७ असार २०८२, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी ओली, राधिका शाक्य र भारतका गोदी मिडिया

प्रकाशित मिति :  ४ जेष्ठ २०८२, शनिबार ०९:५७


काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य एवं राजनीतिक विश्लेषक गोविन्द थापाले भारतीय मिडिया र झुठो समाचारको व्यंग्यात्मक चित्रण गर्दै भारतीय मिडियाहरुले नेपालका बारेमा दिने समाचार कति अतिरञ्जित हुन्छ, कति झुठो हुन्छ भन्ने कुरा उदाहरण सहित प्रश्ट्यानउनु भएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो हालेर ‘गोदी मिडिया’ को जोक्स मार्फत भारतीय मिडियाको बारेमा बताउनुभएको छ ।

एमाले केन्द्रीय सदस्य एवं राजनीतिक विश्लेषक गोविन्द थापाले भिडियो मार्फत बताउनुभएकाे कुरा यस्ताे छ ।

केही दिन अघिको कुरा हो, राति भारतीय टिभी च्यानल हेर्दै थिएँ, आधा पाकिस्तान खत्तम भएको समाचार आयो । भारत र पाकिस्तान बीच ठूलो टक्कर भइरहेको थियो । केके घटना भएछ भनेर भारतीय च्यानल हेरेको थिएँ, हेर्दाहेर्दै समाचारले आधा पाकिस्तान स्वाहा बनायो । त्यसपछि म सुते । बिहान उठ्दासम्म पूरै पाकिस्तान स्वाहा भएको समाचार आउँछ भन्ने लागेको थियो ।

भोलिपल्ट बिहान पनि समाचार हेरें । हेरिनसक्नु थियो, झुठै झुठ, अतिरञ्जित र उत्तेजनापूर्ण समाचार मात्र थियो । त्यसपछि म निकै बेर हासे अनि मलाई केपी शर्मा ओली र राधिका शाक्यको सम्झना आयो ।

यो बारेमा म पछि भन्नेछु, पहिले भारत पाकिस्तान टक्कर र झुठो समाचार बारेमा केही कुरा राख्छु ।

भारतीय संचार माध्यमका बारेमा के भनौं ? तपाईंहरुलाई थाहै छ, भोगिसक्नुभएको छ । भारतीय मिडियाहरुले नेपालका बारेमा दिने समाचार कति अतिरञ्जित हुन्छ, कति झुठो हुन्छ भन्ने हामीलाई थाहा छ । झन् पाकिस्तानको बारेमा दिएको समाचार कस्तो होला ?

भारत र पाकिस्तान बीचको तनाव र नेपालमा केपी शर्मा ओलीको अवस्थाबारे मलाई आज केही बोल्न मन लाग्यो ।

भारत र पाकिस्तान बीच युद्ध सरहको भीडन्त तपाईंहरुले देखिसक्नुभएको छ । केही दिन भारत र पाकिस्तानले ठूलो आतंक फैलाए । कि भारत छैन, कि पाकिस्तान छैन भनेजस्तो बनाए । अहिले युद्धविराम भइसकेको छ । युद्धविरामपछि अब समीक्षा सुरु भएको छ ।

भारत र पाकिस्तान बीच भीडन्तको बेलामा मात्र होइन, अरु बेला पनि भ्रामक समाचारको ठूलो खेती चलिरहन्छ । एउटा भनाई छ, विरामीलाई नक्कली औषधी खुवाउनु र समाजमा नक्कली समाचार फैलाउनु उस्तै हो । दुवैले ज्यान लिन्छ । नक्कली औषधी खानेको मात्र ज्यान जान्छ तर नक्कली समाचारले फैलाएको भ्रम, उत्तेजना र आतंकले धेरैको ज्यान जान्छ ।

अहिले विश्वव्यापी रुपमा नक्कली या झुठो समाचारको आतंक छ । नक्कली समाचार फैलाउने, त्यो समाचारको आडमा कुनै खास धारणा समाजमा फैलाउने, अथवा कसैलाई देउता या राक्षस बनाउने काम गरिन्छ । भारतमा हेर्नुस् न, पहिले मिडियाले नरेन्द्र मोदीलाई महामानव बनाएका थिए, आजकाल दानव बनाएर प्रचार गरिरहेको देख्छु ।

