३१ चैत्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले र ओली विरुद्ध दुष्प्रचार यसकारण गरिँदै छ

प्रकाशित मिति :  २५ चैत्र २०८१, सोमबार १२:५९


-मिना विश्वकर्मा

पानी परेन ? एमालेलाई दोष दिन्छन् । एमालेले गर्दा पानी नपरेको हो भन्छन् । बाँदरले बाली खायो ? एमालेलाई नै गाली गर्छन् । भैंसी ब्याएन ? एमालेको दोष । गाई ब्याउन त ब्यायो तर बाछी नपाएर बाछो पायो ? एमालेलाई नै दोष । लोग्नेस्वास्निको झगडा भयो ? यसमा पनि एमालेकै दोष । डिभोर्स नै भयो ? यसमा पनि एमाले शतप्रतिशत जिम्मेवार छ । छोरा बिग्रियो भने एमालेको दोष । छोरी बिग्रियो भने पनि एमालेको दोष । यो देशमा जेजति नराम्रो हुन्छ सबै दोष एमालेलाई दिन्छन् । सेतोलाई कालो भन्छन् अनि त्यो कालो एमालेले गर्दा हो भन्छन् । शेयर बजार घट्यो भने पनि एमालेलाई दोष दिन्छन् । सुनको भाउ आकाशिएको कसले गर्दा ? एमालेले गर्दा ! यस्तो पनि भन्छन् ।

जसो गरे पनि एमालेलाई मात्र दोष दिने एउटा गिरोह तयार पारिएको छ । एमाले तथा खास गरी यसका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दुष्प्रचार गर्ने ठूलो अभियान केही समयदेखि चलाइँदै आएको छ । ओली विरुद्ध यति धेरै दुष्प्रचार गरिएको छ कि अब यिनीहरुले अहिलेको वायु प्रदूषण केपी ओलीले शास फेर्नाले भएको हो भन्न मात्र बाँकी छ । केपी ओलीले शास फेरेको कारण देशमा वायु प्रदूषण बढेको खालको सामग्री इन्टरनेटमा आइसकेको पनि होला, मैले नदेखेको हुनसक्छु ।

नेकपा एमाले र यसका अध्यक्ष केपी शर्मा ओली विरुद्ध सुनियोजित रुपमा दुष्प्रचार गरिएको तथ्य स्पष्ट छ । इन्टरनेटको सामाजिक सञ्जाल प्रयोग गरेर राजावादी, अराजकतावादी, अस्थिरतावादी, विदेशी दलालहरुले अभियान चलाइरहेका छन् । केपी ओलीको चरित्रहत्या गर्ने, सम्पूर्ण एमाले कार्यकर्ताको चरित्र हत्या गर्ने अभियान चलाइरहेका छन् । जसरी पनि केपी ओली र एमालेका नेता कार्यकर्ताहरुको चरित्र हत्या गर्ने, उनीहरुलाई बदनाम गर्ने कार्य अति सुनियोजित र संगठित रुपमा गरिँदै आएको छ ।

हाम्रो समाज कस्तो रहेको छ भने हल्ला पत्याउने एउटा ठूलो हिस्सा छ । कुनै झुठो कुरा या घटनाको बारेमा हल्ला फैलाइदिनुपर्छ, पत्याउने ठूलो जमात निस्किहाल्छ । झन् अहिले त नक्कली भिडियो र फोटो तयार पार्न सकिन्छ । इन्टरनेटको माध्यमबाट कुनै पनि झुठो कुरा समाजमा फैलाउन सकिन्छ । यस्तो भएपछि पत्याउने मानिसहरुको जमात झन् ठूलो हुँदै जान्छ । हाम्रो समाज उत्तेजनामा रमाउँछ, उत्तेजक, अतिरन्जित कुराहरु सुन्न देख्न मन पराउँछ । त्यसैले अन्टसन्ट बोल्ने व्यक्तिहरुको भिडियो धेरै चल्छ, त्यस्ता मान्छेको कुरा धेरैले पत्याउँछन् । अनौठो खालको व्यक्ति या बोली तत्कालै भाइरल भइहाल्छ । अनि त्यसरी भाइरल भएको व्यक्तिलाई मन्त्री प्रधानमन्त्री बनाउनुपर्छ भन्ने जमात पनि खडा भइहाल्छ । केही दिन अघि राजावादीहरुलेकाठमाडौंको तीनकुनेमा उत्पात मच्चाउँदा राजकुमार ठकुरी भन्ने मान्छेको सुनको सिक्री हराएछ । उनी रुँदै युटुबे मिडियामा देखा परे । उनी भाइरल भए । अब राजावादी गिरोहको मुख्य व्यक्ति बनेका छन् । हेर्दै जानुहोला, उनलाई मन्त्री बनाउने माग उठ्न सक्छ । आउँदो चुनावमा उनलाई कुनै नयाँ पार्टीले उम्मेदवार बनाउन बेर छैन, उम्मेदवार बने भने उनले राम्रै भोट ल्याउन सक्छन् ।

