१८ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उषाकला राईको योजना : निःशुल्क उपचारदेखि, कोदोको रक्सीको ब्राण्डसम्म

प्रकाशित मिति :  १९ चैत्र २०७७, बिहीबार ०३:४८


काठमाडौं । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले मन्त्रालयका आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।

राईले पत्रकार सम्मेलन गरी आफ्ना कार्यक्रम तथा योजना सार्वजनिक गर्नुभएको हो । उहाँका योजनामा जेष्ठ तथा विपन्न नागरिकको निःशुल्क उपचारदेखि कोदोको रक्सीलाई ब्राण्ड गर्ने कानुन बनाउनेसम्म रहेका छन् ।

मन्त्री राईले स्वास्थ्य बीमा कार्यक्रमले नसमेटेका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको प्रवन्ध मिलाउने घोषणा गर्नुभयो ।  यसको लागि आवश्यक कार्यविधि र मापदण्ड बनाएर लागु गरिने उहाँले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिक लक्षित दन्त तथा आँखा उपचार कार्यक्रम  योजना बनाएर लागु गरिने उहाँले बताउनुभयो । यसैगरी सडक आश्रित, सहयोगापेक्षी मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिइने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रदेश खेलकुद बोर्ड र जिल्ला खेलकुद विकास समिति चाँडै गठन गरी खेल गतिविधिलाई अघि बढाउने उहाँले बताउनुभयो ।

विद्यालय शिक्षाको गुणस्तरमा सुधार गर्न भौतिक पूर्वाधार निर्माण, विस्तार तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

मन्त्री राईले आफ्ना योजना सार्वजनिक गर्दै महिलाको सुरक्षाको लागि विशेष ध्यान दिइने बताउनुभयो ।

उहाँले ‘ब्यान्ड भर्सेज ब्राण्ड’को अवधारणा अनुसार नेपाली कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने कार्यको बारेमा कानुनी र व्यवहारिक पक्षको अध्ययन गरी लागू गरिने बताउनुभयो । सामाजिक विकास मन्त्रालयबाट सम्पादन गर्नुपर्ने काममा आवश्क कानुन, नियम बनाउने तथा विद्यमान कानुनको समयानुकूल संशोधन गरिँदै लगिने उहाँले बताउनुभयो ।

कोरोना सङ्क्रमण बढ्ने सम्भावनालाई ध्यानमा राखी कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई पुनः सञ्चालनमा ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै प्रदेशमा रहेका अन्य अस्पताललाई पनि तयारी अवस्थामा रहन आग्रह गरिएको उहाँले बताउनुभयो । सबै जिल्ला अस्पताललाई कम्तीमा १० बेडसम्मका कोभिड आइसोलेसन वार्ड तयार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन गरेको उहाँले जानकारी दिनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !