१७ फाल्गुन २०८२, आइतबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अध्यक्ष ओलीको भिडियो सन्देशः ‘अब देश पहिले भन्ने समय आएको छ’

प्रकाशित मिति :  1 March, 2026 12:40 pm


काठमाडौं  ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदातामाझ भिडियो सन्देशमार्फत् देशप्रतिको उत्तरदायित्व र राष्ट्रिय स्वाभिमानको विषयमा स्पष्ट धारणा राख्नुभएको छ।

उहाँले आफ्नो सन्देशमा भन्नुभयो, ‘अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ। तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा हो कि राष्ट्रको भविष्य जे भए पनि भन्ने पक्षमा? यदि यसबेला तपाईंले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन भने, इतिहासले होइन, तपाईं आफैले आफैँलाई कहिल्यै माफ गर्ने छैन।’

ओलीले थप्नुभयो, ‘म इतिहासले धिक्कार्ने कुरा आफैले देख्न नपाए पनि, जीवनको अन्तिम मोडमा आफूलाई सोध्दा – ‘मैले त्यसबेला बोल्नुपथ्र्यो कि पर्दैनथ्यो?’ – त्यसको जवाफ दिने नैतिक साहस तपाईंमा बाँकी रहोस्। मैले राष्ट्रको पक्षमा निर्णय गरेँ भन्ने आत्मसन्तुष्टि तपाईंमा रहिरहोस्।’

उहाँले प्रतिनिधिसभा विघटन र सरकार अपदस्थ गराउने विषयलाई पनि स्मरण गराउँदै भन्नुभयो, ‘आज तपाईंले ठण्डा दिमागले एउटा प्रश्नको जवाफ दिनुपर्नेछ – यो देश हामीले बचाउने कि नबचाउने?’

ओलीले आफूमाथि थुप्रै भ्रम फैलिएको स्वीकार गर्दै केही कमजोरी पनि रहेको स्वीकार गर्नुभयो। तर, उहाँले जोड दिनुभयो, ‘मैले यस देशको अखण्डता, स्वाभिमान र राष्ट्रियताको सवालमा कसैसँग सम्झौता गरेको छैन र गर्दिनँ पनि।’

उहाँले आफ्नो जीवन देशको निम्ति लड्न समर्पित भएको र ‘अब तपाईंले पनि देश पहिले भन्ने दिन आएको छ’ भन्नुभयो। उहाँले स्पष्ट पार्नुभयो, ‘देश पहिले भनेको संविधान र नियम पहिले, भूमि र जनता पहिले भन्ने हो। सार्वजनिक सम्पत्ति पहिले भन्ने हो। सिंहदरबार, अदालत, संसद्, सडक, सरकारी कार्यालय, प्रहरी चौकी, सुरक्षा निकाय – यी सबै तपाईंको कर र भरोसाबाट बनेका हुन्। जब यी जल्छन्, तपाईंको भरोसा मात्र होइन, सपना पनि जल्छ।’

ओलीले राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई प्राथमिकता दिँदै भन्नुभयो, ‘आफ्नो माटो, आफ्नो सीमा, आफ्नो पहिचानमा गर्व गर्ने शक्ति नै हाम्रो आत्मबल हो। त्यसैले आज हामीलाई आफ्नो स्वाभिमान नझुक्ने ग्यारेन्टी चाहिएको छ, त्यसको लागि देश पहिले भन्ने भावना चाहिएको छ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !