१९ कार्तिक २०८२, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

रोब्सपियर, जेलन्स्की र नेपालीले बन्नुपर्ने बकुल्ला

प्रकाशित मिति :  २४ आश्विन २०८२, शुक्रबार ११:००


नेकपा एमालेका केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक गोविन्द थापाले ‘रोब्सपियर, जेलन्स्की र नेपालीले बन्नुपर्ने बकुल्ला’ नामको शिर्षक दिएर एक भिडियो सामाजिक सञ्जालमा राख्नु भएको छ।

उहाँले भिडियोमा भन्नुभएको छ –‘ अहिले नेपालमा आतंकको राज्य छ । कोही सुरक्षित छैन । सारा जनता कतिबेला के हुने हो भनेर आतंकित छन् । शान्तिसुरक्षाको जिम्मेवारी पाएको प्रहरी प्रशासन निरीह छ । कतिसम्म भने सडक व्यवस्थापनको जिम्मेवारी पाएको ट्राफिक प्रहरी समेत सुरक्षित छैन । ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीलाई कथित डनहरुले दुवर््यवहार गरेको भिडियो हाम्रा लागि सामान्य हुन थालेका छन् । २४ गतेको आगो निभ्यो तर आतंक झन् चर्किएको छ । संविधान कानुन सबै भत्काउनुपर्छ भन्ने समूहहरुलाई सरकारले नै प्रोत्साहन गरिरहेको छ ।

फ्रान्समा सन् १७८९ मा क्रान्ति भयो । क्रान्तिपछि त्यहाँ यति आतंकको वातावरण सिर्जना गरियो कि त्यसपछिको कालखण्डलाई आतंकको राज्य भनिन्छ । आतंकको राज्यको नेतृत्व म्याक्सिमिलियन रोब्सपियरले गरेका थिए । उनले मान्छे मार्न एउटा यन्त्र नै बनाएका थिए । त्यो यन्त्र थियो गिलोटिन । गिलोटिनमा झुण्डाएर १७ हजार मानिस मारिएको थियो । यो संख्या औपचारिक तथ्यांक हो । रोब्सपियरले लाखौं मानिस मारेका थिए ।

फ्रान्सको क्रान्तिमा रोब्सपियरले नेतृत्व गरेका थिए । क्रान्तिबाट सत्ता हातमा आएपछि उनको रुप फेरियो । उनी लुसिफर बने । जनता राजा कसैलाई बाँकी राखेनन् । राजा लुई सोह्रौं र रानी मेरी एन्टोनियोलाई पनि गिलोटिनमा झुण्डाएर मारे । फ्रेन्च जनताले आज रोब्सपियरलाई लुसिफरका रुपमा सम्झन्छन् । नेपालमा पनि लुसिफर र रोब्सपियरहरु पैदा हुने खतरा बढेको छ । नियम कानुन संविधान र नैतिकता केही पनि नमान्ने, प्रथा पद्धति र परम्परा केही पनि नमान्ने जमात बढिरहेको छ । रोब्सपियरले गिलोटिन प्रयोग गरेर मान्छे मार्थे, नेपालमा साइबर सञ्जाल प्रयोग गरेर मानिसलाई मरेतुल्य बनाइँदैछ । जसलाई जे आरोप लगाइदिए पनि भएको छ । जसको पनि चरित्र हत्या गर्न पाइएको छ । असहमत विचारलाई निषेध गर्ने जमात बढिरहेको छ ।

याद गर्नुहोस्, रोब्सपियर पनि फ्रान्समा हिरो थियो, हिरोभित्रको भिलेन फ्रान्सेली जनताले चिन्न सकेनन्, त्यसैले फ्रान्सेली जनताले ठूलो दुख पाए । नेपाली समाजमा पनि साइबर लोकप्रियताको आडमा लुसिफर र रोब्सपियरहरु पैदा हुने खतरा बढिरहेको छ । यसमा सबैले होसियार हुनुपर्ने बेला आएको छ ।

