२८ मंसिर २०८२, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेशनल भोलिन्टियर फोर्सको धर्म र कर्म

प्रकाशित मिति :  ५ मंसिर २०८२, बिहीबार २१:४३


-गोविन्द थापा

दयावीर कंसाकार र तुलसीमेहर श्रेष्ठ । यी नाम नयाँ पुस्ताका थोरैले मात्र सुनेका होलान् । आजको पुस्ताले, विशेष गरी नेकपा एमालेका सबै खालको पुस्ताले यो नाम सुन्न र बुझ्न आवश्यक भएको छ ।

अर्काे नामको चर्चा गर्छु, शुक्रराज शास्त्री । यो नाम पनि आजको पुस्ताले, विशेष गरी एमालेका सबै उमेर समूहले सुन्न र बुझ्न आवश्यक छ ।

दयावीर र तुलसी मेहर राणाकालका ठूला अभियन्ता हुनुहुन्थ्यो । आजकाल सामाजिक सञ्जालमा आमाचकारी बोलेर भाइरल बन्ने, देश जलाउनेहरुलाई अभियन्ता भनिन्छ । तर, विगतमा अभियन्ता बन्न सजिलो थिएन । गाली गरेका भरमा कोही पनि नेता या अभियन्ता बन्न सक्दैनथे । अरुको सेवा गर्ने, समाजमा स्वयंसेवा गर्ने, आफू मरेर अरुलाई बचाउने, त्याग र समर्पण गर्नेलाई अभियन्ता भनिन्थ्यो, स्वयंसेवक भनिन्थ्यो ।

म यहाँ तुलसी मेहर र दयावीरको जीवनी लेख्न गइरहेको छुइन तर उहाँहरुको चर्चा गर्न आवश्यक भयो । उहाँहरु महान समाजसेवी हुनुहुन्थ्यो । तुलसी मेहर राजनीतिक रुपमा केही प्रेरित हुनुहुन्थ्यो, भारतीय नेता महात्मा गान्धीको उहाँमा प्रभाव थियो तर दयावीर सिंहको राजनीतिसँग नातासाइनो थिएन । तैपनि उहाँहरुले समाजलाई आँखा देखाउने काम गर्नुभयो । स्वयंसेवा कस्तो हुन्छ भन्ने उदाहरण देखाउनुभयो ।

स्वयंसेवकलाई अंग्रेजीमा भोलिन्टियर भनिन्छ । आजकाल नेपाली स्वयंसेवक भन्दा अंग्रेजी भोलिन्टियर शब्द धेरै चलेको छ । स्वयंसेवक भने पनि हुन्छ, भोलिन्टियर भने पनि हुन्छ । भाषाको संकीर्णतामा अल्मलिन आवश्यक छैन । भोलिन्टियर या समाजसेवीलाई आजकाल समाजसेवी पनि भनेको सुनिन्छ ।

दयावीर र तुलसीमेहर नेपालको इतिहासका अविष्मरणीय र प्रेरणादायी भोलिन्टियर हुनुहुन्थ्यो । यस्ता नाम अरु धेरै छन् । मैले माथि लेखेको अर्काे नाम शुक्रराज शास्त्री हो । शुक्रराज शास्त्री पनि महान समाजसेवी, समाजसुधारक, स्वयंसेवक या भोलिन्टियर हुनुहुन्थ्यो । उहाँ नेपालका चार सहिद मध्येका एक हुनुहुन्छ ।

तुलसीमेहर, दयावीर, शुक्रराज जस्ता महापुरुष नेपालमा धेरै नै हुनुहुन्छ । मैले यी तीनजनाको नाम लिनुको कारण के हो भने नेकपा एमालेले नेशनल भोलिन्टियर फोर्स घोषणा गरेको छ । नेशनल भोलिन्टियर फोर्सले कस्तो बाटो लिन्छ ? तुलसीमेहरको जस्तो कि ? दयावीरको जस्तो कि ? शुक्रराज शास्त्रीको जस्तो ? कस्तो ? आज हरेक नेपालीले यो प्रश्न गरिरहेको छ । हरेक नेपालीमा भोलिन्टियर फोर्स बारेमा जिज्ञासा छ ।

एमालेसँग युथ फोर्स पनि छ । फोर्स शब्द जोडिएको अर्काे संस्था एमालेले ल्याएको छ । दुवै संस्था फोर्स, यिनमा फरक के छ ? किन फोर्स नाम जोडिएको दुईटा संस्था चाहियो ? एमालेजनमा पनि यस बारेमा जिज्ञासा छ । वास्तविकता के हो भने नेशनल भोलिन्टियर फोर्स वास्तवमै स्वयंसेवी संस्था हो, यो एमालेको मात्र होइन । यसको घोषित उद्देश्य नै नेपाली जनताको सेवामा स्वयंसेवी भएर लाग्नु हो । हुनत एमालेका अन्य संस्थाको काम पनि जनताको सेवा नै हो, स्वयं एमालेको उद्देश्य पनि जनताको सेवा हो । तर, नेशनल भोलिन्टियर फोर्सले स्वयंसेवी भएर, जुझारु र लडाकू भएर जनताको रक्षा गर्छ । जनताको रक्षा नै भोलिन्टियर फोर्सको मुख्य उद्देश्य हो ।

