक मुस्किलले खान पुग्ने दुर्गा प्रसाईं कति झुठ बोल्छन् भने आफू जमिनदारको छोरा हो पनि भन्छन् । अरुलाई रातोदिन भ्रष्ट र तस्कर भनेर आरोप लगाउने दुर्गा आफूले कसरी अर्बाैं रुपैयाँ कमाए ? यसको जवाफ दिँदैनन् ।

नेपालमा यस्तै खालका मानिसहरुको बोलवाला बढ्दै गएको छ । दुर्गा प्रसाईं र कुलमान घिसिङ नाम गरेका व्यक्तिको मैले विरोध गर्न खोजेको होइन । यिनीहरु भनेका व्यक्ति होइनन्, प्रतिनिधि पात्र हुन्, प्रवृत्ति हुन् । दुर्गा प्रसाईंले जस्तो विचार र व्यवहार देखाइरहेका छन्, त्यस्तै विचार र व्यवहार समाजमा स्थापित हुने हो भने के होला ? सभ्य समाज रहँदैन ।

दुर्गा प्रसाईं झापाका मानिस हुन्, म पनि झापाकै मानिस हो । झापामा राई, लिम्बू, गुरुङ, मगर, तामाङ, धिमालको सघन बसोबास छ । विभिन्न धर्म छ । किराँत धर्मको त झापालाई केन्द्र भने पनि हुन्छ । हामी नेपालीको विशेषता के छ भने हामी एकसाथ विभिन्न धर्म एकैपटक मान्छौं । जस्तो कि व्यक्तिगत रुपमा म किराँत, बुद्ध, र हिन्दू धर्म मान्छु । म कति प्रतिशत हिन्दु, कति प्रतिशत किराँत र कति प्रतिशत बौद्ध धर्म मान्छु भनेर मलाई नै थाहा छैन । किराँत धर्म मान्नेहरुले हिन्दू बौद्ध मन्दिर देख्दा ढोगिहाल्छन्, हिन्दू भनिनेहरुले गुम्बा र माङहिम देख्नासाथ ढोगिहाल्छन् । म वर्षैपिच्छे एकपटक व्रत लिएर लारुम्बा पुग्ने गरेको छु । लारुम्बा जाँदा बिहानैदेखि केही नखाई चोखो भएर जाने गरेको छु । हामी एकसाथ बहुधर्ममा आस्था राख्छौं । यस्तो देशमा भारतीय अतिवादी हिन्दू विचारको हिन्दू राष्ट ल्याउन खोज्नु गलत छ ।

साँच्चै भन्ने हो भने नेपालको हिन्दू धर्म र भारतको हिन्दू धर्ममा ठूलो फरक छ । भारतमै पनि उत्तर भारतको हिन्दू धर्म र दक्षिण भारतको हिन्दूमा फरक छ । भारतीय जनता पार्टीले एक खालको हिन्दूत्वको प्रचार गरिरहेको छ । त्यस्तो खालको हिन्दूत्व नेपालीले मान्न सक्दैन । वास्तवमा म नेपालको हिन्दू धर्मलाई हिन्दू भन्दा पनि नेपाली धर्म भन्न रुचाउँछु । फेरि पनि भन्छु, नेपाली धर्म । किनभने नेपालको हिन्दू बाहुन मन्दिर जान्छ र ढोग्छ, बाटोमा पर्ने गुम्बालाई पनि ढोग्छ, माङहिमलाई पनि ढोग्छ । एकजना तामाङ बिहान मन्दिर गयो भने दिउँसो गुम्बा जान्छ । मन्दिरमा बुद्धको मुर्ति पनि हुन्छ भने गुम्बामा हिन्दू मूर्ति पनि हुन्छ । यस्तो अद्भूत देशमा दुर्गा प्रसाईंलाई अगाडि सारेर ज्ञानेन्द्र शाह तथा राजावादीहरुले अतिवादी भारतीय हिन्दूत्व लाद्न खोजिरहेका छन् । त्यसैले हामीले गणतन्त्र मात्र जोगाएर पुग्दैन, नेपालको मौलिक धर्म पनि जोगाउनुपर्छ ।

मानव सभ्यताले यति ठूलो प्रगति गरेको गालीगलौजज र उत्तेजनाले होइन, समाजको प्रगति थुतुनाले गर्दैन, मुखले गर्छ । भन्दै उहाँले अन्तिममा म तपाईंहरुलाई एउटा प्रश्न सोध्छु भनेर राजनीतिक विश्लेशक गाेविन्द थापाले , तपाईंहरु मुखको पक्षमा कि थुतुनोको पक्षमा ? भनेर प्रश्न समेत गर्नु भएकाे छ ।


339
Shares

प्रतिक्रिया दिनुहोस !