२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बल्ल संगठन गर्न पाइने भयो : कैलाश ढुंगेल

प्रकाशित मिति :  २५ फाल्गुन २०७७, मंगलवार ०६:०६


काठमाडौं । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं एमाले नेता कैलाशप्रसाद ढुंगेलले अब पार्टी संगठनले गति लिने बताउनुभएको छ ।

मंगलबार रामेछापको सदरमुकाम मन्थलीमा नेकपा एमालेको बोर्ड राख्दै मन्त्री ढुंगेलले तीन वर्षदेखि ठप्प भएको पार्टीका सबै काम अब अघि बढ्ने बताउनुभयो । ‘तीन वर्ष भयो, संगठनका कुनै काम भएनन्, बैठक समेत भएनन्, अब बल्ल संगठनको काम गर्न पाइने भयो’, ढुंगेलले भन्नुभयो ।

झण्डै तीन वर्ष पार्टीका भेला बैठक समारोह केही गर्न नसकिएकोले पार्टी गतिविधि ठप्प भएको उहाँको भनाइ छ । सर्वोच्च अदालतको फैसला पछि नेकपा एमाले ब्युँतिएकोले अब सबै मिलेर पार्टीको झण्डालाई उठाउने उहाँले बताउनुभयो ।

मदन भण्डारीको विचारको आलोकमा अहिले पनि एक नम्बरमा रहेको नेकपा एमालेलाई अझ बलियो बनाउने उहाँले बताउनुभयो । पार्टीलाई समस्या परेको बेलामा लाग्ने नेता कार्यकर्ताको उच्च सम्मान गर्नुपर्ने पनि उहाँको भनाइ छ ।

पार्टी बनाउने भनेको पार्टीका समग्र योजना बनाउने भएको ढुंगेलले बताउनुभयो । पार्टीलाई आर्थिक र सामाजिक रुपमा पनि सवल बनाउन उहाँले आग्रह गर्नुभयो ।

नेकपा स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म पुगेपछि देशभरि विकासको नयाँ वातावरण सिर्जना गरेको ढुंगेलले बताउनुभयो । तर यसबाट औडाहा भएर प्रचण्ड समूहले पार्टी नै फुटाएर गएको उहाँको आरोप छ । ‘पार्टीले गरेको कामलाई अंगालो मार्न सक्नुभएन, गरेको कामलाई पनि गरेको भन्नसक्नु भएन, केपी ओली भन्दा शेरबहादुर ठीक भन्ने अवस्था बन्यो’, ढुंगेलले भन्नुभयो ।

उहाँले एमाले त छँदै छ, अरु मान्छेलाई पनि एमालेमा समेट्ने बताउनुभयो । केपी ओलकै नेतृत्वमा सीके राउतले हतियार बिसाएको र विप्लव शान्तिपूर्ण राजनीतिमा आएको उहाँले स्मरण गराउनुभयो ।

प्रचण्ड समूह छुट्टिए पछि नेकपाले बनाएको रामेछापका पार्टी अध्यक्ष आनन्द श्रेष्ठ र सचिव पुरुषोतम कडेरिया नै अहिलेको नेकपा एमालको आधिकारिक अध्यक्ष र सचिव भएको पनि उहाँले प्रष्ट पार्नुभयो । ‘पार्टीभित्र छलफल गरेर केहि गरेछ भने बेग्लै हो, नभए हाम्रो अहिले भएको उहाँहरु नै हो’, ढुंगेलले भन्नुभयो ।

तत्कालीन नेकपा एमाले रामेछापको अध्यक्षमा शान्तिप्रसाद पौडेल र सचिव आनन्द श्रेष्ठ हुनुहुन्थ्यो । पौडेल प्रचण्ड समूहमा लागेपछि उहाँलाई हटाएर आनन्द श्रेष्ठलाई अध्यक्ष र पुरुषोत्तम कडेरियोलाई सचिव बनाइएको थियो ।

नेकपाको बोर्ड हटाएर नेकपा एमालको बोर्ड राख्ने कार्यक्रममा यस अघि प्रचण्ड समूहमा लाग्नु भएका वाग्मती प्रदेशका सांसद् समेत रहनुभएका एमालेका पूर्वअध्यक्ष शान्तिप्रसाद पौडेल लगायत सो समूहमा लागेका पूर्वएमालेका नेता कार्यकर्ता समेत उपस्थित भएका थिए ।

मन्त्री ढुंगेलले मंगलबारै नेकपा एमाले मन्थली नगरकमिटीको कार्यालय समेत उद्घाटन गर्नुभएको छ । नेकपाको विवादका कारण यस अघि पार्टी नगरकमिटी कार्यालय स्थपना हुनसकेको थिएन ।


0
Shares

प्रतिक्रिया दिनुहोस !