९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बङ्गुरपालनबाट मनग्य आम्दानी

प्रकाशित मिति :  ५ असार २०८१, बुधबार १६:४५


घोराही(दाङ) । घोराही उपमहानगरपालिका–१७ गैरागाउँका ठाकुरप्रसाद चौधरीको मुख्य पेसा बङ्गुरपालन हो । उहाँले यो व्यवसाय गरेको पनि १२ वर्ष भइसक्यो । स्वदेशमै बसेर केही गर्नुपर्छ भन्ने सोचका साथ कृषि पेसामा बङ्गुरपालन रोजेको उहाँ बताउनुहुन्छ । उमेरले ३५ वर्ष पुग्नुभएका ठाकुरले रमन बङ्गुर तथा कृषि फर्ममार्फत व्यवसाय गर्दै आउनुभएको छ ।

रोजगारीका लागि ठूलो लगानीमा विदेश गएर अर्काको देशमा पसिना बगाउनुभन्दा स्वदेशमै आत्मनिर्भर बन्नका लागि व्यवसाय गर्दै आएको र आम्दानी पनि राम्रो हुँदै गएको उहाँले बताउनुभयो । ठूलो लगानी गरेर विदेसिनुभन्दा सोही खर्चमा मेहनत गरे राम्रो आम्दानी हुन्छ, उहाँले भन्नुभयो, पैसा पनि राम्रो कमाइने र आफैँ मालिक पनि बन्न सकिन्छ ।

उहाँको फार्ममा अहिले साना ठूला गरेर ९० बङ्गुर रहेका छन् । झण्डै ५० साना पाठापाठी, ठूला माउ र बेलन ४० छन् । एक वर्षसम्म पहिले बजारीकरणमा केही समस्या भए पनि अहिले भने विस्तारै सहज हुँदै गएको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, मेरो आफ्नै पसल पनि रहेको छ, ठूला बङ्गुरलाई पसलमै काटेर मासु बेच्ने गरेको र साना पाठापाठीलाई एक महिना पुगेपछि बेच्दै आएको छु, जसका कारण बजारीकरणको त्यति समस्या भएको छैन् । किसान ठाकुरले पाठापाठीलाई रु पाँच हजारका दरले बिक्री पनि गर्दै आउनुभएको छ ।

मासु भने उहाँले तीन सय ८० किलोका दरले दैनिक ८० देखि एक सय २० किलो बिक्री गर्दै आएको बताउनुहुन्छ । बङ्गुरपालन व्यवसायबाट उहाँले वार्षिक ६/७ लाख बचत गर्न सफल भएको बताउनुभयो ।

सुरुमा घोराहीमा रहेको ग्रामीण महिला उत्थान केन्द्रबाट रु ५० हजार ऋण लिएर १० वटा पाठापाठीबाट सुरु गरेको व्यवसायले सोचेभन्दा राम्रो प्रतिफल दिँदै गएको उहाँको भनाइ छ । उहाँले फार्ममा र पसलमा गरेर दुई स्थानीय युवालाई रोजगारीसमेत दिनुभएको छ ।

उहाँले व्यवसायका लागि १८ कठ्ठा जग्गा भाडामा लिएको र त्यसको भाडा वाषिक रु एक लाख तिर्ने गरेको बताउनुभयो । विभिन्न समयमा बङ्गुरमा लाग्ने रोगका कारण किसानलाई समस्या पर्ने भए पनि यस व्यवसायको सम्भावना आगामी दिनमा राम्रो रहेको उहाँको अनुभव छ । अन्य कुनै रोजगार नभएकाले यसैलाई निरन्तरता दिँदै जाने उहाँ बताउनुहुन्छ ।

कृषिलाई व्यावसायिक रुपमा अगाडि बढाएका किसानलाई राज्यले पनि विभिन्न सहयोगका कार्यक्रम ल्यायो भने अझ सहज हुने उहाँको भनाइ छ । अन्य युवालाई पनि धेरै रकम खर्चेर विदेश जानुभन्दा स्वदेशमै कुनै पनि व्यवसायमा जोडिएर जीविकोपार्जन गर्न उहाँ आग्रह गर्नुहुन्छ ।

 

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !