७ असार २०८२, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारत–पाकिस्तान भिडन्त र चीनको उदय: नेपालमाथि कस्तो असर?

प्रकाशित मिति :  ९ जेष्ठ २०८२, बिहीबार १५:५२


काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक गोविन्द थापाले भारत–पाक द्वन्द्व पछि १ नम्बर शक्ति चीन, नेपाललाई असर के? भनेर एक भिडियो समाजिक सञ्जाल फेसबुकमा राख्नुभएको छ ।

उहाँले ‘मनले त भारतले नै जित्नुपर्छ भन्छ तर बुद्धिले मान्दैन । भारतले नेपाललाई गर्दै आएको व्यवहार बुद्धिले सम्झन्छ अनि भारतले हारोस् भनेर कामना गर्छ ।’ भन्दै समाजिकक सञ्जाल फेसवुकमा एउटा भिडियो राख्नुभएको हो ।

उहाँले भिडियोमा वोलेको यस्तो छ ।

भारतले जितोस् कि पाकिस्तानले ? भारतले हारोस् कि पाकिस्तानले ? भारत र पाकिस्तान बीचको हालैको भीडन्तमा धेरैले यस्तो प्रश्न गरेको सुनियो । मलाई पनि कैयन साथीहरुले सोधे ।

मेरो एउटा मनले भन्छ, भारतले जित्नुपर्छ । अर्काे मनले भन्छ, भारतले हार्नुपर्छ । बुद्धिको एउटा कुनाले भन्छ, पाकिस्तानले जित्नुपर्छ, अर्काे कुनाले भन्छ, पाकिस्तानले हार्नुपर्छ ।

मनले त भारतले नै जित्नुपर्छ भन्छ तर बुद्धिले मान्दैन । भारतले नेपाललाई गर्दै आएको व्यवहार बुद्धिले सम्झन्छ अनि भारतले हारोस् भनेर कामना गर्छ । मनले एउटा कुरा भन्ने, बुद्धिले अर्काे कुरा भन्ने । मन र बुद्धिको द्धन्दको समाधान खोज्नै गाह्रो । जब मन र बुद्धिले एक ठाउँ आएर सहमति गर्छ, तब जवाफ पाइन्छ । मैले पाएको जवाफ तपाईंहरुलाई सुनाउँछु ।

भारत र पाकिस्तानको भीडन्तमा एउटाले जितोस् भनेर चाहनु र कामना गर्नु नै गलत हो । अर्थात्, यो प्रश्न नै गलत छ । युद्धमा कुनै पक्षले केही समय जित्न सक्छ तर सधैंका लागि सक्दैन । युद्धमा कसैले जित्दैन । केही समयका लागि कुनै शासकले युद्ध जित्न सक्छ तर जनताले चाहिँ हार्छ । किनभने युद्धमा मानवताले हार्छ, विकासले हार्छ, समृद्धिले हार्छ, अर्थतन्त्रले हार्छ ।

भारत र पाकिस्तान बीच युद्ध नै त भएन तर युद्ध जस्तै खालको सानो भीडन्त भयो, यसलाई लिमिटेड वार भन्न सकिएला । वास्तवमा भारत र पाकिस्तानले ३ दिन ३ रात भिडियो गेम खेले भन्दा पनि हुन्छ । उनीहरुको भीडन्त मलाई त भिडियो गेम जस्तै लाग्यो । धन्न भिडियो गेमवाला युद्ध पूर्ण युद्धमा परिणत भएन ।

भारत र पाकिस्तान बीच हालैको द्धन्द र त्यसले नेपाल सहित दक्षिण एसियामा पर्ने प्रभाव बारेमा केही बोल्न मन लाग्यो ।

धेरै भूमिका नबाँधी म ठाडो ठाडो शब्दमा आफ्ना कुरा राख्छु ।

युद्ध या युद्ध सरहको अवस्थामा जेजति घटना हुन्छन्, ती सबैको दीर्घकालीन प्रभाव हुन्छ । दुई देशको द्धन्द तीन दिन जति चल्यो तर प्रभाव वर्षाैसम्म हुने देखिन्छ । किनभने दुवै देश फेरि अर्काे द्धन्दको तयारीमा लागेका छन् । म चाहिँ सबैभन्दा धेरै प्रभाव पर्ने देश नेपाल पनि हुने देख्छु । नेपाललाई पर्ने प्रभाव बारेमा पनि एकछिनपछि चर्चा गर्छु, पहिले यो भीडन्तको केही निर्णायक पक्षमा केही कुरा राख्छु ।

