समाजलाई भ्रमित पार्ने प्रचारप्रसारविरुद्ध गाेविन्द थापाको चेतावनी
काठमाडाैं । नेकपा एमाले केन्द्रीय सदस्य गोविन्द थापाले विशेष ध्यानाकर्षण गर्दै सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड, चोरि र लुटपाट गर्ने व्यक्तिहरुलाई सच्चिन र सुधार्नका लागि कडा अपील गर्नुभएकाे छ । उहाँले , विशेषगरी गत भदौ २३ र २४ गतेका घटनामा संलग्न अपराधीहरुलाई आफनो कर्तुतको पछाडि लुकेको छैन भन्दै, यसो गर्नेहरुका लागि स्पष्ट सन्देश दिनुभएकाे छ ।
उहाँले भन्नुभयाे, ‘आजको समयमा, अपराध लुकेको छैन। तपाईंहरुले जुन कार्य गर्नुहुन्छ, त्यसको प्रमाण सजिलै प्राप्त गर्न सकिन्छ – त्यो पनि भिडिओ र क्यामरामा कैद हुन्छ। समाजले तपाईंहरुलाई कुनै दिन पनि पन्छाउन सक्दैन। तपाईंको अपराध तपाईंको पछाडि सधैं रहन्छ। ‘ उहाँले खासखास महानुभावहरुलाई मेरो आग्रह भन्दै
‘मैले खासखास महानुभावहरु भनेर कसलाई भन्न खोजेको हो भने गत भदौ २३ र २४ गते सार्वजनिक, सरकारी तथा निजी सम्पत्तिमा आगजनी गर्ने, चोर्ने, लुट्नेहरुलाई भनेको हो ।
तपाईंहरु मध्ये कैयनले नियतवस आगजनी गर्नुभयो, कतिपयले लहलहैमा आगजनी गर्नुभयो । देश जलाउने गिरोहका सदस्यहरुले हिँसा आगजनीका लागि उक्साए, त्यसको सिकार भएर कैयन मानिसले अपराध गरे । नेपाली समाजको ब्रेनवास गरेर हिँसा गर्न उत्प्रेरित गर्ने सुनियोजित प्रचारतन्त्र धेरै पहिलेदेखि चलाइएको थियो । त्यसैको सिकार भएर कैयन व्यक्तिले निजी घर, सार्वजनिक सम्पत्ति, सरकारी सम्पत्ति जलाउन तथा तोडफोड गर्न पुग्नुभयो । जे गर्नुभयो, अपराध गर्नुभयो, महापाप, देशद्रोह गर्नुभयो, नगर्ने काम गर्नुभयो । आफ्नो मात्र नभएर परिवाकै निधारमा कलंक लाग्ने काम गर्नुभयो ।
अब सच्याउनुस्, सच्चिनुस् । सच्याउन र सच्चिनका लागि केही काम गर्नुहोस् । ती काम भन्नुभन्दा पहिले म केही कुरा भन्छु ।
तपाईंहरुका कर्तूत लुकेको छैन । तपाईंहरुले घर जलाएको, लुटेको, तोडफोड गरेको भिडियो रेकर्ड सम्बन्धित घरको सिसी क्यामराले खिचेको छ, छिमेकीको क्यामराले खिचेको छ, भीडमा भएका सयौं मानिसहरुको मोबाइलको क्यामराले खिचेको छ । आजको युगमा खुलेआम गरिएको अपराध लुक्न सक्दैन, कसै न कसैले भिडियो खिचेकै हुन्छ, कसैले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्छन्, कसैले गर्दैनन् । मुख्य कुरा, प्रत्यक्षदर्शी जनताको आँखाको क्यामराले खिचेको छ । एकदुई दिन पक्राउ नपर्नुहोला, दुई चार दिन फरार बन्नुहोला तर यो समाजले तपाईंहरुलाई छाड्ने छैन । तपाईंले गरेका अपराधको फोटो भिडियोले तपाईंलाई छाड्ने छैन ।
तसर्थ सच्चिनका लागि निम्न काम गर्नुहोस् ।
१) जघन्य प्रकृतिको फौजदारी अपराध गर्नुभएको छ भने सीधै प्रहरी कार्यालय गएर आत्मसमर्पण गर्नुहोस् । अपराधको नेतृत्व गरेको होइन, मतियार मात्र भएको हो भने जसको घर जलाएको या तोडफोड गरेको हो, त्यो घरमा जानुहोस् । माफी माग्नुहोस् ।
२) निजी घर जलाउँदा या तोडफोड गर्दा तपार्इंलाई किन सजिलै माफी दिन्छन् ? दिँदैनन् । त्यसैले फेरि पनि जानुहोस् र माफी माग्नुहोस् । माफी दिएनन् भने फेरि पनि गएर माफी माग्नुहोस् । जबसम्म माफी दिँदैनन्, तबसम्म माफी मागिरहनुहोस् ।
३) निजी घर जलाउन या तोडफोड गर्न जाँदा लाइभ गरेर खुसी मनाउँदै उफ्रिपाफ्री गर्नुभएको छ भने लाइभ गरेरै ‘विराएँ, माफ पाउँ’ भन्दै कान समातेर उठवस गर्दै माफ माग्नुहोस् ।
४) चोर्नु, लुट्नुभएको छ भने चोरेको धनमाल फिर्ता दिएर माफ माग्नुहोस् । चोरेको धनले तपार्इंलाइ जीवनभर पोलिरहनेछ, चोर्दाचोर्दै खिचिएको भिडियोले तपार्ईलाई पानी मुनि गए पनि छाड्नेवाला छैन ।
५) आफूले ताडफोड तथा आगजनी गरेको घरमा माफी मागेर मात्र पुग्दैन, त्यस्ता घर पुननिर्माणको काममा ज्यामी, सिकर्मी, डकर्मी या लेबरका रुपमा काम गरेर योगदान गर्नुस् । यसो गर्दा पाप राम्रोसँग पखालिन्छ ।
५) सार्वजनिक तथा सरकारी सम्पत्ति जलाउने तथा तोडफोड गर्ने महानुभावहरुले पनि त्यसै गरी माफी माग्नुहोस् ।
६) पाप र अपराध पखाल्नका लागि आफ्ना आमाबुवा या परिवारका ज्येष्ठ सदस्यको गोडा ढोगेर कूलमा कलंक लगाएकोमा माफी माग्नुहोस् । छोराछोरी हुनेले छोराछोरीको गोडा ढोगेर मेरो गल्तीबाट पाठ सिक्नु, मेरो बाटोमा नहिँड्नु भन्नुस् ।
७) जेन्जी आन्दोलनको दुरुपयोग गरेकोमा समाजसँग पनि माफ माग्नुहोस् ।
अहिलेलाई यति गर्नुभयो भने २३ र २४ गतेको घटनामा सहादत प्राप्त गर्नेहरुलाई श्रद्धाञ्जली हुनेछ । तपार्इंहरुजस्ता महानुभावहरुले गर्नुपर्ने काम अरु पनि छन्, पछिपछि बताउँदै जाउँला । ‘ भनेर बताउनुभएकाे छ ।











