विन्ती छ पूर्व राष्ट्रपति ज्यू, तपाईं देशको गहना हो, राजनीतिको रछ्यानमा नपस्नुहोस्
-गोविन्द थापा
तपाईंहरुलाई म एउटा गम्भीर प्रश्न सोध्छु । अहिले मदन भण्डारीले स्वर्गबाट देखिरहनुभएको भए, हेरिरहनुभएको भए, विद्यादेवी भण्डारीको वर्तमान गतिविधिको बारेमा के भन्नुहुन्थ्यो होला ?
मेरो अर्काे पनि प्रश्न छ, गल्ती, महागल्ती र अपराधमा के फरक छ ?
यो प्रश्नले मेरो दिमाग फनफनी घुमिरहेको छ । आज म पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा विचार राख्दैछु ।
विचार राख्ने क्रममा म सुरुमै आफ्नो धारणा भनिहाल्छु । पूर्व राष्ट्रपति विद्यादेवीले गल्ती गर्नुभयो । गल्ती मात्र होइन, महागल्ती गर्नुभयो । यति ठूलो गल्ती गर्नुभयो कि त्यसको कुनै सीमा छैन । अहिले जे गरिरहनुभएको छ, त्यो झन् गलत छ । जे गर्ने योजना र तानाबाना बुनिरहनुभएको सुनिँदैछ, त्यो झनै गलत हुनेछ ।
वास्तवमा विद्याले गल्ती र महागल्ती मात्र नभएर राजनीतिक अपराध गर्नुभएको छ । मेरा यी शब्द तपाईंहरुलाई कडा लाग्नसक्छ । तर, यति कडा शब्द प्रयोग गर्न परेकोमा म आफैं दुखी छु । किनभने पूर्व राष्ट्रपति विद्या भण्डारीले गर्नुभएको राजनीतिक अपराध भावी इतिहासमा कालो पानामा लेखिने मैले देखेको छु । त्यसैले राजनीतिक अपराध भन्न वाध्य भएको हुँ ।
नेपालमा अहिले कुनै पनि पदमा नरहे पनि सर्वाेच्च व्यक्तित्वका रुपमा हामी दुईजनालाई चिन्छौं । एकजना हो डा. रामवरण यादव । अर्का व्यक्तित्व हो विद्यादेवी भण्डारी । यी दुईजना किन सर्वाेच्च व्यक्तित्व हो भने उहाँहरु दुवैजना पूर्व राष्ट्रपति हुनुहुन्छ । गणतान्त्रिक व्यवस्थामा पूर्व राष्टपति सर्वाेच्च व्यक्तित्व हो ।
पूर्व राष्ट्रपति विद्या भण्डारीका बारेमा धारणा र विचार राख्नुपर्ने अवस्था किन आयो ? पहिले यो प्रश्नमा विचार गरौं ।
उहाँले सक्रिय राजनीतिमा आएको घोषणा गर्नुभयो । त्यसैले उहाँ विवादमा हुनुहुन्छ । पूर्व राष्ट्रपति भएर पनि सक्रिय राजनीतिमा आएको भन्दै जनस्तरबाट उहाँको कडा विरोध भइरहेको छ । यही कारण उहाँका बारेमा विचार राख्नुपर्ने अवस्था आएको हो ।
मैले पूर्व राष्ट्रपति विद्या भण्डारीका बारेमा चर्चा गर्नुपर्ने कारण बताएँ । अब म उहाँको गल्तीको बारेमा बताउँछु । मैले अघि भनें, गल्ती, महागल्ती र अपराध । यही तीन शब्दलाई तीन खण्डमा बाँडेर म आफ्नो विचार राख्छु ।
पूर्व राष्ट्रपति विद्या भण्डारीले पार्टीगत राजनीतिमा आउने सोंच्नु नै गल्ती थियो । राष्टपति पदमा एक पटक होइन, दुईदुई पटक बसेको व्यक्तिले पार्टी राजनीतिमा आउँछु भनेर सोच्न पनि कसरी सकेको ? हामीले राष्ट्रपतिलाई सबैभन्दा सम्मानित पद मान्छौं । राजनीतिमा पक्ष विपक्ष हुन्छ, जालझेल र तिकडम पनि हुन्छ, नेपालमा त झुठको खेति पनि हुन्छ । राजनीतिमा मेरो पक्ष र तेरो पक्ष हुन्छ । यो पक्ष र उ पक्षभन्दा माथि, पक्ष र विपक्षभन्दा माथि हुन्छ राष्ट्रपति पद । साँच्चै भन्ने हो भने पार्टी, वाद र विचारभन्दा माथि हुन्छ राष्टपति पद । पदबाट अवकाश पाएपछि पनि देशको सांस्कृतिक, भावनात्मक, मनोवैज्ञानिक नेतृत्व राष्ट्रपति भइसकेको व्यक्तिले गरिरहेको हुन्छ । तर, विद्यादेवी भण्डारीले देशको सांस्कृतिक, भावनात्मक र मनोवैज्ञानिक नेतृत्व गरिरहनुभएको छ त ? म भन्छु छैन ।