मलाई के लाग्छ भने नेशनल भोलिन्टियर फोर्स तुलसीमेहर, दयावीर, शुक्रराजहरुको जस्तो होइन । न त यो युथ फोर्स जस्तो हो । भोलिन्टियर अर्थात् स्वयंसेवकका नाममा भारतको राष्ट्रिय स्वयंसेवक संघ अर्थात् आरएसएस पनि चर्चित छ । नेशनल भोलिन्टियर फोर्स भनेको भारतीय आरएसएस जस्तो पनि होइन ।

कस्तो हो त भोलिन्टियर फोर्स ? नेपाली जनताले यो जवाफ खोजिरहेका छन् । युथ भोलिन्टियर फोर्समा अलिकति तुलसीमेहरको प्रभाव हुनेछ, अलिकति दयावीरको प्रभाव हुनेछ, अलिकति शुक्रराजको जस्तो प्रभाव हुनेछ । मुख्य कुरा, योसँग विचार हुनेछ । देशभक्तिपूर्ण विचार नै भोलिन्टियर फोर्सको आधार हो ।

शुक्रराज शास्त्री विद्रोही समाज सुधारक हुनुहुन्थ्यो । उहाँले राणा शासन विरोधी आन्दोलनको जग हाल्नुभयो । युथ भोलिन्टियर फोर्स विद्रोही स्वभावको हुनेछ । हाम्रा अतितका भोलिन्टियरहरु विद्रोही थोरै, आत्मसमर्पणकारी धेरै देखिन्छन् । त्यो युग र परिवेशमा त्यस्तो स्वभाव ठिक पनि थियो होला तर भोलिन्टियर फोर्स नितान्त फरक युग, फरक परिवेश र फरक विचारमा जन्मिएको छ । तसर्थ, यो आत्मसमर्पणकारी हुने छैन । यो प्रतिरोधी हुनेछ, यसले प्रतिरोध र प्रतिकार गर्नेछ । यसले स्वयंसेवाका नाममा हातमा दही जमाएर बस्ने छैन । बरु, यसले अन्याय र अत्याचारको प्रतिरोध गर्नेछ, देश जलाउनेहरुको प्रतिकार गर्नेछ । समाज विभाजन गर्नेहरु विरुद्ध मुठ्ठि कसेर एकताको सन्देश दिनेछ ।

भोलिन्टियर फोर्स पार्टीको दायरामा रहँदैन । यसको गठनमा एमालेले पहलकदमी लिए पनि यो एक स्वतन्त्र संस्था हो । जसरी सेना या प्रहरीले आफूलाई उत्सर्ग गरेर देश र जनताको रक्षा गर्छन्, भोलिन्टियर फोर्सले पनि आफ्नो ज्यानको बाजी लगाएर जनताको रक्षा गर्छ, शान्ति सुव्यवस्था कायम गराउन योगदान दिनेछ ।

नेशनल भोलिन्टियर फोर्स समयको मागले जन्मिएको हो, देशको आवश्यकताले जन्मिएको हो । यसको जन्ममा नेकपा एमालेले पहलकदमी लियो तर यो सम्पूर्ण रुपमा जनताको संस्था हो । त्यसैले नेशनल भोलिन्टियर फोर्स चाँडै नै देशका हरेक पालिका, हरेक वडा र हरेक टोलमा पुग्नेछ । टोलटोलमा नागरिक स्तरमा समाजको रक्षा र नागरिकको सुरक्षा आजको आवश्यकता भएको छ । जनताको यो आवश्यकता पूरा गर्न जनताद्धारा नै निर्मित यो फोर्स जनताको मित्र हो भने देश जलाउने, देश ध्वस्त पार्ने तत्वहरुको सत्रु हो ।

ठाडै र प्रष्ट शब्दमा भन्ने हो भने भोलिन्टियर फोर्स हातमा दही जमाएर बस्ने छैन । यसले हातमा लाठी बोक्नेछ । त्यो लाठीले निर्माणको काम पनि गर्नेछ, त्यो लाठीले प्रतिरोधको काम पनि गर्नेछ । त्यो लाठीले समाज र देशका दुश्मनको टाउकोमा पनि बजार्नेछ, त्यो लाठीले जनताको रक्षा पनि गर्नेछ । यो अर्थमा भोलिन्टियर फोर्स देश र समाजको आजको आवश्यकता सम्बोधन गर्ने खालको हुनेछ । समाज भाँड्ने, समाजमा अशान्ति फैलाउने, देश जलाउने तत्वहरुको जगजगी भएको बेला भोलिन्टियर फोर्सले त्यसको प्रतिकार गर्ने स्वयंसेवी कार्य गर्नेछ । भोकमरी र महामारीको बेला स्वयंसेवकको भूमिका एउटा खालको हुन्छ । त्यस्तो खालको स्वयंसेवक भूमिका दयावीर र तुलसीमेहरहरुले गर्नुभयो । आज देशको मुख्य समस्या भोकमरी र महामारी होइन, आजको समस्या अशान्ति हो । समाजमा असामाजिक तत्वहरुले टाउको उठाएका छन् । त्यस्ता असामाजिक तत्वहरुको उठेको टाउको ढाल्नु नै आजका स्वयंसेवकहरुको मुख्य कर्म हो, मुख्य धर्म हो । यो कर्म र धर्म नेशनल भोलिन्टियर फोर्सले निर्वाह गर्ने अपेक्षा गर्नुपर्छ ।


1.6k
Shares

प्रतिक्रिया दिनुहोस !