२६ असार २०८२, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चिनियाँ टोलीद्वारा चीन नेपाल मैत्री औद्योगिक पार्कको अनुगमन, परियोजना प्रति टोली सकारात्मक

प्रकाशित मिति :  १ असार २०८२, आईतवार १६:४२


झापा । नेपाल–चीनबीचको औद्योगिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित चीनको शिजाङ सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत दक्षिण एसियाली अध्ययन संस्थानका निर्देशक याङ याबोको नेतृत्वमा एक उच्चस्तरीय प्रतिनिधिमण्डलले झापामा प्रस्तावित चीन–नेपाल मैत्री औद्योगिक पार्कको स्थलगत अनुगमन सम्पन्न गरेको छ।
टोलीमा झाङ जियाङहोंग, गान युए, डे के, झाङ लिली तथा डा. गा जाङबेनको सहभागिता रहेको थियो।

बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत सन् २०२४ को डिसेम्बरमा दुई देशबीच भएको समझदारीपछि अगाडि बढाइएको यस परियोजनालाई कार्यान्वयनको चरणमा पु¥याउन चीनको यो भ्रमणलाई रणनीतिक महत्वको रूपमा लिइएको छ।

प्रतिनिधिमण्डलले पार्कको भौगोलिक सम्भाव्यता, पूर्वाधारको अवस्था, लगानी संरचना र क्षेत्रीय सहकार्यका पक्षमा स्थलगत अध्ययन गरेको छ। भ्रमणको क्रममा टोलीले झापाका विभिन्न राजमार्गहरू, सीमावर्ती नाकाहरू तथा पहुँच मार्गहरूको पनि निरीक्षण गरेको छ ।

टोलीले नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवली, विभिन्न स्थानीय तहका प्रमुख, राजनीतिक दलका नेता तथा सरोकारवालाहरूसँग छलफल गर्दै पार्कका सम्भाव्यता र आवश्यकता विषयमा जानकारी आदानप्रदान गरेको थियो।
अनौपचारिक छलफल कार्यक्रममा मैत्री औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले हालको प्रगति, भौगोलिक लाभ, स्थानीय सहभागिता र भावी रणनीतिबारे विस्तृत जानकारी दिनुभएको थियो ।

यसअघि, नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पनि उक्त क्षेत्रको अवलोकन गर्दै पार्कको निर्माण कार्य चाँडै सुरु हुने तथा किमाथाङ्का नाका शीघ्र सञ्चालनमा ल्याइने भनेर स्पष्ट रुपमा बताउनुभएको थियो ।

चिनियाँ प्रतिनिधिमण्डलको हालको भ्रमणले चीन–नेपाल सम्बन्धमा औद्योगिक साझेदारीको नयाँ युग सुरुवात गर्ने आशा गरिएको छ। झापामा निर्माण हुन लागेको चीन–नेपाल मैत्री औद्योगिक पार्कले स्थानीय पूर्वाधार विकास, रोजगारी सिर्जना र क्षेत्रीय आर्थिक सहयोग विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन्।


1.2k
Shares

प्रतिक्रिया दिनुहोस !