एमालेमा केन्द्रीय कमिटीको आकार बढाउन गोविन्द थापाको जोडदार माग
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको आकार बढाउनुपर्ने माग व्यापक रुपमा उठेको छ । आम कार्यकर्ताको रायसुझाव कमिटीको आकार घटाउने होइन, बढाउने तर्फ देखिएको छ । यो बारेमा एमाले केन्द्रीय कमिटी सदस्य गोविन्द थापाले जोडदार आवाज उठाउनुभएको छ ।
गोविन्द थापाले सामाजिक सञ्जालमा लेखेर केन्द्रीय कमिटीको आकार बढाउनुपर्ने विचार राख्नुभएको हो । उहाँको विचार छ– ‘नेकपा एमालेले केन्द्रीय कमिटीको आकार घटाउनु ठीक होइन, बरु आकार बढाउनुपर्छ ।’
गत भदौको विधान महाधिवेशनको बेलामा केन्द्रीय कमिटीको आकार घटाउनु हुँदैन, बढाउनुपर्छ भनेर आफूले बारम्बार भनेको र त्यसपछि पनि भन्दै आएको गोविन्दको भनाई छ ।
गोविन्द लेख्नुहुन्छ– ‘केन्द्रीय कमिटीको संख्या बढाइनुका धेरैवटा कारण छन् । जिल्ला जिल्लामा विभिन्न कार्यक्रम हुँदा विभिन्न राजनीतिक दल सहभागी हुन्छन् । जिल्लामा लगभग समान स्तरको अर्काे पार्टीको नेताको हैसियत उसको पार्टीको केन्द्रीय कमिटीको हुन्छ, उही हैसियतको एमालेको नेताको हैसियत चाहिँ केन्द्रीय कमिटीको हुँदैन । यसले गर्दा जिल्ला गाउँमा अर्काे पार्टीको नेताले प्राथमिकता पाउँछ ।’
पहिलो महाधिवेशनले १५ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । त्यसबेला पार्टीको आकार सानो थियो, सदस्य थोरै थिए । ०४७ सालपछि पार्टीको आकार बढ्यो । केन्द्रीय कमिटी ३१ सदस्यीय भयो । पार्टीको सदस्य संख्या बढ्यो, देशको जनसंख्या पनि बढ्यो, त्यसपछि ०४९ सालमा भएको पाँचौं महाधिवेशनले ४४ सदस्यीय बनायो । ०५८ सालमा कमिटी ५७ सदस्यीय बन्यो । ०५९ सालमा सातौं महाधिवेशनले ६६ सदस्यीय बनायो । ०६५ सालमा आठौं महाधिवेशनले ११५ सदस्यीय बनायो । नवौं महाधिवेशनले १९४ बनायो । नेकपा एमालेको आकार निरन्तर बढ्यो । देशको जनसंख्या पनि बढ्यो । पार्टीको काम पनि बढ्यो । त्यसैले विगत महाधिवेशनहरुले केन्द्रीय कमिटीको आकार बढाएको तथ्य गोविन्दले प्रस्तुत गर्नुभएको छ ।
दशौं महाधिवेशनले कमिटी ३४५ सदस्यीय बनायो । अहिले हामी एघारौं महाधिवेशनमा छौं । अहिले हाम्रो कमिटीको संख्या ३५४ छ । बीचबीचमा आवश्यकता अनुसार, परिस्थिति अनुसार कमिटीमा नयाँ सदस्य थप्नुपर्ने हुन्छ । त्यसैले महाधिवेशनले बनाएको भन्दा कमिटीको आकार पनि बढ्ने गरेको छ भन्ने विचार राख्दै गोविन्द लेख्नुहुन्छ– ‘पार्टीमा काम धेरै छ । नेकपा एमालेले गाउँ टोलदेखि केन्द्रसम्म र विश्वभरी काम गर्नुपर्ने हुन्छ । पहिले प्रदेश भन्ने नै थिएन, यस्तो खालको स्थानीय तह पनि थिएन । प्रदेश र स्थानीय तहको व्यवस्था संविधानले गर्यो । राज्यका निकायहरु, राज्यका काम र फाँटहरु बढेको बढ्यै छ । त्यसैले केन्द्रीय कमिटीको आकार पनि बढाइएको हो । पार्टीमा विभिन्न जातजाति, भाषाभाषी, भौगोलिक क्षेत्र, वर्ग, लिंग, उमेर समूह, विभिन्न पेसागत फाँटको प्रतिनिधित्व गराउनका लागि पनि केन्द्रीय कमिटीको आकार बढाउने गरिएको हो । यो तथ्यलाई सबैले मनन गर्न आवश्यक छ ।’
यस बीचमा पार्टीको सदस्य संख्या र देशको जनसंख्या बढेको हुनाले पनि कमिटीको आकार बढाउँदै लगिएको विचार गोविन्दले राख्नुभएको छ–‘केन्द्रीय कमिटीमा भएकाहरुलाई बिना कारण विदा नदिने, बरु नयाँलाई थप्ने नीति एमालेले मात्र नभएर अन्य पार्टीहरुले पनि लिएको देखिन्छ ।’
ठूलो आकारको कमिटी बनेर केही नबिग्रँने, केन्द्रीय कमिटीले पार्टीको दैनिक काम गर्ने पनि होइन, नीतिगत काम मात्र गर्छ । दैनिक कार्य सञ्चालनको काम सानो आकारको सचिवालयले गर्ने उल्लेख गर्दै गोविन्दले यस्तो विचार राख्नुभएको छ–‘गाउँ जिल्लामा हाम्रो केन्द्रीय सदस्यको उपस्थितिले त्यो ठाउँमा पार्टीको ओज र वजन बढ्छ, हैसियत बढ्छ । यस्ता व्यवहारिक समस्या विभिन्न छन् । त्यस्ता समस्याहरुलाई समाधान गर्दै पार्टीलाई जनता माझ स्थापित गर्नुपर्ने भएकाले केन्द्रीय कमिटीको संख्या बढाउने गरिएको हो ।’
अब के गर्ने ? यस सम्बन्धमा गोविन्द लेख्नुहुन्छ– ‘एघारौं महाधिवेशले केन्द्रीय कमिटीको आकार बढाउनुको विकल्प छैन । अध्यक्ष केपी शर्मा ओली तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधि समक्ष म यी तथ्यहरुलाई ध्यानमा राखेर केन्द्रीय कमिटीको आकार बढाउने निर्णय गर्न हार्दिक आग्रह गर्दछु ।’