लोकतान्त्रिक राजनीतिक व्यवस्थामा ठूला पार्टीको विरोधमा विभिन्न अभियान चलाइन्छ, यो नयाँ कुरा होइन । नेपालमा एमाले र केपी ओली विरुद्ध चलाइँदै गरेको अभियान भने सामान्य लोकतान्त्रिक अभ्याश होइन । सामान्य विरोध र चरित्रहत्या होइन । एमालेलाई सिध्याउने तथा केपी ओलीलाई सिध्याउने नियतले मात्र यो अभियान चलाईएको होइन । नेपालको लोकतान्त्रिक राजनीतिक व्यवस्था र नेपाल देशलाई नै सिध्याउने उद्देश्यले एमाले र ओली विरुद्ध अभियान चलाइएको हो । अहिले चलाइएको अभियान केपी ओली र लोकतन्त्रवादी विरुद्ध त हो नि भनेर कोही पनि बस्नु हँुदैन । एमाले र ओलीलाई प्रहार बहाना मात्र हो, प्रहारको वास्तविक केन्द्र लोकतन्त्र र नेपालको राष्ट्रियता हो ।

देशको सबैभन्दा सगठित, अनुशासित र समाजमा पकड भएको पार्टी नेकपा एमाले हो । नेपालमा सबैभन्दा अग्लो उचाई भएका, सबैले विश्वास गरेका नेता केपी ओली हो । यो कारण एमाले र ओलीको बदनाम गर्न अभियान चलाइएको हो । एमालेलाई सिध्याइयो भने कांग्रेस र अरु लोकतान्त्रिक पार्टीहरुलाई सजिलै सिध्याउन सकिन्छ भन्ने उनीहरुले बुझेका छन् । कांग्रेसले एमाले र माओवादीको विरोध गर्छ । एमालेले पनि कांग्रेस र माओवादीको विरोध गर्छ । फरक पार्टी र विचार भएकोले उनीहरुले एकअर्कालाई विरोध गरेका हुन् । तर अहिले एमाले र ओलीको विरोधमा चलाइँदै आएको अभियान कांग्रेस र माओवादीले एमालेले गरेको जस्तो विरोध होइन । राजनीतिक प्रणाली, नेपालको शान्ति, स्थिरता, धर्म निरपेक्षता, समावेसीकरण, संविधान र राष्ट्रियता सबैलाई सिध्याउने उद्देश्यले गरिएको विरोध हो । त्यसैले एमाले विरुद्ध भइरहेको प्रहारको प्रतिकार एमालेले मात्र नभएर नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि गर्नुपर्छ ।

एमाले र ओली विरुद्ध भइरहेको दुष्प्रचारलाई ध्यानमा राख्ने हो भने विभिन्न तत्व देख्न सकिन्छ । उनीहरु राजतन्त्रको गुणगान गर्दै एमालेलाई प्रहार गरिरहेका छन् । लोकतन्त्रभन्दा पारिवारिक राजतन्त्र राम्रो हो भनेर प्रचार गरिरहेका छन् ।
राजपरिवारलाई वर्षको करोडौं रुपैयाँ तलबभत्ता दिनुपथर््यो । राजपरिवारलाई कुनै कर लाग्दैनथ्यो । राजपरिवार संविधान भन्दा माथि थिए । राजपरिवारलाई कुनै पनि कानुन नलाग्ने व्यवस्था संविधानमै गरिएको थियो । राजपरिवार विदेश जाँदा या आउँदा जे सामान पनि ल्याउन लैजान सक्थे । उनीहरुले ल्याएको र लगेको सामानको कुनै चेकजाँच हुँदैनथ्यो । उनीहरुलाई भन्सार पनि लाग्दैनथ्यो । यही सुविधाको उपयोग गरेर लागू औषध र मूर्ति तस्करी गरिन्थ्यो । त्यसबेला नेपालबाट तस्करी गरेर लगिएका हजारौं मूर्तिहरु अहिले युरोप अमेरिकामा छ । केहीकेही मूर्ति नेपालमा फिर्ता पनि ल्याइँदैछ । नेपालमा मूर्ति फिर्ता ल्याइएको समाचारहरु आउँदा म राजपरिवारको कर्तूत सम्झन्छु । यस्तो राजतन्त्र र लोकतन्त्रको तुलना हुन सक्दैन ।

राजाहरु व्यक्तिगत रुपमा असल खराब के थिए भन्ने मुख्य कुरा होइन । राजा र राजपरिवार पनि मानिस नै हुन् । उनीहरुमा सबै किसिमको मानवीय गुण हुनसक्छ । उनीहरु कुनै देवताका अवतार होइनन् । राजालाई विष्णुको अवतार भन्ने प्रचार गराएर धर्मभीरु नेपाली समाजलाई धेरै समय तर्साएर राखिएको थियो । अहिले पनि राजामा दैवी शक्ति हुन्छ भन्ने प्रचार गरिँदैछ । राजाले आफ्नो पारिवारिक शासन ल्याउने कमाण्डरका रुपमा पहिले दुर्गा प्रसाईंलाई खटाएका थिए, अहिले जगमान गुरुङलाई खटाएका छन् । जगमान गुरुङले ज्ञानेन्द्र शाहमा दैवी शक्ति छ भनेर दुष्प्रचार गरिरहेका छन् । ज्ञानेन्द्रका ट्यापे छोरा पारस लागू औषध धेरै खाएर थाइल्याण्डको अस्पतालमा मर्नु न बाँच्नु अवस्थामा थिए । छोरालाई हेर्न ज्ञानेन्द्र गएका थिए । ज्ञानेन्द्र अगाडि पर्नासाथ पारस निको भए भनेर जगमानले भनेका छन् । यस्ता अन्धविश्वासी, झुठ, ठग कुरा प्रचार गरेर पनि राजतन्त्र फिर्ता ल्याउन खोजिँदै छ । यही कामका लागि एमाले र केपी ओली विरुद्ध प्रहार गरिँदै छ ।

चुनाव लडेर कहिल्यै जित्न नसक्नेहरु, चुनावमा बहुमत ल्याउन नसक्नेहरुले यो राजनीतिक व्यवस्था भत्काएर आफ्नो निजी शासन ल्याउन चाहेका छन् । यस्ता तत्वहरुको साथमा इन्टरनेटमा हुने लाइक कमेन्ट र शेयर मात्र छ, भोट छैन । लाइक कमेन्ट र शेयरलाई भोटका रुपमा गन्न मिल्ने हो भने रविन्द्र मिश्रले धेरै वर्ष पहिले खोलेको साझा पार्टीले दुई तिहाई बहुमत ल्याउँथ्यो होला । रवि लामिछानेको पार्टीले पनि बहुमत ल्याउँथ्यो होला । प्रतिगामी शक्तिहरुसँग चुनाव जितेर सरकार बनाउने जनमत छैन, जनसमर्थन छैन । त्यसैले षडयन्त्र गरिरहेका छन् । यस्ता षडयन्त्रलाई परास्त गर्ने काममा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र तथा सबै लोकतान्त्रिक पार्टीहरु एकढिक्का हुन जरुरी देखिन्छ ।


13.4k
Shares

प्रतिक्रिया दिनुहोस !