पूर्व राष्ट्रपति विद्या मात्र होइन, डा. रामवरण पनि हुनुहुन्छ । रामवरण र विद्याको राजनीतिक जीवन धेरै फरक छ । रामवरण आफ्नै बलबुँताले नेतृत्वमा पुग्नुभएको हो । आकर्षक डाक्टरी पेसा त्यागेर जेलनेल भोग्दै रामवरण राजनीतिमा लाग्नुभएको हो । उहाँलाई घरभित्रबाट थुतेर कसैले राजनीतिमा ल्याएको होइन । राष्ट्रपति पदबाट हटेपछि रामवरणले पार्टीगत राजनीतिमा आउँछु भन्नुभएन । कांग्रेसभित्र उहाँको नाम भजाएर गुटको खेती गर्नेहरु धेरै देखिएका थिए तर मेरो नाममा राजनीतिक गुटको खेती नगर भन्दै उहाँले आफूलाई पार्टीभन्दा माथि देशकै अभिभावकका रुपमा प्रस्तुत गर्नुभयो । त्यसैले डा. रामवरण यादव नेकपा एमालेका हामी कार्यकर्ताको पनि उत्तिकै श्रद्धा र सम्मानको पात्र हुनुहुन्छ ।
विद्या भण्डारी गृहिणी हुनुहुन्थ्यो । मदन भण्डारीको निधनपछि उहाँलाई नेकपा एमालेले भान्साको सानो कोठाबाट राजनीतिको मैदानमा ल्याएको हो । विभिन्न पदमा पुराएको हो । सर्वाेच्च पद राष्ट्रपति पनि बनाएको हो । हामीले के ठानेका थियौं भने देशलाई नेपाली कांग्रेसले डा. रामवरण यादव जस्तो सुन्दर उपहार दियो, नेकपा एमालेले पनि विद्या भण्डारीका रुपमा देशलाई सुन्दर उपहार दियो । एमालेले देशलाई अर्पण गरेको उपहार एमालेमै फिर्ता आउँछु भन्दा सारा जनताको मन रोएको छ । नेकपा एमालेका समस्त नेता कार्यकर्ताको शिर आज लाजले झुकेको छ ।
अघि सुरुमै मैले मदनले स्वर्गबाट हेरिरहेको भए विद्या भण्डारीको गतिविधिलाई के भन्नुहुन्थ्यो होला भनेर प्रश्न राखेको थिएँ । निश्चित रुपमा भन्न सकिन्छ, विद्या भण्डारीको गतिविधि देखेर मदन भण्डारी पनि लज्जित बन्नुहुन्थ्यो होला ।
आदरणीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, यस्ता शब्दहरु भन्न वाध्य भएकोमा म क्षमा चाहन्छु । यस्ता शब्द भन्न वाध्य पारेकोमा तपाईंले पनि जनता समक्ष क्षमा मागेर आफ्नो उचित स्थान अर्थात् पूर्व राष्टपतिको मर्यादामा बस्न आग्रह गर्दछु ।
विद्या भण्डारी राजनीतिमा आउने गाईंगुईं र हल्लाखल्ला पहिले देखि नै चलेको थियो । उहाँ सक्रिय राजनीतिमा आउन हुन्छ कि हुँदैन भनेर व्यापक प्रतिक्रिया आएको थियो । तपाईंहरुलाई थाहै छ, विद्याले राजनीतिमा आउनुहुन्छ भनेर प्रतिक्रिया दिने विरलै मानिस थिए होलान् । सामाजिक सञ्जाल, मिडिया, विभिन्न कार्यक्रमहरु सर्वत्र राजनीतिमा आउन हुँदैन भनेर प्रतिक्रिया आएको थियो ।
म फेरि पनि भन्छु, राजनीतिमा आउँछु भन्ने सोच्नु मात्र पनि गल्ती थियो ।
गल्तीमाथि उहाँले महागल्ती गर्नुभयो । राजनीतिमा आएको घोषणा गर्नुभयो । राजनीतिमा आएको घोषणा गर्नु महागल्ती थियो ।
अहिले उहाँले राजनीतिक अपराध गरिरहनुभएको छ । नेकपा एमालेमा गुट बनाउने प्रयास गर्नुभएको छ । गुट बनाउने उहाँको प्रयासलाई नेकपा एमालेको केन्द्रीय कमिटीले एकढिक्का भएर अस्वीकार गरिसकेको छ । प्रदेश कमिटीहरुले अस्वीकार गरिरहेको छ । अहिले उहाँ सडकमा मानिस भेला गरेर गुटको खेति गरिरहनुभएको छ ।
पूर्व राष्टपतिलाई यस्तो काम सुहाउँछ ? देशको अभिभावक भएर बस्नुपर्ने व्यक्तित्वले गुटको खेति गर्नु, राजनीतिको हिलोमा लडिबुडि गर्नु राजनीतिक अपराध हो । उहाँले मदन भण्डारी फाउण्डेसनलाई गुटको अखाडामा परिणत गर्ने दुष्प्रयास गरिरहनुभएको छ । यो झनै ठूलो अपराध हो । मदन भण्डारी यो देशको सम्मानित नेता हो । मदन भण्डारीलाई विद्या भण्डारीले निजीकरण गर्ने प्रयास गरिरहनुभएको छ । मदन भण्डारीको सपना पूरा गर्ने काम आफूले मात्र गर्नसक्छु, मेरो परिवारले मात्र गर्न सक्छ भनिरहनुभएको छ । साँच्चै हो त यो कुरा ?
