लिपुलेक सम्झौताप्रति राष्ट्रिय युवा संघ नेपालको कडा आपत्ति
काठमाडौं । भारत र चीनबीच लिपुलेक मार्ग हुँदै व्यापार सञ्चालन गर्ने हालैको सहमति विरुद्ध राष्ट्रिय युवा संघ नेपालले तीव्र आपत्ति प्रकट गरेको छ।
संघले आज जारी गरेको प्रेस विज्ञप्तिमा ऐतिहासिक अभिलेख, तथ्य, प्रमाण र नक्साका आधारमा कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्र नेपालको अविभाज्य भूभाग भएको प्रस्ट पार्दै नेपाललाई बेवास्ता गरी दुई छिमेकी राष्ट्रबीच गरिएको सहमति नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको उल्लङ्घन भएको बताएको छ।
विज्ञप्तिमा भनिएको छ, “नेपालको सहमति विना लिपुलेक क्षेत्रमा कुनै पनि गतिविधि हुनु अस्वीकार्य छ। यो मित्रतापूर्ण छिमेकी सम्बन्ध र आपसी विश्वासको भावना विपरीत मात्र नभई घोर निन्दनीय कदम हो।”
संघले यसअघि पनि सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको सहमति र भारतले २०२० मा लिपुलेक हुँदै सडक निर्माण गर्दा नेपालभित्र व्यापक असन्तोष उत्पन्न भएको प्रसङ्ग स्मरण गरेको छ।
नेपाल सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गर्दै संघले राष्ट्रिय हित, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको पक्षमा दृढतापूर्वक उभिनुपर्नेमा जोड दिएको छ।
संघले चेतावनी दिँदै भनेको छ, ‘नेपाली भूमिको रक्षा गर्न हामी निरन्तर सचेत र प्रतिबद्ध छौं, आवश्यक परे जुनसुकै कदम चाल्न तयार छौं।’













