१६ कार्तिक २०८२, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जेनजीको काँधमा चढेको षड्यन्त्रको बहुपक्षीय रुप

प्रकाशित मिति :  १० आश्विन २०८२, शुक्रबार १०:२३


-गाेविन्द थापा

निष्पट अन्धकार रातमा एकजनाले हात्तीको कान समातेछ । उसले हात्ती नाङलो जस्तो हुन्छ भनेछ । अर्काेले पुच्छर समातेर हात्ती सर्पजस्तो हुन्छ भनेछ । अर्काेले दुवैजनासँग असहमति राख्दै भनेछ, हात्ती नाङलो जस्तो पनि हुँदैन, सर्प जस्तो पनि हँदैन, खम्बा जस्तो हुन्छ । खासमा उसले हात्तीको खुट्टा समातेको रहेछ ।

अहिले जेनजी आन्दोलनको माग यो हो भनेर अँध्यारोमा हात्ती छामे जसरी व्यक्तिपिच्छे आआफ्ना कुरा भन्न थालिएको छ । एकजना मानिस अन्तवार्तामा भन्दै थिए, जेनजी आन्दोलनको माग भनेको खाएको ऋण मिनाहा हुनु हो, नेपालमा जति पनि ऋण छ, सबै मिनाहा हुनुपर्छ रे । कतिपयले जेनजीको माग प्रत्यक्ष निर्वाचित राष्ट्रपति हो भनेको सुनियो । कतिपयले बेरोजगार भत्ता जेनजीको माग हो भने । मोबाइलमा अनलिमिटेड फ्रि डेटा नै जेनजीको माग हो भनेर अन्र्तवार्ता दिनेहरु पनि देखिए । जेनजीको माग यो हो भनेर व्यक्तिपिच्छे फरकफरक कुरा आइरहेको छ । अर्थात्, अँध्यारोमा हात्ती छाम्ने काम भइरहेको छ ।

अँध्यारोमा हात्ती छाम्ने काम कहिलेसम्म ? उज्यालो कहिले हुन्छ ? अहिलेको मूल प्रश्न यो हो । जेनजीको मूल माग भनेको अहिलेको अँध्यारो र कालरात्री सकिएर छिटोभन्दा छिटो उज्यालो हुनुपर्छ भन्ने हो ।

जेनजी आन्दोलनको दुरुपयोग गर्दै मुलुकलाई अँध्यारो सुरुङमा लैजान खोजिएको तथ्य प्रष्ट भइसकेको छ । आन्दोलनमा उत्रिएको इमानदार जेनजी पुस्ताले पनि आफूहरुलाई अगाडि सारेर नेपाल राष्ट्रलाई भड्खालामा जाक्न खोजिएको रहेछ भन्ने बुझिसकेका छन् । त्यसैले जेनजी आन्दोलनलाई स्पष्ट परिभाषित गर्न आवश्यक छ ।

सबै कोणबाट जेनजी आन्दोलनलाई हेरेर निष्कर्षमा पुग्नु, एउटा निचोड निकाल्नु आजको परम आवश्यकता भएको छ । यसो गरिएन भने जेनजी आन्दोलनको उद्देश्य र माग यो थियो र उ थियो भन्दै विदेशीहरुले एजेण्डाको विस्कुन सुकाउन थाल्नेछन् । एजेण्डाको विस्कुन कसरी सुकाइन्छ भन्ने बुझ्न म संविधानसभाको बेलाको उदाहरण दिन्छु । संविधानसभाको बेलामा नेपालमा डरलाग्दो स्तरमा एजेण्डाको विस्कुन सुकाइएको थियो । त्यसबेला काठमाडौंमा रहेका प्रायजसो राजदूतावास, दर्जनौं आइएनजीओ, ती आइएनजीओले पालेका हजारौं एनजीओहरुले संविधान यस्तो बनाउ र उस्तो बनाउ भन्दै नेपालमाथि आफ्नो एजेण्डा लाद्न खोजेका थिए । उनीहरुका एजेण्डाले नेपाललाई छिन्नभिन्न बनाउन खोजेको थियो । नेपालमा ठूलो रक्तपात मच्चाउन खोजिएको थियो । जेनजी आन्दोलनको माग यो हो र उ हो भन्दै अहिले फेरि विदेशीका तिनै एजेण्डालाई जागृत गराउन खोजिएको छ । त्यसैले जेनजी आन्दोलन र मागको समीक्षा हुन जरुरी छ ।

लोकतान्त्रिक व्यवस्थामा आन्दोलन सामान्य हो । नेपालमा दिनहुँ विभिन्न किसिमको आन्दोलन भइरहेकै थियो । ठूलो आकारको आन्दोलन उठाएर नेपालमा अस्थिरता मच्चाउने प्रयास भइरहेकै थियो । जेनजी आन्दोलनको दुरुपयोग गरेर नेपाललाई अस्थिरता र अँध्यारोमा लैजान उनीहरु सफल भएका छन् । एकदिनको प्रयासले मात्र उनीहरु सफल भएका होइनन्, वर्षाैंको प्रयासले सफल भएका हुन् । तसर्थ, जेनजीको आन्दोलनलाई वर्गीकरण गरेर हेर्नुपर्छ ।

१) वास्तविक जेनजीले भ्रष्टाचार नियन्त्रका लागि गरेको शान्तिपूर्ण आन्दोलन
२) जेनजी आन्दोलनमा घुसेर विभिन्न पार्टी र नेताहरुले आआफ्नो अपराध ढाकछोप गर्न गरेको आन्दोलन
३) लुटेराहरुले जेनजी आन्दोलनको मौका पारेर चलाएको लुटपाट आन्दोलन
४) जेनजीको काँधमा चढेर विदेशीहरुले नेपाललाई खरानी बनाउन गरेको आन्दोलन
५) जेनजीलाई अगाडि सारेर नेपालको संविधान, संसद्, अदालत सबैलाई समाप्त पार्न गरेको आन्दोलन