म एउटा उदाहरण दिन्छु । आजको नेपालमा सबैभन्दा शशक्त विचार र दृष्टिकोण दिने व्यक्तित्व केपी शर्मा ओली हो । नेपालको कम्युनिष्ट आन्दोलनमा केपी ओलीले जति शशक्त विचार आजसम्म कसैले दिएको छैन । एमालेका लागि मात्र होइन, अरु कम्युनिष्ट पार्टीहरुका लागि मात्र होइन, समस्त नेपाल र नेपालीका लागि दशकौंसम्मका लागि केपी ओलीले दर्शन, सिद्धान्त र विचार दिनुभएको छ । केपी ओलीको विचार समस्त देशको विचार हो कि होइन ? केपी ओलीको विचार समस्त जनताको विचार हो कि होइन । कि केपी ओलीको परिवारको पेवा हो । जसरी केपी ओलीको विचारलाई उहाँको परिवारले निजीकरण गर्न मिल्दैन, त्यसैगरी मदन भण्डारीको विचारलाई निजीकरण गर्न मिल्दैन । सबैलाई थाहा छ, केपी ओली परिवारवादबाट कोसौं टाढा हुनुहुन्छ । केपी ओलीको आलोचना गर्ने मानिस कति छन् कति ।
तर, केपी ओली आफैंले गलत गर्नुभयो भनेर कसैले औंला ठडाउन सक्दैन, केपी ओलीले परिवारवाद चलाउनुभयो भनेर विरोधीले पनि भन्न सक्दैन । तर, विद्यादेवी भण्डारीले मदन भण्डारी निजिकरण गर्नुभयो । मदनको नामको संस्थालाई फलाउने फुलाउने र देश हितमा लगाउनुपर्नेमा उहाँले गुटको अखडा बनाउन खोज्नुभयो ।
म फेरि पनि भन्छु, विद्यादेवीको यस्तो हर्कत देख्दा, मदन भण्डारी फाउण्डेसनको यस्तो दुरुपयोग देख्दा स्वयं मदन भण्डारीको पनि चित्त कुण्ठित भएको हुनुपर्छ । मलाई त के लाग्छ भने मदन भण्डारीले स्वर्गबाट हेरिरहनुभएको छ भने विद्यादेवी भण्डारीको अहिलेको हर्कतको ठाडै विरोध गर्नुहुन्थ्यो होला ।
अहिले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले हाच्छियुँ गर्नुभयो भने पनि एमालेका विरोधीहरुले ताली पिट्छन्, विद्यादेवीले ख्वाक्क खोक्दा पनि ताली पिट्छन् । विद्यादेवी जिन्दावाद भन्दै एमाले विरोधीहरुले उचालिरहेका छन् । एकातिर मदन भण्डारीको पत्नीको हैसियतले विराशत खोज्ने, पार्टीमा अंश दावी गर्ने, अर्कातिर एमाले विरोधीहरुको काँधमा बसेर एमालेलाई कमजोर बनाउने काम विद्याले गरिरहनुभएको छ । मदन भण्डारीको जायजेथा अंशवण्डामा विद्यादेवीले निश्चय पनि अंश पाउनुहुन्छ तर विद्याले मदनको विचारको अंश पाउनुहुन्न ।
विचारकै कुरा गर्ने हो भने मदन भण्डारीको बहुदलीय जनवादले नेकपा एमालेलाई एउटा उचाईमा पुराएकै हो । त्यो विचारमा केपी ओलीको विकास र समृद्धिको विचार मिसिएर आजको उचाईको एमाले बनेको छ । अब नेकपा एमाले र नेपालको विचार र आदर्श भनेको केपी ओलीले दिनुभएको विकास र समृद्धिको विचार हो । अर्थात संमृद्ध नेपाल सुखी नेपाली हो ।
विद्या भण्डारीले बहुदलीय जनवादमा आफ्नो हक लाग्ने दावी गर्नुभयो । तर, आदरणीय पूर्व राष्ट्रपति महोदय, बहुदलीय जनवाद सँगै विकास र समृद्धिको महान विचार पनि चाहिन्छ ।
विकास र समृद्धिको महान विचारालाई लात हानेर बहुदलीय जनवाद मात्र काखी च्यापेर तपाईं कहिँ पनि पुग्नुहुन्न । तपाईंले केही पनि गर्न सक्नुहुन्न ।
विन्ती छ पूर्व राष्ट्रपति ज्यू, तपाईं देशको गहना हो, राजनीतिको रछ्यानमा नपस्नुहोस् । अर्काे पनि विन्ती छ, राजनीतिलाई रछ्यान नबनाउनुहोस् ।











