गाजा युद्धले विश्व अर्थतन्त्रमा भावनात्मक प्रभाव परेको साउदी अरबको भनाइ
साउदी । इजरायल र हमासबीच जारी युद्धले विश्वव्यापी आर्थिक भावनामा पारेको असरबारे सङ्केत गर्दै साउदी अरबले क्षेत्रीय ’स्थिरता’का लागि आइतबार आह्वान गरेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, प्यालेस्टाइनी नेता र इजरायल र हमासबीच युद्धविरामका लागि मध्यस्थता गर्ने प्रयास गरिरहेका अन्य देशका उच्च पदस्थ अधिकारीहरू विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबको राजधानी रियादमा हुने शिखर सम्मेलनको अतिथि सूचीमा छन् ।
विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) को दुई दिने विशेष बैठकको पहिलो प्यानल छलफलमा साउदी अरबका अर्थमन्त्री मोहम्मद अल–जदानले गाजा युद्धसँगै युक्रेन र अन्य स्थानमा भएको द्वन्द्वले आर्थिक ’मुड’मा ‘ठूलो दबाब’ सिर्जना गरेको बताउनुभएको छ ।
जदानले भन्नुभयो, देशमा शान्ति कायम हुनु र जनतामा आशाको विकाश हुनु आवश्यक छ । हाम्रो प्रयास अरब क्षेत्रसहित विश्व समुदायमा तनाव कम गरी नागरिकहरूलाई आशाको सुनिश्चितता गराउनुमा रहनुपर्छ ।
उहाँले पछिल्लो समय अरब क्षेत्रमा देखिएको राजनीतिक अस्थिरतासँगै फैलिएको निराशाले अरब समुदायलाई चोट परेको बताउँदै अरब क्षेत्रका नेताहरूलाई यहाँको क्षेत्रिय शान्ति र सद्धभावका लागि एकजुट हुन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, यस क्षेत्रमा स्थिरता को खाँचो छ ।
गत अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकू समूह हमासले दक्षिणी इजरायलमाथि गरेको अकल्पनीय आक्रमणपछि गाजामा इजरायलद्वारा युद्ध सुरु भएको थियो ।
-रासस