७ असार २०८२, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गृहमन्त्रीको चलखेलमा कनिष्ठ एसपीहरू धमाधम एसएसपीमा बढुवा हुँदै

प्रकाशित मिति :  १८ जेष्ठ २०८२, शनिबार १२:०७


काठमाडौं। गृहमन्त्री रमेश लेखकले प्रहरीको वरियताक्रम विपरीत ३२ नम्बर, ३१ नम्बर, ३० नम्बर, २९ नम्बर, २८ नम्बर, २५ नम्बर लगायतको वरियताक्रममा परेका एसपीहरूलाई ११ नम्बर भित्र पारेर बढुवा गर्न लगेको पाइएको छ।

यसरी बढुवामा पर्न लागेका एसपीहरू सुदूर पश्चिमका हुन्। उनीहरू गृहमन्त्री रमेश लेखकका अत्यन्तै प्रिय पात्र हुन्। मन्त्रीको प्रिय भएपछि वरियताक्रममा नपर्दा पनि परिने भएपछि आम नेपाल प्रहरी संगठनमा प्रहरीहरू छक्क पर्न थालेका छन्।

यसले कामभन्दा पनि चाकरीवादमा प्रहरी संगठन चलेको केही प्रहरी अधिकारीहरूको भनाइ छ।

अहिले एसएसपी पदका लागि ११ स्थानमा ३३ जनाको प्रतिस्पर्धा छ। यसमा वरियताक्रम मिच्दै गृहमन्त्रीको सक्रियतामा ३२, ३१, ३०, २९, २८, २५ नम्बरका एसपीहरूलाई धमाधम एसएसपी बनाउन लागिएको छ।

जसमा २५औं नम्बरमा रहेका योगेन्द्र सिंह थापालाई पनि विशेष चर्चाका साथ ११ जना भित्र पारेर बढुवा गर्न लागेको हो।

को हुन् योगेन्द्र सिंह थापा लगायत अरू?

योगेन्द्र सिंह थापा लेखक परिवारका जजमान भएको खुलेको छ। प्रसिद्ध धार्मिक पीठ त्रिपुरा सुन्दरीका पुजारी लेखक परिवार हुन् भने थापा सोही परिवारका जजमान रहेका र उनी गृहमन्त्री लेखकका अत्यन्त विश्वासिलो पात्र भएको बताइन्छ। यसै कारण गृहमन्त्री लेखकले आफ्नो कार्यकालमै थापालाई जसरी भए पनि बढुवा गराउन लागेको देखिएको छ। थापा अहिले प्रहरी प्रशासन शाखामा पनि छन्, जहाँ प्रहरीको गतिविधिको रिपोर्टिङ हुन्छ।

यस्तै, जनक भट्ट र ईश्वरी जोशीसँग पनि थापाको साठगाँठ रहेको पाइएको छ। भट्ट र जोशी गृहमन्त्रीका अत्यन्त नजिकका व्यक्ति हुन्। भट्ट गृहमन्त्रीका पीए समेत हुन्।

त्यस्तै, थापासँगै रहेका अरू ३२, ३१, ३०, २९, २८ नम्बरका एसपीहरू पनि सुदूर पश्चिमकै हुन्। गृहमन्त्रीको सुदूरको मायाले गर्दा उनीहरू नछुटेको पाइएको छ।

त्यस्तै, अहिले भिजिट भिसा प्रकरण र धेरै मानव बेचबिखनका मुद्दाहरू आउँदै छन्, किनभने लाखौं नेपालीहरू गैरकानुनी रूपमा नेपालबाट विदेशिएका छन्। भोलिको दिनमा भइपरी आउने मुद्दाहरूलाई सहजीकरण गर्नको लागि कृष्ण पंगेनीलाई मानव बेचबिखन ब्युरोमा लगिएको पाइएको छ। यसले भोलिको दिनमा मानव बेचबिखन ब्युरोको अनुसन्धानमा प्रश्न उठाउन सक्ने अधिकांश प्रहरी अधिकारीहरूको भनाइ छ।

को हुन् कृष्ण पंगेनी? बुझौं।

कृष्ण पंगेनी पूर्व प्रहरी प्रमुख र गृहमन्त्रीका एकदमै निकट व्यक्ति हुन्। विशेषतः उनलाई पहिले पनि पैसाको चलखेल गर्ने जिम्मा दिइएको थियो। उनलाई रुपैयाँ–पैसा चलखेल गर्ने प्रमुख नै बनाइएको पाइएको छ। उनले उठाएका रुपैयाँ गृहमन्त्रीसम्म पुर्‍याइएको पाइएको छ।

पंगेनीलाई शक्ति केन्द्रको आडमा महाकाली ठेक्काबापत पैसा असुल गरेको आरोप पनि छ।

संसदमा प्रमुख प्रतिपक्ष दलसहित बाहिर पनि गृहमन्त्रीको राजीनामाको माग भइरहेका बेला, आज कि भोलि भन्ने अवस्थामा रहेको मन्त्री पदको दुरुपयोग गर्दै गृहमन्त्री लेखकको यो कदमलाई प्रहरी संगठनभित्रै गम्भीर रूपमा लिइएको छ।

 

अर्काे  कुरा  छिनभरमै डिआईजी ओमबहादुर रानालाई अख्तियार लगिएको र विवाद भएपछि छिनभरमै हटाएर हिमालय कुमार श्रेष्ठलाईनै कायम गरिएको घटनाले पनि अहिले गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएको छ।

आलोचना बढेपछि गृहमन्त्री रमेश लेखकले पुनः अर्को निर्णय गरेर श्रेष्ठलाई थमौती  गरेका छन् ।


9.2k
Shares

प्रतिक्रिया दिनुहोस !