२२ पुष २०८२, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कञ्चनपुर–१ बाट नेकपाको प्रत्यक्ष उम्मेदवारमा सिफारिस हुनुभएका तिलक भट्टको राजनीतिक यात्रा

प्रकाशित मिति :  २२ पुष २०८२, मंगलवार ०८:४२


कञ्चनपुर ।  कञ्चनपुर–१ बाट नेकपाको प्रत्यक्ष उम्मेदवारमा सिफारिस हुनुभएका तिलक भट्टको राजनीतिक यात्रा सामान्य छैन। उहाँकाे यात्रामाकुनै आकस्मिक अवसर, पदप्राप्तिको चाहना वा क्षणिक लाभको परिणाम नभएकाे देखिन्छ ।  उहाँकाे यात्रा निरन्तर संघर्ष, संगठन निर्माण, वैचारिक प्रतिबद्धता र जनताप्रतिको उत्तरदायित्वबाट निर्मित एउटा दीर्घकालीन र अनुशासित राजनीतिक अभ्यास हो।

तिलक भट्ट (जन्मः २०२७ साल जेठ ७ गते) नेपाली कम्युनिष्ट आन्दोलनमा दशकौँदेखि निरन्तर सक्रिय रहँदै आउनुभएका अनुभवी र प्रतिबद्ध कार्यकर्ता हुनुहुन्छ। उहाँको राजनीतिक जीवन स्वार्थ, सुविधा वा पदकेन्द्रित सोचबाट निर्देशित छैन। विचारप्रतिको दृढ अडान, संगठनप्रतिको निष्ठा र जनताको सेवाप्रतिको इमान्दार भावनाले उहाँको राजनीतिक यात्रालाई परिभाषित गरेको छ।

उहाँको कम्युनिष्ट चेतनाको प्रारम्भ २०४० सालतिर शिक्षक बराल सरको वैचारिक प्रभावबाट भएको देखिन्छ। त्यस समय सामाजिक यथार्थ बुझ्ने, अन्यायविरुद्ध प्रश्न उठाउने र परिवर्तनको पक्षमा उभिने चेतनाले उहाँलाई राजनीतितर्फ आकर्षित गर्‍यो। यही चेतनाको आधारमा विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभई अनेरास्ववियु (पाँचौँ) को तर्फबाट स्ववियु सदस्यमा निर्वाचित हुनुभयो। पञ्चायती निरंकुश व्यवस्थाविरुद्ध सचेत रूपमा उभिएको युवाको त्यो कदम लोकतान्त्रिक चेतनाको स्पष्ट अभिव्यक्ति थियो। यही चेतनाले २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा उहाँलाई सक्रिय भूमिकामा उभ्यायो, जहाँ सडक संघर्ष कम्युनिष्ट कार्यकर्ताको राजनीतिक संस्कारकै अभिन्न हिस्सा रह्यो।

२०४७ सालपछि उहाँको राजनीतिक यात्रा संगठनात्मक जिम्मेवारीतर्फ उन्मुख भयो। श्रीपुर, लक्ष्मीपुर र शंकरपुर क्षेत्र समेटिएको इलाका संगठन कमिटी सदस्यका रूपमा पार्टी विस्तार र जनसम्पर्कमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभयो। यही अवधिमा प्रगतिशील राष्ट्रिय युवा संघ (प्ररायु संघ) लक्ष्मीपुर गाउँ कमिटीको अध्यक्षको जिम्मेवारी सम्हाल्दै युवालाई संगठित गर्न, वैचारिक रूपमा प्रशिक्षित गर्न र आन्दोलनमा सक्रिय बनाउन उहाँ केन्द्रित रहनुभयो।

२०४८ सालको आम निर्वाचनमा पनि उहाँ सक्रिय सहभागिताका साथ पार्टी अभियानमा समर्पित हुनुभयो। यही वर्ष २०४८/०९/०५ गते नेकपा (एमाले) को संगठित सदस्यता प्राप्त गर्नु उहाँको राजनीतिक यात्राको औपचारिक र निर्णायक मोड बन्यो। त्यसपछि २०४९ मा लक्ष्मीपुर गाउँ विकास समिति तथा कञ्चनपुर जिल्ला विकास समितिको निर्वाचन प्रक्रियामा सक्रिय रहँदै स्थानीय तहमा पार्टीको उपस्थिति सुदृढ बनाउन उहाँले महत्वपूर्ण योगदान दिनुभयो।

२०५१ सालको मध्यावधि निर्वाचनमा पनि उहाँ उत्तिकै सक्रिय रहनुभयो। २०५१ देखि २०६१ सम्म साविक लक्ष्मीपुर गाउँ कमिटीको संस्थापक सचिवका रूपमा काम गर्नुभयो, जुन संगठन निर्माणमा उहाँको दीर्घकालीन योगदानको महत्वपूर्ण उदाहरण हो। यही अवधिमा २०५१ मंसिरमा नेकपा (एमाले) जिल्ला सल्लाहकार सदस्यको जिम्मेवारी प्राप्त गर्नु पार्टीभित्र उहाँको अनुभव, निरन्तरता र परिपक्वताको औपचारिक मान्यता थियो।