भारतलाई के लागेको थियो भने पाकिस्तानलाई सजिलै पराजित गर्न सकिन्छ । भारतमा यस्तै आत्मविश्वास देखिन्थ्यो । इज्रायलले हमास र हिजबुल्लाहलाई पेले जसरी पाकिस्तानलाई पेल्ने भारतको आकांक्षा देखिन्थ्यो । यो आकांक्षा वस्तुगत थिएन । यथार्थको धरातलमा टेकिएर गरिएको आशा थिएन ।

आक्रमण पहिले भारतले गरेको हो, पाकिस्तानले जवाफ दियो । आक्रमण र प्रत्याक्रमणमा भारतको घटीमा पनि दुईटा लडाकू विमान सिकार भएको बताइएको छ । लडाईंमा क्षति सामान्य हो तर भारतको राफेल गिर्नु चाहिँ सामान्य थिएन । किनभने राफेल फ्रान्सको विमान हो र भारतले यसलाई आफ्नो सबैभन्दा ठूलो हतियार मान्दै आएको थियो । उता पाकिस्तान चाहिँ चिनियाँ लडाकू विमान जे टेनमा निर्भर थियो । जे १० ले राफेललाई गिराइदियो । त्यसबाहेक आकाशे द्धन्दमा पाकिस्तानले उन्नत चिनियाँ प्रविधि प्रयोग गर्यो । समाचारहरुमा आए अनुसार आकाशमा भारत टिक्नै सकेन ।

द्धन्द भारत र पाकिस्तानको भए पनि यसले युरोप र अमेरिकाको प्रविधि उन्नत कि चिनियाँ प्रविधि उन्नत भन्ने देखाइदियो । अर्काे शब्दमा भन्ने हो भने बाहिरबाट हेर्दा भारत र पाकिस्तानको द्धन्द थियो, भित्र चाहिँ पश्चिमा प्रविधि र चिनियाँ प्रविधिको द्धन्द थियो । अहिलेका लागि चिनियाँ प्रविधि श्रेष्ठ देखियो । मैले तीन दिने द्धन्द विश्व इतिहासमा ठूलो पानीढलो या टर्निङ पोइन्ट भएको ठहर गरेको छु । यो तीन दिनको घटनामा भारतको हात अलि तल पर्यो होला तर विजयी चाहिँ चीन भयो । भारत पाकिस्तान भीडन्तपछि चीन स्पष्ट रुपमा विश्वको मुख्य सामरिक शक्ति बन्यो भन्ने मलाई लाग्छ । यो कुरा बुझ्न म स्वेज नहरको इतिहासको चर्चा गर्छु ।

दोस्रो विश्वयुद्ध अघि वेलायत विश्व शक्ति थियो । दोस्रो विश्वयुद्धपछि वेलायतको हैसियत अमेरिकाले खोस्यो । विश्व शक्ति अमेरिका भए पनि आम रुपमा वेलायतलाई नै मुख्य शक्ति मानिन्थ्यो । सन् १९५६ मा भएको स्वेज नहर विवाद पछि भने अमेरिका नै विश्वशक्ति हो भन्ने प्रमाणित पनि भयो र सबैले अमेरिकालाई नम्बर वन शक्ति मान्न कर लाग्यो । इजिप्टको स्वेज नहरले मेडिटेरियन सी र रेड सीलाई जोड्छ । यो नहर वेलायतको नियन्त्रणमा थियो । १९५६ मा इजिप्टका राष्ट्रपति अब्देल नासिरले स्वेज नहर वेलायतको नियन्त्रणबाट खोसेर राष्ट्रियकरण गरिदिए । नहर पुन नियन्त्रण गर्न वेलायत र फ्रान्सले इज्रायललाई अगाडि सारेर इजिप्टमाथि आक्रमण गरे । इजिप्टमाथिको आक्रमणको विरोध अमेरिका र सोभियत संघले गरे । वेलायत र फ्रान्सको केही लागेन । उनीहरुले नहरमा इजिप्टको अधिकार स्वीकार गर्नुपर्यो । सो घटनापछि वेलायत औपचारिक रुपमै विश्वको नम्बर एक शक्ति रहेन । नम्बर एक शक्ति अमेरिका र साथमा सोभियत संघ स्थापित भए ।

स्वेज नहरको घटनाजस्तै मानेको छु मैले भारत र पाकिस्तानको तीन दिने द्धन्दलाई । अहिलेसम्म चीनलाई आर्थिक महाशक्ति मात्र मानिन्थ्यो, सामरिक महाशक्तिका रुपमा सबैले स्वीकारेका थिएनन् । तीन दिने द्धन्दपछि चीनको सामरिक श्रेष्ठता स्थापित भएको छ । लडाकू विमानका साथै आकाशे युद्धमा चाहिने मिसाइल सिस्टम, लेजर बम, अरुको विमान तथा उपरकणको सिग्नल जाम गरिदिने प्रविधि आदिमा चिनियाँ प्रविधि आश्यर्चजनक देखियो भनेर अन्तराष्टिय सञ्चार माध्यमहरुले भनिरहेका छन् । युरोप अमेरिकाले पाँचौं पुस्ताको फाइटर प्लेन बनाउँदा चीनले छैठौं सातौं पुस्ताको फाइटर बनाइसकेको पनि समाचार आइरहेको छ ।

मलाई के लाग्छ भने सामरिक प्रविधिमा चिनियाँ श्रेष्ठता स्थापित भएको छ र यसले समग्र विश्वकै राजनीतिमा ठूलो असर पर्नेछ । भारत पाक तीन दिने द्धन्दमा चिनियाँ प्रविधिको श्रेष्ठता स्थापित हुँदाको केही रोचक परिणाम छ । जस्तो कि त्यो द्धन्द लगत्तै चिनियाँ जे टेन फाइटर बनाउने कम्पनीको शेयर मूल्य आकाशियो भने राफेल बनाउने कम्पनीको शेयर मूल्य ठाडो ओरालो लाग्यो । तत्काल देखिएको यो असर मामुली हो, यसको दीर्घकालीन र वृहत् असर देखिने छ ।

चीनले विज्ञान प्रविधिमा गरेको चमत्कारिक विकास हामीले दैनिक जीवनमा प्रयोग गर्ने सामानमा मात्र होइन, अत्याधुनिक हतियारमा पनि देखिन थालेको छ । विगतमा जोसँग धेरै सेना हुन्थ्यो उही शक्तिशाली हुन्थ्यो । युग बदलियो, जसले प्रविधिमा जित्छ, बाँकी सबै क्षेत्रमा जित्छ । विज्ञान प्रविधिमा चीनले हासिल गरेको श्रेष्ठता उसको सामरिक शक्तिमा पनि रुपान्तरण हुन थालेको छ । भारत पाकिस्तान भीडन्तबाट यो कुरा प्रष्ट भयो । जसरी स्वेज नहर प्रकरणपछि अमेरिका नम्बर एक शक्ति बन्यो त्यसैगरी भारत पाकिस्तान भीडन्तपछि चीन नै नम्बर एक शक्ति भन्न सकिने अवस्था आएको छ । विश्व राजनीतिमा यो एक महान र युगान्तकारी परिवर्तन हो ।

सबैभन्दा चिन्तालाग्दो असर चाहिँ के हो भने अब विश्वमा फेरि एकपटक हतियारको होडबाजी डरलाग्दो सँग बढ्ने छ । एकातिर विश्वमा करोडौं मानिसले पेटभरी खान पाइरहेका छैनन् अर्कातिर हतियारमा ठूलो रकम खर्च भइरहेको छ । आगामी दिनमा हतियारमा खर्च झन् बढ्ने देखिन्छ । झन् भारत र पाकिस्तान भनेका विश्वका सबैभन्दा धेरै गरिब भएका देशमध्येका हुन्, जनतालाई भोको पेट राखेर यी दुई देश हतियारको होडमा लागेका छन् ।

अब म नेपाललाई पर्ने असरका बारेमा चर्चा गर्छु भन्दै उहाँले भन्नुभयाे 

भारत पाकिस्तान युद्ध भएमा नेपाली रगत पनि बग्छ, भारतीय सेनामा हजारौं नेपाली छन् । यो पक्षले हरेक नेपालीको मन मुटु पोल्नु स्वाभाविक हो ।

