सरकारले जेन्जीको ढाडमा टेकेर लोकतन्त्रको टाउकोमा प्रहार गर्योः गोविन्द थापा
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाले वर्तमान सरकारमाथि कडा आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत गम्भीर आपत्ति जनाउनुभएको छ ।
थापाले शुक्राबार समाजिक संजाल फेसबुकमार्फत सरकारले जेन्जी पुस्ताको ढाडमा टेकेर लोकतन्त्रको टाउकोमा हान्ने नीति लियो भनेर लेख्नुभएको छ ।
उहाँका अनुसार राष्ट्रिय युवा संघले शनिबार काठमाडौंमा गर्न लागेको मोटरसाइकल र्यालीलाई सरकारले रोक लगाउनु शान्तिपूर्ण प्रदर्शनप्रतिको आक्रमण हो। उहाँले सामाजिक संजालमा लेख्नुभएको छ–्, ‘हिँसा, आगजनी, तोडफोड र षड्यन्त्रबाट बनेको सरकार शान्तिपूर्ण प्रदर्शनसँग डराएको छ।’
थापाले वर्तमान सरकार न त जेन्जी पुस्ताको प्रतिनिधित्व गर्ने नीति लिएको देखिएको र न त त्यस्तो नियत नै रहेको टिप्पणी गर्नुभएको छ । उहाँले यो सरकार जेन्जी पुस्ताको नाममा सिंहदरबार जलाउने गिरोहको प्रतिनिधित्व गरिरहेको छ भनेर लेख्नुभएको छ । प्रदर्शनमा रोक लगाइएको निर्णयले देश अहिले सुशीला कार्कीले नभई त्यही गिरोहले चलाइरहेको स्पष्ट संकेत मिलेको उहाँको भनाई छ ।
सरकार बनाउने गिरोहले देशलाई खरानी बनाउने नियत लिएको गम्भीर आरोप लगाउँदै थापाले बाँकी रहेका संरचनाहरू पनि जोखिममा रहेको भनेर बताउनुभएको छ । ‘यो सरकारबाट लोकतन्त्र, जनअधिकार र संविधान खतरामा परेको छ,’ एमाले केन्द्रीय सदस्य गोविन्द थापाले लेख्नुभएको छ ।
उहाँले सरकारलाई तानाशाही चरित्र प्रदर्शन गरेको आरोप लगाउँदै, सुशासन र भ्रष्टाचारको विरोधमा उभिएको जेन्जी पुस्ताको पवित्र विचार र भावनामा समेत कुठाराघात भएको भनेर समेत समाजिक संजालमा लेख्नुभएको छ ।
थापाले लोकतन्त्र जोगाउन अब सबै जनता उठ्नुपर्ने समय आएको भन्दै, ‘लोकतन्त्र जोगाउन अब समस्त जनता जुरुक्क उठ्नुको विकल्प रहेन,’ भनेर समेत लेख्नुभएको छ ।












