देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयनमा ढिलाइप्रति आपत्ति
सुनसरी । सुनसरीको देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न तथा पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौता अविलम्ब कार्यान्वयन गर्न विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय जनप्रतिनिधिले माग गरेका छन्।
सोमबार जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा सरकारसँग भएको लिखित सम्झौतामा मृतकलाई शहीद घोषणा गर्ने, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारी दिने तथा घटनाको निष्पक्ष छानबिन सात दिनभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको भए पनि लामो समय बितिसक्दा पनि त्यसको कार्यान्वयन नभएको भन्दै गम्भीर आपत्ति जनाइएको छ।
विज्ञप्तिमा देवानगञ्ज घटनाका मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहता, सिरहाको गोलबजार घटनाका मृतक गणेश यादव तथा उपचारका क्रममा निधन भएका सुनसरीका रविन्द्र मेहतालाई तत्काल शहीद घोषणा गर्न माग गरिएको छ।
काठमाडौंमा उपचारका क्रममा निधन भएका रविन्द्र मेहताको मृत्यु भएको एक साता बितिसक्दा पनि शवको अन्त्येष्टि हुन नसकेको अवस्थाप्रति समेत विज्ञप्तिमा दुःख व्यक्त गरिएको छ। मृत्युपश्चात् सम्मानपूर्वक अन्त्येष्टि गर्न पाउने परिवारको अधिकारसमेत प्रभावित हुने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको उल्लेख गरिएको छ।
सरकारको ढिलासुस्तीले पीडित परिवारको पीडा र जनआक्रोश थप बढ्दै गएको तथा यसले अप्रिय र गम्भीर परिस्थिति निम्त्याउन सक्ने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ।
संयुक्त विज्ञप्तिमा यसअघि जारी गरिएको ८ बुँदे मागसहितको वक्तव्य तथा १५ गते बिहान प्रधानमन्त्रीसँग भएको छलफललाई समेत सरकारले गम्भीरतापूर्वक स्मरण गर्नुपर्नेमा जोड दिइएको छ।
‘सम्झौता कुनै आश्वासन वा राजनीतिक वक्तव्य नभई राज्यले गरेको लिखित प्रतिबद्धता हो’ भन्दै विज्ञप्तिमा सम्झौतामा उल्लेख गरिएका क्षतिपूर्ति, रोजगारी, राहत तथा अन्य प्रतिबद्धता तत्काल कार्यान्वयन गर्न सरकारसँग आग्रह गरिएको छ।
साथै, पीडितको धैर्यको थप परीक्षा नलिन र परिस्थितिलाई जटिल बन्न नदिन सरकारलाई आग्रह गर्दै तत्काल न्यायपूर्ण समाधानको बाटो नखोलिए सरकारको गैरजिम्मेवार रवैयाविरुद्ध शान्तिपूर्ण तथा सशक्त लोकतान्त्रिक संघर्ष अघि बढाउन बाध्य हुने चेतावनी दिइएको छ।
विज्ञप्तिमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतो, राष्ट्रिय निर्माण दलका समिम मिया अन्सारी, देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, हरिनन्दन मेहता तथा देवानगञ्ज गाउँपालिका–६ का अध्यक्षको हस्ताक्षर रहेको छ।














