१८ चैत्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ज्यूँदो मान्छे जलाउने दुर्गा प्रसाईं र ज्ञानेन्द्रलाई तत्काल गिरफ्तार गर

प्रकाशित मिति :  १६ चैत्र २०८१, शनिबार ०८:११


काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक गोविन्द थापाले अत्यन्त भावुक हुँदै ज्यूँदो मान्छे जलाउने दुर्गा प्रसाईं र ज्ञानेन्द्रलाई तत्काल गिरफ्तार गर भन्दै समाजिक सञ्जाल फेसबुक पेजमा हिजो राती एउटा भिडियो पोष्ट गर्नु भएको छ ।

उहाँले अब ज्ञानेन्द्र शाहलाई पक्रनुपर्ने अवस्था आयो । भन्दै आज काठमाडौंमा राजावादीहरुले एकजना पत्रकारलाई जलाएर मारेका छन् । आज उनीहरुले गरेको हत्या, लुटपाट, आगजनी, तोडफोड जस्ता अपराधिक हर्कतमा ज्ञानेन्द्रको हात छ कि छैन ? समर्थन छ कि छैन ? उनको भूमिका के हो ? यसमा उनी के भन्छन् । पक्रेर सोधपुछ र छानविन गर्नुपर्ने बेला भयो । भनेर बताउनु भएको छ ।

उहाँले आजबाट राजतन्त्रवादीहरुले नयाँ युवराजधिराज पाएका छन् । एकजना पारस शाह छँदै थिए, अर्का दुर्गा प्रसाईं आजबाट थपियो । तपाईंहरुले थाहा पाउनुभयो होला, होइन त ? भन्दै

नेपालमा आफ्नो परिवारको एकछत्र शासनसत्ता भएको बेला पारसले काठमाडौंको दरबारमार्गमा मोटरले किचेर गायक प्रवीण गुरुङलाई मारेको हामी सबैलाई थाहा भएकै कुरा हो । नयाँ पुस्ताका भाइबहिनीहरुलाई यो घटना र राजपरिवारले त्यसबेला गरेका अन्य अपराधहरु थाहा छैन भने थाहा पाउन अनुरोध गर्दछु ।

आज राजावादीहरुले काठमाडौंमा अति सुनियोजित तरिकाले आगजनी, तोडफोड र हिँसात्मक काम गरेका छन् । निजी घर र पसलहरुमा पनि आक्रमण गरेका छन्, पसल लुटेका छन् । दुर्गा प्रसाईं बैंक लुटुवा भनेर चिनिएका हुन्, उनले तयार पारेको जत्थाले पसल र घर लुटेको छ । बैंक लुटेरा दुर्गा प्रसाईंले आज भाटभटेनी डिपार्टमेन्टल स्टोर सहित दर्जनौं पसल लुटेका छन् । अब उनको लुट टुलुटुलु हेरेर सरकार नबसोस् । दुर्गा प्रसाईंले झापाको काकडभिट्टामा पनि टकमा आगजनी गरेर डाइभरलाई ज्यूँदै जलाएर मारेका थिए । त्यो मुद्दालाई सरकारले वेवास्ता गरेको हुनाले दुर्गा प्रसाईंको मनोबल बढ्यो र आज काठमाडौंमा पनि ज्यूँदै मान्छे जलाएका छन् ।

थुतुनो शिरोमणी दुर्गा प्रसाईंले काठमाडौंको बानेश्वरमा भीडमा मोटर लगेर सर्वसाधारण तथा प्रहरीलाई मार्ने प्रयास गरेको देखियो । यी तिनै दुर्गा प्रसाईं हुन् जसले आफ्नो सत्ता आएपछि प्रहरीको तलब एक लाख बनाइदिन्छु भनेका थिए । उनले मोटरले किचेर एकजना पनि सर्वसाधारण मार्न सकेनन् । एकजना पनि प्रहरी मार्न सकेनन् तर दर्जनौं प्रहरीलाई घाइते बनाएका छन् । केही दिन यताको भाषण तथा युटुब पत्रकार सम्मेलनमा दुर्गा प्रसाईंले बोलेको सुन्दा उनले नामको अगाडि श्री ५ लेख्न मात्र बाँकी छ भन्ने लाग्थ्यो । आज भीडमा मोटर दौडाउँदै लगेर मान्छे मार्ने प्रयास गरेको र एकजनालाई ज्यूँदै जलाएर मारेको देख्दा उनले आफूलाई नयाँ युवराज नै घोषणा गरेको भान भयो ।

दुर्गा प्रसाईंको थुतुनो जति डेन्जर छ, हात पनि त्यति नै डेन्जर रैछ । दुर्गाको थुतुनाले राइफलबाट गोली वर्षिए जसरी अन्टसन्ट गाली बकेको तपाईंहरुले सुन्नुभएकै छ । यी नयाँ युवराज हत्यारा दुर्गा प्रसाईंलाई तत्काल कानुन अनुसार खातिरदारी गर्न म सरकारसँग माग गर्दछु । विगतमा नेपालमा ज्ञानेन्द्र शाह र पारस शाहहरुको पारिवारिक शासन थियो, उनीहरु कानुनभन्दा माथि थिए, उनीहरुले कर तिर्न पनि पर्दैनथ्यो, कानुन पनि लाग्दैनथ्यो । त्यस्तो बेला प्रवीण गुरुङलाई मारेकोमा पारसलाई कानुनी रुपमा खातिरदारी गर्न पाइएन । अहिले नेपालमा लोकतान्त्रिक शासन छ, पारिवारिक शासन छैन । यस्तो बेला नवयुवराज बन्दै, श्री ५ बनेर ज्यूँदै मान्छे मार्ने तथा भीडमा मोटर लगेर प्रहरी मार्न खोज्नेलाई उचित खातिरदारी गर्नैपर्छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल नवयुवराज दुर्गा प्रसाईंलाई आवश्यक खातिरदारी गर्न माग गर्दछु ।

आज राजावादीहरुले काठमाडौंमा गरेको हर्कत सम्बन्धमा म अब केही चर्चा गर्दछु । यस्तो चर्चा गर्दा म दुईटा देशको नाम लिन्छु, युक्रेन र श्रीलंका । मैले पहिलेदेखि नै भन्दै आएको छु, नेपाललाई सामरिक रुपमा युक्रेनजस्तो र आर्थिक रुपमा श्रीलंका जस्तो बनाउने ग्राण्ड डिजाइन छ । श्रीलंकाको अर्थतन्त्र केही समालिएको छ, अहिले उदाहरण पाकिस्तानको मिल्छ । नेपाललाई अहिले आर्थिक रुपमा पाकिस्तान जस्तो बनाउन खोजिएको छ । नेपाललाई युक्रेन र पाकिस्तानजस्तो बनाउने देशीविदेशी चलखेलको एउटा गोटी हुन् दुर्गा प्रसाईंहरु । कसैले बोकेको कुकुर हो दुर्गा प्रसाईंहरु । मैले हिजोको भिडियोमा पनि भनेको थिएँ, दुर्गा प्रसाईं व्यक्ति होइन, प्रवृत्ति हो । त्यो कुरामा म आज थप्छु, दुर्गा प्रसाईंहरु नेपाल ध्वस्त पार्न खटिएका खेताला हुन् । केही समय पहिले दुर्गाले नेपाललाई भारतमा मिसाउनुपर्छ भनेका थिए । यिनको नियत बहुत खराब छ भन्ने प्रष्ट भइसकेको छ ।

आज राजावादीहरुले तीनकुनेमा सभा गर्ने भनेका थिए, सभा गर्ने उद्देश्य नै रैनछ । उद्देश्य रैछ भीडन्त गर्ने, मान्छे मार्ने मराउने र लुटपाट गर्ने । सुनियोजित रुपमा दुर्गाको समूहले उत्पात मच्चाएको छ । नेपाली जनताले अब यस्तो अत्याचार सहन हुँदैन ।

दुर्गा प्रसाईंले राप्रपा, राप्रपा नेपाल जस्ता राजावादी पार्टीका नेताहरुको पनि चरित्रहत्या गरिरहेको हामीले देखिरहेका छौं । दुर्गा प्रसाईंले राजतन्त्र ल्याउने होइन, भूपू राजाको चिहान खन्ने काम गरिरहेका छन् । किनभने पारिवारिक शासन चलाउने राजा हट्दा कि विदेश भागेका छन्, कि मारिएका छन् । ज्ञानेन्द्र शाहलाई दुर्गा प्रसाईंहरुले त्यस्तै नियति भोग्न वाध्य पार्ने देखियो । ज्ञानेन्द्र शाहजी, तपाईंले निहुँ खोजेकै हो ? म फेरि सोध्छु, ज्ञानेन्द्र शाहजी, तपाईंले निहुँ खोजेकै हो ?

