कम्पोष्ट मलका लागि ढैंचाखेती
प्रकाशित मिति : ९ असार २०८१, आईतवार १५:०१
जानकी (बाँके) । बाँकेको खजुरा गाउँपालिका–७ सिमालघारीस्थित धनबहादुर योगीले कम्पोष्ट मलका लागि ढैँचाखेती गर्नुभएको छ । हरियो मलका रुपमा प्रयोग हुने कम्पोष्ट मलका लागि उहाँले विगत पाँच वर्षदेखि एक बिगाहा जग्गामा ढैँचाखेती गर्दै आउनुभएको हो ।
३५ देखि ४० दिनमा मलको रुपमा तयार हुने ढैँचाको बोटले माटोमा नाइट्रोजन स्थिरीकरण गर्नाका साथै प्राङ्गारिक पदार्थको मात्रा थप्ने हुँदा प्रत्येक वर्ष यो खेती गर्ने गरेको उहाँले बताउनुभयो । यो लगाएपछि डिएपी मल लगाउनु पर्दैन, उहाँले भन्नुभयो, वर्षामा किसानलाई चाहिने भनेकै युरिया र डिएपी हो तर यो बेलामा समयमै मल पाइँदैन । त्यसको साटो ढैँचाले काम गर्ने हुँदा मैले यही खेती गर्ने गरेको छु ।
एक कट्ठामा तीन किलो डिएपी मल प्रयोग हुने ठाउँमा ढैँचाको बीउ डेढदेखि दुई किलो भए पुग्ने धनबहादुर योगीले बताउनुभयो । उहाँले यो वर्षदेखि ढैँचाको बीउको मूल्य बढेको जानकारी दिनुभयो । अघिल्ला वर्षहरुमा ढैँचाको बीउ खरिद गर्दा मैले रु ६० देखि ७० रुपैयाँसम्म तिरेको थिएँ, उहाँले भन्नुभयो, यो वर्ष एक केजी ढैँचाको बीउको भाउ रु एक सय पुगेको छ ।
धनबहादुर जस्तै सोही गाउँका गुमानसिंह गिरीले पनि चार वर्षदेखि १२ कट्ठा जग्गामा ढैँचाखेती गर्दै आउनुभएको छ । ढैँचाखेती गर्न थालेदेखि धान उत्पादन बढेको गुमान सिंहको अनुभव छ । धानको बीउका लागि यो असाध्यै राम्रो मल रहेछ,उहाँले भन्नुभयो, यस्को प्रयोग गर्न सुरु गरेदेखि धान बाली सप्रिएको त छँदैछ उब्जनी पनि बढेको छ ।” ढैँचा कम्पोष्ट मल भएको हुनाले स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।
धनबहादुर र गुमान सिंह जस्तै सोही गाउँका टेकबहादुर योगीले पनि आफ्नो १६ कट्ठा जग्गामा विगत छ वर्षदेखि ढैँचाखेती गर्दै आउनुभएको छ । ढैँचाको प्रयोगले जग्गालाई उर्वर बनाउनुका साथै धान उत्पादन बढेको उहाँले बताउनुभयो । सरकारद्वारा प्रदान गरिने रासायनिक मल समयमा नपाइने झन्झटले ढैँचाखेतीप्रति गाउँका किसानको आकर्षण बढेको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमदले माटो सुधारका लागि ढैँचाखेती निकै प्रभाकारी भएको बताउनुभयो । धान बालीलाई आवश्यक पर्ने कूल नाइट्रोजनको २५ प्रतिशत भाग ढैँचाखेतीबाट परिपूर्ति गर्ने हुँदा यसप्रति किसानको आकर्षण बढ्दै गएको उहाँको भनाइ छ । माटोको सन्तुलन बिगँ्दै् गइरहेको अवस्थामा ढैँचाखेती किसानका लागि फाइदाजनक भएकाले यस वर्ष केन्द्रले पाँच क्विन्टल ढैँचाको मल वितरण गरेको प्रमुख अहमदले जानकारी दिनुभयो ।
नेपालमा पाइने ढैँचाका जातहरु सेस्बानिया रोस्ट्राटा र सेस्बानिया क्यानाविना छन् । यस्लाई धान रोप्नु भन्दा ४५ दिनअगाडि ४० केजी प्रतिहेक्टर वा प्रति रोपनी दुई केजीका दरले खेत खनजोत गरी छर्नु पर्दछ ।
यीमध्ये सेस्बानिया रोस्ट्राटामा काण्ड र जरा दुवैमा वायुमण्डलीय नाइट्रोजन सोसेर लिन सक्ने ‘राइजोबियम ब्याक्टेरिया’ भएको गिर्खाहरु हुन्छन् । जस्ले नाइट्रोजन स्थिरीकरणको मात्रा बढाउँछ । ढैँचा लगाएको छ देखि सात हप्ता (फूल फल्ने अवस्था) पछि खेतमा पानी राखी बोटलाई जोत्न सजिलो हुनेगरी काट्ने र जोतेर माटोमुनि पारेर दबाएर राख्नुपर्दछ । यसरी सडाएर राखेको हरियो मल ढैँचाले ८० देखि एक सय ५० केजी नाइट्रोजन प्रतिहेक्टर स्थिरीकरण गर्न सक्ने विज्ञहरुको भनाइ छ ।
-रासस
0
Shares