कुरा त मैले नेपालको गर्न खोजेको हूँ तर फ्रान्सको उदाहरण दिएँ । फ्रान्सको कुरा गर्दा मलाई जर्मनीको याद आयो । जर्मनीको हिटलरको नाम नसुन्ने मानिस शायदै होला । हिटलर यति लोकप्रिय थिए कि उनको भाषण सुन्न लाखौं मानिस ओइरिन्थे । देश बनाउने घटीको कुरै गर्दैनथे, देशका लागि मर्न तयार छु भन्थे, मैले जस्तो विकास कसैले गर्न सक्दैन भन्थे । सोझा जर्मन जनताले पत्याए । शासन सत्ता हातमा आएपछि हिटलरले लुसिफर रुप देखाउन थाले । हिटलरले युरोपमा करोडौं मानिस मारे । लोकप्रियताको आडमा तानाशाह हिटलरको जन्म भयो । नेपाली समाजले यो कुरा बुझ्नुपर्छ ।

फ्रान्स र जर्मनीपछि मलाई युक्रेनको कुरा गर्न मन लाग्यो । युक्रेनका अहिलेका राष्ट्रपति भोलोदोमिर जेलेन्सीको नाम हामी सबैले सुनेका छौं । जेलेन्स्की मीठो कुरा गर्थे, अनेक स्टन्ट गर्थे, हास्य कलाकार थिए, लोकप्रिय थिए । हाम्रो सबै दुःख जेलेन्स्कीले हरण गर्ने रहेछ भन्ने भ्रम युक्रेनी जनतालाई पर्यो । युक्रेनको भाग्य र भविष्य जेलेन्स्कीले बनाउने रहेछन् भन्ने भ्रम पर्यो । जेलेन्स्कीले चुनाव जिते । त्यसपछि के भयो भन्ने तपाई हामी सबैलाई थाहा छ । जेलेन्स्कीले युक्रेनलाई युद्धमा होमे । युक्रेनको विजोग छ । जेलेन्स्कीको कार्यकाल सकिइसकेको छ तर चुनाव गराउँदैनन् । युक्रेनलाई युद्धको आगोमा होमेर उनी निष्कंटक राष्टपति पदमा बसिरहेका छन् । युक्रेनी जनताले जेलेन्स्कीलाई लुसिफर भन्छन् । आजकाल नेपालमा पनि लुसिफर शब्द चलेको छ ।

अब म नेपालको मात्र कुरा गर्छु । नेपालमा हठात राजनीतिक परिवर्तन भयो । यो परिवर्तन प्राकृतिक थिएन । अहिले अन्धकारको अवस्था छ । यो अन्धकारको अवस्थामा नयाँनयाँ पात्रहरु समाजका अगाडि ल्याइँदैछ । विगतमा कहिले नाम नसुनेका पात्रहरु भाइरल भएर ठूलाठूला कुरा गर्दै हाम्रा सामु आइरहेका छन् । कसको कुरा पत्याउने, कसको नपत्याउने भनेर जनता रनभुल्लमा छन् । मुख्य कुरा, देश अब कता जान्छ भन्ने अन्यौल छ । अन्यौल र आतंकका बीच नेपाली जनताले दिन बिताइरहेका छन् ।

सुशासन भएन भन्दै जेन्जी पुस्ताले आन्दोलन गरेको थियो, आन्दोलनको आडमा नेपाली रोब्सपियरहरु आतंकको राज्य चलाउन खोज्दैछन् ।

अहिले अन्यौल र आशंका बढेको बढ्यै छ । जेन जी आन्दोलनले नयाँ परिस्थिति सिर्जना गर्यो । के प्रष्ट भइसकेको छ भने जेनजी पुस्ताको पवित्र भावनामाथि खेलवाड गरेर देशमा षडयन्त्रमूलक ढंगले राजनीतिक परिवर्तन गरियो । पाँच दशक अघि कवि भूपी शेरचनले यो हल्लै हल्लाको देश भनेका थिए, अहिले पनि नेपाल हल्लै हल्लाको देश हो । अनेक हल्ला, अफवाह र भ्रम फैलाएर समाजलाई उत्तेजित बनाइयो, युवा पुस्तालाई दिग्भ्रमित बनाइयो । यसैलाई आधार बनाएर षडयन्त्र गरियो । अहिले पनि षडयन्त्र जारी छ, नेपाललाई अँध्यारो बाटोमा लैजाने प्रयास भइरहेको छ ।