लोकतन्त्र आएपछि नेपालले ठूलो उपलब्धी हासिल गरेको छ तर सबै जनता सन्तुष्ट छैनन् । लोकतन्त्र भन्ने व्यवस्था नै यस्तो हो कि यसमा असन्तुष्ट हुन पाइन्छ । असन्तुष्टि व्यक्त गर्न पनि पाइन्छ । जनताको एउटा तह तप्कामा भएको असन्तुष्टि भजाएर पारिवारिक राजतन्त्र फर्काउने अपराध गर्न भने पाइँदैन । हामीलाई प्रधानमन्त्री मन पर्दैन भने फेर्न सक्छौं तर राजा फेर्न सक्छौं ?

आज दुर्गा प्रसाईंको जत्थाले सुनियोजित रुपमा हत्या गरेको छ, लुटपाट मच्चाएको छ । स्वदेशी आँटले मात्र दुर्गाको जत्थाले यो हिम्मत गरेको जस्तो मलाई लाग्दैन । दुर्गा प्रसाईंले जनतालाई उत्तेजित पार्न अनेक उट्पटाङ बोल्दै आएका थिए । हत्याको अभियोगमा त दुर्गालाई हाल्नैपर्छ, जनतालाई उत्तेजित पारेर अपराध गर्ने भीड तयार गरेको अभियोगमा पनि कारवाही गर्नुपर्छ ।

लोकतन्त्र भनेको जनताको व्यवस्था हो, राजतन्त्र भनेको एउटा परिवारको शासन हो । न लोकतन्त्रसँग जादूको छडी हुन्छ न राजतन्त्रसँग जादूको छडी हुन्छ । देश यही हो, जनता यिनै हुन् । यति सुन्दर देशको अर्थतन्त्र ध्वस्त पार्ने सुनियोजित अभियानमा दुर्गा प्रसाईं पहिलेदेखि नै लागेका थिए । नेपाललाई सामरिक रुपमा युक्रेन जस्तो बनाउने उद्देश्य पनि दुर्गाको जत्थाले बोकेको प्रष्ट भएको छ ।

अब नेपाली जनताले सहन हुन्न । सम्पूर्ण नेपाली जनताले देशको अर्थतन्त्र भत्काउने, नेपाललाई सामरिक रुपमा युक्रेन जस्तो बनाउने र एउटा परिवारको शासन लाद्ने प्रयासको कडा प्रतिरोध गर्नुपर्छ ।

जनता राजतन्त्रको दास बन्न तयार छैनन् । नवयुवराज बनेर ज्यूँदै जलाएर मान्छे मार्ने र मोटरले किचेर जनतालाई मार्ने प्रयास जनताले सहनु हुँदैन । जनताले लुटपाट सहन हुँदैन । जनताले देशलाई अराजकतामा लैजान दिन हुँदैन ।

सम्पूर्ण नेपाली जनतालाई म ठन्डा दिमागले सोचेर अगाडि बढ्न हार्दिक अपिल गर्दछु । म फेरि पनि भन्छु, ठन्डा दिमागले सोचौं, आवेग र उत्तेजनामा नआउँ । थुतुनोले धेरै तथ्य बंगाएको छ, धेरै सत्य ढाकछोप गरेको छ । थुतुनो युगमा थुतुनोले फैलाउने भ्रम र अफवाहका पछाडि नलागेर विवेकशील मानवका रुपमा आफूलाई चिनाउने बेला यही हो । खासगरी काठमाडौंका जनताले यस्तो अपराधको कडा प्रतिकार गर्नुपर्ने बेला आयो ।

अन्तिममा म ज्ञानेन्द्र शाहलाई भन्छु, अब जीवनको अन्तिम गल्ती नगर्नुहोला, बहुत महंगो पर्नेवाला छ । भनेर बताउनुभएको छ ।


904
Shares

प्रतिक्रिया दिनुहोस !