स्थानीय उत्पादन प्रवर्द्धन गर्न बेनीमा स्थापित कोसेलीघर सञ्चालनमा
प्रकाशित मिति : १७ असार २०८१, सोमबार १३:०७
म्याग्दी । म्याग्दी भित्रने प्रमुख नाका कालीपुलमा स्थानीय उत्पादनको बिक्री कक्ष (कोसेली घर) आजदेखि सञ्चालनमा आएको छ ।
जिल्लामा उत्पादन भएको कृषि, वन, पशुजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले जिल्लास्थित उद्योग वाणिज्य सङ्घ र महिला उद्यम विकास समितिले बेनी नगरपालिकासँगको समन्वयमा बिक्री कक्ष सञ्चालन गरेका हुन् ।
उक्त कक्षमा जिल्लामा उत्पादित सिमी, भागो, आलु, टिम्मुर, अल्लो र ढाकाका कपडा, मुडा, मह, मकै, अचार, भागोलगायत स्थानीय परिकार राखिएको महिला उद्यम विकास समितिका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिनुभयो । “म्याग्दी भित्रने र मुस्ताङ जाने–आउने मुख्य नाकामा स्थापना गरिएको कोसेली घरले स्थानीय उत्पादनको बजारीकरणका साथै जिल्लाको पहिचान बढाउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “गाउँका किसान र उद्यमीले उत्पादन गरेका कृषि उपज र सामग्री खरिद गरी बिक्री गर्ने व्यवस्था मिलाएका छौँ ।
कोसेली घर रहेको भवनमा आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्लाका धार्मिक, पर्यटकीयस्थलका बारेमा जानकारी गराउने उद्देश्यले गत वैशाखमा पर्यटक सूचना केन्द्र सञ्चालन गरिएको छ । सूचना केन्द्र र कोसेली घरले पर्यटन प्रवद्र्धनका साथै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । “विसं २०७५ मा स्थापना भएको सूचना केन्द्र कोरोना महामारी फैलिएपछि विसं २०७७ देखि बन्द भएको थियो, उहाँले भन्नुभयो, तीन वर्षपछि पुनःसञ्चालनमा ल्याएका छौँ ।
केन्द्रमा एकजना कर्मचारीसहित धार्मिक, पर्यटकीयस्थल, कला, संस्कृतिसम्बन्धी जानकारीमूलक तस्बिर तथा दृश्य सामग्री राखिएको वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । “जिल्लाका छवटै स्थानीय तहका पर्यटकीय, धार्मिकस्थलका साथै जनजीवन, संस्कृति, रहनसहन झल्कने तस्बिर, सोको महत्व, अवस्थिति, पुग्न लाग्ने समय र खानबस्नको सुविधालगायत विषयमा जानकारीमूलक सूचनापाटी राखेका छौँ”, उहाँले भन्नुभयो ।
सूचना केन्द्र र कोसेली घर स्थापनाका लागि तत्कालीन जिल्ला विकास समिति र बेनी नगरपालिकाले रु २५ लाख बजेट खर्च गरेर भवन बनाइएको नगरप्रमुख सुरत केसीले जानकारी दिनुभयो । कोसेली घरको आज उद्घाटन गर्दै उहाँले बेनीमा पर्यटकको बसाइ लम्ब्याउन, उद्यम व्यवसाय प्रवद्र्धन गर्न कासेली घर र सूचना केन्द्र सहयोगी बन्ने विश्वास गर्नुभयो ।
कालीपुल बसपार्कलाई व्यवस्थित गरिएको भन्दै बेनी–जोमसोम–कोरला खण्डमा आक्सफाल्ट प्रविधिबाट कालोपत्र गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले ठेक्का आह्वान गरी काम अगाडि बढाएको नगरप्रमुख केसीले बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले कोसेली घर सञ्चालनमा आएसँगै स्थानीय महिलाले उत्पादन गरेका ढाकाका कपडा तथा विभिन्न परिकारका अचारलगायत सामग्रीको बिक्री वितरणमा सहजता हुने अपेक्षा लिइएको बताउनुभयो । महिलालाई सीप सिकाउँदै आत्मनिर्भर बनाउन र उद्यमशीलताको विकास गर्न ‘आमा समूहसँग उपमेयर कार्यक्रम’ सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
–रासस
0
Shares