उहाँको योगदान पार्टी राजनीतिमा मात्र सीमित नरहेके पाइन्छ । २०५१ देखि २०६३ सम्म लक्ष्मी माध्यमिक विद्यालय, जवदियाको व्यवस्थापन समिति सदस्यका रूपमा शिक्षा क्षेत्रको सुधारमा उहाँले भूमिका निर्वाह गर्नुभयो। त्यस्तै, २०५३ मा पुष्पलाल स्मृति प्राथमिक विद्यालय, खिरियाको संस्थापक तथा व्यवस्थापन समिति अध्यक्ष बन्नु सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतारिएको उदाहरण हो।

२०५४ साल उहाँको राजनीतिक यात्राको अर्को महत्वपूर्ण मोड बन्यो। साविक लक्ष्मीपुर गाउँ विकास समितिको उपाध्यक्ष पदमा सर्वाधिक मतसहित निर्वाचित हुनुभयो, जुन जनतासँगको भरोसा र स्वीकार्यताको ठोस प्रमाण हो। यही वर्ष नेपालगञ्जमा सम्पन्न नेकपा (एमाले) को छैटौँ महाधिवेशनमा स्वयंसेवकका रूपमा खटिनु पार्टीप्रतिको निष्ठा र संगठनात्मक अनुशासनको परिचायक बन्यो।

२०५५ मा प्ररायु संघ कञ्चनपुरबाट राष्ट्रिय सम्मेलन प्रतिनिधि बन्नुभयो। साथै पिपुल्स भोलिन्टियर्स महाकाली निर्देशकको भूमिका निर्वाह गर्नुभयो र २०५६ मा केन्द्रीय स्कुल विभागद्वारा सञ्चालित महाकाली अञ्चलस्तरीय प्रशिक्षणमा सहभागिता जनाउनुभयो। यी सबै अनुभवले उहाँको वैचारिक स्पष्टता र संगठनात्मक क्षमता थप सुदृढ बनायो। २०५७ देखि २०६५ सम्म निर्वाचन क्षेत्रीय समन्वय कमिटी सदस्यका रूपमा पार्टी–जनसम्पर्क र निर्वाचन व्यवस्थापनमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।

२०६५ देखि २०७७ सम्मको अवधि उहाँको राजनीतिक जीवनको सबैभन्दा कठिन चरण रह्यो। आन्तरिक पार्टी गुटबन्दी र संरचनागत अवरोधका कारण औपचारिक जिम्मेवारीबाट टाढा रहनुपरे पनि सिद्धान्त, विचार र आन्दोलनप्रतिको निष्ठामा उहाँले कहिल्यै सम्झौता गर्नुभएन। जिम्मेवारी नहुँदा पनि आन्दोलनलाई धोका नदिने अडान नै उहाँको राजनीतिक चरित्रको मूल पहिचान बन्यो। आन्दोलनप्रतिको इमान्दारीको मूल्यांकन एक दिन अवश्य हुनेछ भन्ने विश्वाससहित उहाँ धैर्यपूर्वक प्रतीक्षा गर्नुभयो।

करिब बाह्र वर्षपछि, २०७८ मा उहाँ पुनः सक्रिय राजनीतिमा फर्कनुभयो। २०७८ देखि २०८१ सम्म नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यका रूपमा प्रदेशस्तरीय राजनीतिमा जिम्मेवारी वहन गर्नुभयो। साथै सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको स्वकीय सचिवका रूपमा कार्य गर्दै नीतिगत र कार्यकारी अनुभव पनि हासिल गर्नुभयो।

सामाजिक क्षेत्रमा पनि उहाँको सक्रियता निरन्तर रह्यो। २०७८ मा विराट सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षका रूपमा कार्य गर्दै नागरिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सेवामूलक नेतृत्व प्रदान गर्नुभयो। २०८१ असारमा नेकपा (एस) को दशौँ महाधिवेशन प्रतिनिधिमा चयन हुनु पार्टीभित्र उहाँको निरन्तर सक्रियता र भरोसायोग्य भूमिकाको प्रमाण हो। हाल २०८१–२०८२ मा नेकपा (एस) केन्द्रीय लेखा परीक्षण आयोग सचिवालय सदस्य (सुदूरपश्चिम प्रदेश संयोजक) का रूपमा पार्टीभित्र पारदर्शिता, अनुशासन र संस्थागत सुदृढीकरणमा उहाँ सक्रिय योगदान दिइरहनुभएको छ। पछिल्लो समय कम्युनिष्ट शक्तिहरूको एकतापछि गठित नेपाली कम्युनिष्ट पार्टीका उहाँ सक्रिय सदस्य हुनुहुन्छ।

आज दिनमा तिलक भट्ट नेपाली कम्युनिष्ट आन्दोलनमै निरन्तर क्रियाशील रहनुभएको छ। विद्यार्थी राजनीतिदेखि स्थानीय सरकार, संगठन निर्माणदेखि प्रदेशस्तरीय जिम्मेवारीसम्म फैलिएको उहाँको राजनीतिक यात्राले स्पष्ट रूपमा देखाउँछ—कम्युनिष्ट राजनीति पद र सत्ताको मात्र खोजी होइन भन्ने उहाँले उदाहरण प्रश्तुत गर्नुभएकाे छ । उहाँकाे पार्टीमा निरन्तर संघर्ष, संगठन र जनताप्रतिको उत्तरदायित्वको अभ्यास सबैकाे लागि प्रेरणा बनेकाे छ । ।


0
Shares

प्रतिक्रिया दिनुहोस !