लुम्बिनी प्रवर्द्धनका लागि चैत २३ र २४मा अन्तराष्ट्रिय शान्ति महोत्सव आयोजना हुने
काठमाडौँ । लुम्बिनीको प्रवर्द्धनका लागि अन्तराष्ट्रिय शान्ति महोत्सव आयोजना गरिने भएको छ ।
आयोजना नेपाल पर्यटन बोर्ड, नेपालका लागि चीनको दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पीक कमिटी र प्रदेश खेलकुद परिषद् नेपालले गर्न लागेको हो ।
लुम्बिनीको संस्कृतिक र ऐतिहासिक पक्षलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न म्याराथन दौड, ध्यान र सांस्कृतिक कार्यक्रमसहित प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय मेला आयोजना गर्न लागिको आयोजकले बताएको छ । नेपाल पर्यटन बोर्ड, नेपालका लागि चीनको दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पीक कमिटी र प्रदेश खेलकुद परिषद् नेपालले यही चैत २३ र २४ गते ‘लुम्बिनीमा शान्ति महोत्सव आयोजना गर्न लागेका हुन् ।
महोत्सवमा लुम्बिनी अन्तरराष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तरराष्ट्रिय ध्यान दिवस र लुम्बिनी अन्तरराष्ट्रिय कन्सर्ट गरी तीनवटा महत्वपूर्ण कार्यक्रम हुने छ । लुम्बिनीलाई विश्वव्यापी रूपमा ‘ विश्व शान्ति र संस्कृतिको पर्यटकीय गन्तव्य’का रूपमा स्थापित गर्ने अपेक्षा रहेको आयोजकको भनाइ छ ।
लुम्बिनीको थप ब्राण्डिङ, नेपालको पर्यटन प्रवर्द्धन र चीनलगायत विश्वका विभिन्न मुलुकसँग नेपालको मैत्रीपूर्ण आदानप्रदान बढाउन लुम्बिनीमा साँस्कृतिक र खेलकुदसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको चिनियाँ राजदूतावासको काउन्सिलर वांग सिनले पत्रकार सम्मेलनमा बताउनु भयो ।
शुक्रबार विहान शाक्यमुनि बुद्धको जन्मस्थल मायादेवी मन्दिर परिसरमा करिब दुई घण्टा अवधिको लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान शिविर सञ्चालन हुनेछ । ध्यानका लागि करिब सय जना भिक्षुभिक्षुणी र ४ सय जना सर्वसाधारण गरी पाँच सय जनाको सहभागिता हुने अपेक्षा आयोजकको छ ।
त्यसैगरी शनिबार विहान लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको हुनेछ । प्रतियोगिताअन्तर्गत पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ४२ किलोमीटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दुरीको हाफ म्याराथन दौड गरिने छ ।
पाँच किलोमिटरको रोड रेस र तीन किलोमिटरको बाकाथन पनि प्रतियोगितामा समावेश गरिएको छ । दौड र वाकथ प्रतियोगितामा ६ सय जनाको सहभागिता हुने अपेक्षा गरिएको छ ।
लुम्बिनी स्क्वायर थियटरमा शनिबार साँझ लुम्बिनी पिस कन्सर्टको रुपमा मनोरञ्जनात्मक प्रस्तुती देखाइने छ । कन्सर्टमा चिनियाँ क्लासिक गीत, बुद्धधर्मसँग सम्बन्धित संगीत र नेपाली लोक गीतलगायतका सांस्कृतिक प्रस्तुति समावेश गरिने छन् ।
साँस्कृतिक प्रस्तुतिका लागि चिनियाँ गायिका उलान थुया र कलाकार लु निङ, नेपाली गायिका आनि छोइङ् डोल्मा र लुम्बिनीकास्थानीय कलाकारले प्रस्तुति दिनेछन् । करिब २ हजार दर्शकले सो सांस्कृतिक कार्यक्रम हेर्ने अनुमान गरिएको छ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, लुम्बिनी कोषका सदस्यसचिव सानुराजा शाक्य र नेपाल पर्यटन बोर्डकी कामु प्रमुख कार्यकारी अधिकृत नन्दिनी थापाले लुम्बिनीमा आयोजना गरिने शान्ति मेलाले ध्यान, धर्म, संस्कृति, खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रियरूपमा नेपालको पर्यटन प्रवर्द्धन गर्न ठूलो मद्दत पुग्ने उल्लेख गरे । सो अवसरमा विभिन्न विधाका कार्यक्रममा लागि तयार पारिएका फरक फरक लोगोहरू पनि सार्वजनिक गरिएको थियो ।