युवा संघ नेपालको १०औं महाधिवेशन : थेबे पक्षधरको पकड, ४० प्रतिशत सदस्य सर्वसम्मत निर्वाचित

पोखरा । पोखरामा जारी राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन अन्तर्गत निर्वाचित हुने १५१ सदस्यीय केन्द्रीय समिति मध्ये ४० प्रतिशत सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका छन्। तीमध्ये अधिकांश क्षितिज थेबे पक्षधर रहेको देखिएको छ।
बुधवार राति पोखरा लेकसाइडस्थित सरोवर होटलमा आयोजित भेलामा क्षितिज थेबे सहित उनको टिमका पदाधिकारीहरूले एकअर्कालाई बधाई दिएका थिए। उक्त जानकारी थेबेले नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई दिएका छन्।
पार्टी अध्यक्ष ओलीले सम्पूर्ण निर्वाचित सदस्यहरूलाई “बधाई छ, राम्रो गर्नु छोराछोरीहरू” भन्ने सन्देश पठाएका छन्। यसैबाट थेबे पक्षधर टिमले महाधिवेशनमा बलियो पकड बनाउँदै ठूलो मतान्तरले विजयी हुने संकेत देखिएको छ।
यता, सुमन पुरी नेतृत्वको प्रतिस्पर्धी टिम भने हारको मानसिकताबाट ग्रसित हुँदै दिनभर सामाजिक सञ्जालमा अनेक प्रोपोगाण्डा फैलाएको देखिएको छ। ओलीको साथ आफूहरूलाई रहेको भन्दै निर्वाचन सम्बन्धी पम्प्लेटमा अध्यक्ष ओलीको तस्बिरसमेत प्रयोग गरिएको थियो। त्यस्तै, अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकाल र इञ्चार्ज राजिव पहारी काठमाडौं पुगेर निर्वाचन रोक्ने तथा नेतृत्व घोषणा गर्ने प्रयास गरिरहेको भन्ने भ्रामक समाचार पनि सार्वजनिक गरिएको थियो।
कुल १६३ जना सदस्य निर्वाचित हुनेमा हालसम्म ६४ जना सर्वसम्मत चयन भइसकेका छन्। तीमध्ये ५७ जना क्षितिज थेबे पक्षधर रहेका छन् भने सुमन पक्षधरबाट सर्वसम्मत भएका ४ जनामध्ये लुम्बिनी प्रदेशका केही प्रतिनिधि अझै तटस्थ (न्युट्रल) रहेको बताइएको छ।