एउटै आन्दोलन भित्रका यी पाँच आन्दोलनलाई बेग्लाबेग्लै रुपमा बुझ्नुपर्छ, बेग्लाबेग्लै तरिकाले सम्बोधन गर्नुपर्छ । वास्तविक जेनजीले भ्रष्टाचार नियन्त्रणका लागि गरेको आन्दोलनलाई सबै राजनीतिक दल, विशेष गरी नेकपा एमाले र नेपाली कांग्रेसले स्वामित्वमा लिनुपर्छ । जेनजी पुस्ताको विचार र भावनालाई सम्बोधन गर्ने पार्टी भनेकै एमाले हो ।

जेनजी आन्दोलनको माग भ्रष्टाचार नियन्त्रण थियो । भ्रष्टाचार नियन्त्रण नै जेनजी आन्दोलनको माग थियो भन्नेमा हरेक नेपाली सहमत हुन्छ भन्ने मेरो विश्वास छ । यो बाहेक जेनजी आन्दोलनको माग यो थियो र उ थियो भन्न थालियो भने सर्वसम्मती हुँदैन । देश खरानीमा उभिएको यो मौका छोपेर जेनजीको माग यो थियो भन्दै नेपाललाई विदेशी एजेण्डाको एम्बुसमा पार्न प्रयास भइरहेको छ । जब कुनै देश संकटमा पर्छ त्यसबेला विदेशीले मौका छोप्छन् । ०७२ सालमा भूकम्पले नेपाल थिलथिलो भएको बेला विदेशीले कसरी मौका छोपेका थिए भन्ने बिर्सन हुँदैन, त्यसबेला भारतले नाकावन्दी नै लगाएको थियो, युरोपियन युनियन र अमेरिकाले नेपालको घाँटी अँठ्याएको थियो, भूटानले समेत हामीलाई लात्ताले हानेको थियो । संविधान सभाको बेलामा नेपालमाथि लाद्न नसकिएका एजेण्डाहरुको फायल उनीहरुले दराजमा थन्काएका थिए । अहिले उनीहरु धमाधम दराज खोलिरहेका छन् ।

जेनजी आन्दोलनको माग वर्तमान संविधान खारेजी हो भन्नेहरु पनि देखिएका छन् । जसरी सिंहदरबार र देशको सम्पत्ति जलाउने मानिस नेपाली मनको होइन, संविधान खारेज गर्नुपर्छ भन्ने मानिस पनि नेपाली मनको हुन सक्दैन । संविधान खारेज गरियो भने चुच्चे नक्सा खारेज हुन्छ, त्यसैले चुच्चे नक्सा भएको नेपालको म्याप प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो कार्यकक्षमा नराखेका हुन् भन्नेहरु पनि छन् । यसरी घुमाई फिराई जेनजी आन्दोलन चुच्चे नक्साको विरुद्धमा थियो भन्ने स्थापित गर्न खोजिँदैछ । भ्रष्टाचार नियन्त्रण गर्ने पवित्र मागका लागि गरिएको आन्दोलनलाई संविधान र चुच्चे नक्सा खारेजीको अपवित्र मागको एम्बुसमा पार्न खोजिँदैछ ।

प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि जेनजीको आन्दोलन भएको थियो भनेर अहिले ठूलो भ्रम फैलाइँदैछ । यस्तो भ्रामक प्रचार गर्नेहरुले के बुझ्नुपर्छ भने प्रत्यक्ष निर्वाचित कार्यकारीको विषयमा नेपालमा विगतमा आठ नौ वर्ष लगातार, दिनहुँ बहस भएको थियो । प्रत्यक्ष निर्वाचित कार्यकारी झलक्क हेर्दा आकर्षक देखिन्छ तर त्यसले निम्त्याउने जोखिम विकराल हुन्छ भन्ने बुझेर नेपालले संसदीय प्रणाली अपनाएको हो । प्रत्यक्ष निर्वाचित कार्यकारी राख्न भारत, अमेरिका, युरोपियन युनियन, आइएनजीओहरु सबैले वर्षाैसम्म नेपालमा पैसाको खोला बगाएर अभियान चलाएका हुन् । प्रत्यक्ष निर्वाचित कार्यकारीले सिर्जना गर्ने जोखिम देखेर नै सबै पार्टीहरु त्यो एजेण्डाबाट पछाडि हटेका हुन् । प्रत्यक्ष निर्वाचित कार्यकारी जेनजी आन्दोलनको माग नै होइन, अहिले माग थियो भनेर भ्रम सिर्जना गर्न खोज्दैछन् ।

एकजना बुद्धिजीवी टाइपका मानिसले जेनजी आन्दोलनको माग, मर्म र भावनाको व्याख्या गर्दै नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्छ समेत भने ।

यसरी जेनजी आन्दोलनको माग, विचार, भावनालाई विभिन्न स्वदेशी तथा विदेशी स्वार्थ समूहहरुले आआफ्नो तरिकाले व्याख्या गर्न खोज्दैछन् । आन्दोलनमा सिंहदरबार, संसद्, अदालत र देशका अनेक संरचना जलाए । जलेको त्यो खरानीमा उभिएर अहिले नेपालको सार्वभौमिकता, स्वाभिमान, भाग्य र भविष्यलाई नै खरानी बनाउन खोज्दैछन् । यो कुरा सबैले बुझ्न जरुरी छ, जेनजी पुस्ताले बुझ्न त झनै जरुरी छ ।


1.4k
Shares

प्रतिक्रिया दिनुहोस !