भारतमा झुठको खेती गर्ने मिडियालाई गोदी मिडिया भन्छन् । गोदी मिडिया बारेमा एउटा जोक्स सुनेको थिएँ । कुनै देशमा झुठ प्रतियोगिता भएछ । सबैभन्दा थोरै शब्दमा जसले गतिलो झुठ बोल्छ उसैले जित्ने प्रतियोगिता रहेछ ।

प्रतियोगितामा भाग लिनेहरुले पालैपिलो झुठ बोले । विभिन्न झुठ कथा र घटना सुनाए । सुनाउने क्रममा एकजनाले सिर्फ दुई शब्द बोलेछन् । उनले भनेछन्, गोदी मिडिया । यो बाहेक केही बोलेनछन् । गोदी मिडिया भनेको सुन्नसाथ दर्शकहरुले जोडसँग ताली पिटेछन् । प्रतियोगितामा यही झुठलाई सर्वाेत्कृष्ट झुठ ठहर गरिएछ ।

यस्तो छ भारतको गोदी मिडियाको छवी ।

नेपाल र भारतको समाजमा धेरै फरक छैन । दुवै देशको सबैभन्दा प्रभावकारी सञ्चार माध्यम हल्ला हो । हल्ला चलाउनुपर्छ, सत्य र तथ्य के हो भन्ने नबुझी धेरै मानिसहरु त्यसको पछि लाग्छन् । मैले नरेन्द्र मोदी ठिक या वेठिक भन्ने चर्चा गर्न खोजेको होइन भारतमा चल्ने हल्लालाई म मनोरञ्जनका रुपमा मात्र लिन्छु ।

किनभने त्यस्तो हल्ला या कुतथ्यले हामी होइन उनीहरु नै पीडित बन्छन् । नेपालमा सत्य र तथ्यसँग कुनै साइनो बिना चल्ने हल्लाले चाहिँ हामी स्वयं पीडित बन्छौं ।

यस प्रसंगमा मलाई राधिका शाक्यले भन्नुभएको केही कुरा सम्झना आयो । केही दिन अघि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले एउटा मार्मिक विचार राख्नुभएको थियो । उहाँको भनाई थियो, केपी ओली अहोरात्र देश र जनताको हितका लागि काम गरिरहनुभएको छ, उहाँलाई गाली गर्नु भनेको जनता आफैंले दुःख पाउनु हो ।

आजकाल नेपालमा चलेको चलन अनुसार यो भनाई पछि राधिका शाक्यलाई पनि गाली गर्ने, चरित्र हत्या गर्न खोज्नेहरुको ठूलो जमात मैदानमा आयो । वास्तवमा राधिका शाक्यले भन्नुभएको कुरालाई केपी ओलीको व्यक्तिगत सन्दर्भमा मात्र नहेरेर वृहत् रुपमा हेरियो भने धेरै कुरा बुझिन्छ । केपी ओलीको चरित्र हत्या गर्ने, उहाँलाई ताछ्ने, सिध्याउने, बदनाम बनाउने ग्राण्ड डिजाइन अनुसार अहिले नेपालमा अभियान चलिरहेको छ ।

यो अभियानलाई नियालेर हेर्यौं भने भारतीय गोदी मिडियालाई पनि माथ गर्छ । भारतीय मिडिया भनेर मैले सम्पूर्ण मिडिया भनेको होइन है, भारतमा पनि राम्रो मिडिया छन्, मैले सनसनीखेज झुठो समाचार बनाउने गोदी मिडिया भन्न खोजेको हो ।

गलत तथ्य र सूचना प्रचार गरेर समाजलाई मानसिक रुपमा अपांग बनाउने काम गरिन्छ । त्यसपछि मानिसले असललाई खराब र खराबलाई असल भन्न थाल्छन् । सत्य र तथ्य नहेरेर झुठलाई नै परम् सत्य मान्ने जमात समाजमा बढ्यो भने देशले दुःख पाउँछ । यही अर्थमा राधिका शाक्यले केपी ओली विरुद्ध दुष्प्रचार गर्दा जनताले दुःख पाउँछन् भन्नुभएको हो । राधिका शाक्य जस्तो शिक्षित, विदुषी तथा निष्कलंक महिलाले गर्नुभएको निष्पक्ष मूल्यांकनलाई हामीले गम्भीरतासाथ लिनुपर्छ ।

