प्रधानमन्त्रीलाई सुरक्षा खतरा भएकै हो ? स्पष्ट जवाफ चाहियो – दिलेन्द्र बडु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा खतराको विषय प्रतिनिधि सभा उठेको छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद् दिलेन्द्रप्रसाद बडुले सो विषय उठाउनु भएको हो । प्रधानमन्त्री ओलीले केही दिनअघि आफूमाथि सुरक्षा खतरा रहेको र कुनै पनि समयमा भौतिक आक्रमण हुने बताउनु भएको भन्दै बडुले त्यसको जवाफ दिन ध्यानाकर्षण गराउनुभयो ।
‘यो कति यर्थाथ हो ? उहाँको सुरक्षाका लागि गृह मन्त्रालयले के–के गरिरहेको छ ? सदन चलिरहँदा आजसम्म प्रधानमन्त्री नआउनुको कारण सुरक्षा खतरा हो कि नैतिक खतरा महशुस गर्नु भएको हो ? यसको स्पष्ट जवाफ दिनुपर्छ ?’– बडुले प्रश्न गर्नुभयो ।
यदि प्रधानमन्त्रीमाथि सुरक्षा खतरा छैन भने यस्ता बनाबटी कुरा गर्न नहुने बडुले बताउनुभयो । ‘सुरक्षा खरता छैन भने आफ्नै देशको सुरक्षामाथि यस्तो प्रश्न उठ्ने गैरजिम्मेवार र बनावटी कुरा किन गर्नुभयो ? प्रधानमन्त्री, गृहमन्त्री वा सरकारको प्रवक्ताले स्पष्ट जानकारी दिनुपर्छ’– बडुले भन्नुभयो ।
-आईएनए न्युज