पाकिस्तानलाई आइसोलेटेड बनाउने अर्थात् एक्ल्याउने भारतीय नीतिका कारण सार्क अगाडि बढ्न सकेन । पाकिस्तानालाई आइसोलेटेड बनाउने नीतिले कुनै काम गरेन भन्ने हालैको तनावको अवधीमा पनि देखियो । पाकिस्तानलाई आइसोलेटेड बनाउने नीति त्यागेर सँगै हिँडाएर ठेगान लगाउने नीति अब भारतले लिन्छ त ? यसमा शंकै छ । पाकिस्तानलाई आइसोलेटेड बनाउने नीतिलाई निरन्तरता दिएमा सार्क अझै पनि मृतप्राय भएर रहनेछ । भारत भित्रको केही पक्षले त सार्क विघटनको कुरा समेत उठाएका छन् । ठण्डा दिमागले भारतले नै सोचोस्, सार्क विघटन गर्दा केही दिन भारतलाई मजा आउला तर दीर्घकालीन रुपमा भारतलाई समेत क्षति नै हुनेछ ।

विरोधी या प्रतिस्पर्धीसँग सबै सम्बन्ध विच्छेद गर्ने भारतीय नीति देखिन्छ । पाकिस्तानसँग भारतले सबै प्रकारको सम्बन्ध विच्छेद गरिरहेको छ । उता चीनसँग पनि त्यसरी नै सम्बन्धका प्वालहरु समेत बन्द गरिरहेको छ । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको चीन र भारत बीच सम्बन्ध नहुनु भनेको विश्वलाई नै क्षति हो । आफ्नो प्रतिस्पर्धी तथा सम्बन्ध नराम्रो भएको देशसँग अरुले पनि सम्बन्ध नराखोस् भन्ने भारतीय नीति अपरिपक्व छ । जस्तो कि चीन र पाकिस्तानसँग नेपालले पनि सबै प्रकारको सम्बन्ध विच्छेद गरोस् भन्ने भारतीय नीति देखिन्छ । नेपालमा चिनियाँ लगानी आउन दिन हुन्न भन्ने भारतीय नीतिका कारण नेपाललाई असर परेको छ । चीनबाट भारतले वर्षेनी सय अर्ब डलर भन्दा धेरैको सामान आयात गर्छ तर नेपालमा चिनियाँको लगानी र संलग्नता भएको कुनै पनि उत्पादन नकिन्ने भारतीय नीति छ । कतिसम्म भने चिनियाँले काम गरेको आयोजनाबाट विद्युत समेत नकिन्ने भारतीय नीति हास्यास्पद छ ।

भारतको विरोधीलाई नेपालले पनि विरोधी मानिदिनुपर्ने खालको दवाब स्वीकार्य हुन सक्दैन । भारतको हित र सुरक्षामा आँच आउने कुनै काम नेपालले गर्दैन भन्ने इतिहासले प्रमाणित गरिसकेको छ । भारतको चीन र पाकिस्तानसँग साना ठूला धेरैवटा युद्ध भइसकेको छ । नेपालले कसैको पक्ष लिएन र भारतको अहित हुने काम पनि गरेन ।

भारतले अब आफ्नो विदेश नीतिमा पुर्नविचार गर्नुपर्ने भएको छ । भारतीय विदेश नीतिको असफलता अब घाम जत्तिकै छर्लङग भइसकेको छ । भारतले विदेश नीति सच्याएर नेपाल जस्तो मित्र देशको विश्वास जित्ने काम गर्यो भने भारतका लागि पनि हितकर हुन्छ ।

अन्त्यमा म के भन्छु भने नेपालको एकातिर शक्तिशाली भारत छ भने अर्कातिर विश्वको नम्बर एक शक्ति चीन छ । हामी कसैको पक्ष र विपक्षमा लाग्दैनौं । पाकिस्तानले चिनियाँ हतियार भित्रायो, नेपालले चिनियाँ हतियार भित्राउँदैन, नेपालले चीनबाट विकास र प्रविधि भित्राउन चाहेको छ, समृद्धि भित्राउन चाहेको छ । भारत र चीनको द्धन्दको विन्दु होइन मिलन विन्दु बन्ने नेपालको चाहना हो । भारत, चीन, पाकिस्तान लगायत सबै देशले यो नेपाली आवाज बुझ्न जरुरी छ ।’ भनेर नेकपा एमाले केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक गोविन्द थापाले भन्नुभएको छ ।


5.1k
Shares

प्रतिक्रिया दिनुहोस !