भारत पाकिस्तान बीचको तनावका बेला प्रचारित झुठका बीचमा राधिका शाक्यको भनाईको गम्भीरता अझ बढेको मैले ठानेको छु ।

अब भारतकै कुरा गरौं, गोदी मिडियाले यति दुष्प्रचार गरे कि भारतले केही घन्टामै युद्ध जितिसक्यो भनेजस्तो बनाए । पूरै पाकिस्तान ध्वस्त भएको प्रचार गरे । जनताले यो कुरा पत्याए । त्यहाँका एकखाले जनता पाकिस्तान ध्वस्त भएको खबरमा रमाए । तर, झुठको आयु लामो हुँदैन, सत्य सामुन्ने आइहाल्छ । सत्य के थियो भने भारत लडाई गर्ने पक्षमै थिएन, धम्काएरै ठेगान लगाउने पक्षमा थियो । धम्काउनकै लागि भारतले पाकिस्तानमा ठूलाठूला पटाका पड्कायो, त्यसपछि युद्धविराम गर्यो । झुठ प्रचार र सत्य बीच सन्तुलन नमिल्नुको परिणाम के भयो भने अहिले भारतमा मोदीको कडा विरोध भइरहेको छ ।

नेपालमा पनि राजतन्त्रवादीहरुले केही समय अगाडि केपी ओली र लोकतन्त्र विरुद्ध दुष्प्रचार गर्दै आन्दोलन थालेका थिए । उनीहरुले के बुझेका थिए भने केपी ओलीलाई बदनाम बनाउनु भनेको लोकतन्त्रलाई बदनाम गर्नु हो र लोकतन्त्रको बदनाम गर्नु भनको केपी ओलीलाई सिध्याउनु हो ।

राजतन्त्रवादीहरुको दुष्प्रचारले ठूलो आकार लियो, राजतन्त्र आज फर्कन्छ कि भरे फर्कन्छ भनेजस्तो हल्ला चलाइयो । उनीहरुले आन्दोलन थाले, लाखौं मानिस सडकमा ओर्लन्छन् भन्ने हल्ला फैलाइयो । तर, जनता राजतन्त्रको पक्ष र केपी ओलीको विपक्षमा भएको भाष्य गलत थियो, प्रचार गलत थियो । गलत प्रचार गरेर हल्लाका भरमा आन्दोलन गर्न खोजिएको थियो, केही लुटपाट र केही आगजनीपछि आन्दोलन सिनिक्क भयो ।

यो देशमा शासन चलाउने सीमित व्यक्तिहरु मात्र आज जनताको स्मरणमा छन् । सीमित शासकलाई मात्र इतिहासले महान मानेको छ ।

केपी ओली नेपालको इतिहासको सर्वाधिक सफल प्रधानमन्त्री हो । यो देशमा सर्वाधिक योगदान गर्ने नेता कोही छ भने केपी ओली नै हो । यो तथ्य हो, सत्य पनि यही हो, जनताले बुझेको कुरा पनि यही हो । भारतको गोदी मिडिया शैलीमा नेपालका केही गोदीहरुले केपी ओली विरुद्ध दुष्प्रचार गरिरहेका छन् । उनीहरुको दुष्प्रचारको म्याद सकिएको छ, आयु सकिएको छ, उनीहरुको दुष्प्रचार टिक्न सकेन । जनताले फेरि केपी ओलीका महान योगदानहरुको चर्चा गर्न थालेका छन् ।

भारत पाकिस्तान भीडन्तपछि मेरा मनमा आएका कुरा यिनै हुन् । म सत्यको जगमा उभिएर चिन्तन गर्छु, म तथ्यका आधारमा बोल्छु । मेरा यस्ता कुराहरु नेपालका गोदीहरुलाई मन पर्दैन भन्ने थाहा छ तर के गरुँ ? इमान र नैतिकताले बाँधिएको छु ।

सत्य र तथ्य बोल्ने मेरो अभियान अब झन् तिब्र बन्ने जानकारी गराउँदै एउटा वाक्य बोलेर विदा माग्छु, सत्यलाई झुठले केही समय जितेजस्तो देखिएला तर स्थायी जित सत्यकै हुन्छ, यो कुरा प्रमाणित भइरहेको छ ।

हस् त, धन्यवाद ।


8.4k
Shares

प्रतिक्रिया दिनुहोस !