यस्तो बेला सबै नागरिक, राजनीतिक दल, दलका भ्रातृ संगठनहरु एकढिका हुनुपर्छ । अब सबै सक्रिय हुनुपर्छ । यो साता नेकपा एमाले र नेपाली कांग्रेस केन्द्रीय समिति वैठक बस्दैछ । यो वैठकले देशलाई बाटो देखाउनुपर्छ । देशलाई बाटो देखाउने मामिलामा जेनजी पुस्ता अगाडि सर्नुपर्छ । यस्तो काम सुरु भइसकेको पनि छ । हालै नेकपा एमाले सम्वद्ध अखिलले जेनजी आन्दोलनको आडमा मच्चाइएको आगजनी र तोडफोडको विरुद्धमा प्रहरीमा जाहेरी दिन गएको छ । अखिल भनेको जेनजीकै संगठन हो । जेनजी अखिलले अब समस्त जेनजीहरुको अगुवाई गर्नुपर्छ । त्यसैगरी अन्य भ्रातृ संगठनहरु पनि अगाडि आउनुपर्छ ।

हालैको जेनजीको आन्दोलनको माग के थियो रु यसमा प्रष्ट हुनुपर्छ । जेनजी आन्दोलनको माग भ्रष्टाचार नियन्त्रण थियो । भ्रष्टाचार नियन्त्रण नेकपा एमाले र यसको जेनजी संगठन अखिलको पनि माग हो । एमालेका अन्य भ्रातृ संगठनहरु पनि भ्रष्टाचार नियन्त्रणको पक्षमा छन् । तसर्थ, जेनजी आन्दोलनको स्वामित्व नेकपा एमाले र यसका भ्रातृ संगठनहरुले लिनुपर्छ । हुनत जेनजी आन्दोलनको माग यो थियो र उ थियो भन्दै अहिले विभिन्न एनजीओ आइएनजीओले परिचालित गरेका समूहरुले विभिन्न माग अगाडि सारिरहेका छन् । उनीहरुले त्यस्तो माग अगाडि सार्नु भनेको धमिलो पानीमा माछा मार्ने प्रयास मात्र हो । सहि माग, सहि विचार र सहि मुद्दा आजको आवश्यकता हो । विभिन्न एजेण्डाको एम्बुसमा नेपाल र नेपाली जनतालाई पार्न खोजिँदैछ । यसलाई चिर्दै सहि माग र सहि विचार स्थापित गर्ने काममा अब दलका भ्रातृ संगठनहरु पछाडि पर्न हुँदैन । ’

भन्दै उहाँले भन्नुभएको छ, ‘अब लाइक कमेन्ट र शेयरका लागि उत्तेजना फैलाउनेहरुबाट सबैले जोगिन जरुरी छ । उग्र कुरा गर्ने, भाइरल हुने पात्रहरुले जनतालाई दिग्भ्रमित गरे । अब लाइक कमेन्ट, शेयर र फलोअरको खेतिभन्दा नेपाली समाज माथि उठ्नुपर्छ । अब नेपाली समाज बकुल्ला जस्तो बन्नुपर्छ । जेनजी आन्दोलनमा लागेका इमानदार भाइबहिनीहरुले अब बकुल्ला बन्नुपर्छ । दूध र पानी मिसाइएको छ भने बकुल्लाले दूध मात्र पिउँछ, पानी पिउँदैन भन्ने गरिन्छ । बकुल्लाले दूध र पानी छुट्याएर दूध मात्र पिउँछ भन्ने धेरैवटा लोककथा छ । हामीले पनि जेनजी आन्दोलन र आन्दोलनको दुरुपयोग गर्ने स्वदेशी विदेशी तत्वलाई बकुल्लाले झैं छुट्याउन सक्नुपर्छ । जेनजी आन्दोलनपछिको परिस्थितिमा को इमानदार हो र को राब्सपियर हो छुट्याउनुपर्छ । को हिटलर हो र को वास्तविक देशभक्त हो छुट्याउन सक्नुपर्छ । को जेलन्स्की हो र को देशको हितको पक्षमा छ भन्ने छुट्याउनुपर्छ । ’
भन्दै गोविन्द थापाले अन्तिममा भन्नुभएको छ ‘ अन्यौल अस्थिरता र संकटको यो घडीमा उत्तेजक कुराका पछाडि नलागौं, देशको दीर्घकालीन हित हुने विचारलाई समर्थन गरौं । ’


678
Shares

प्रतिक्रिया दिनुहोस !