हाम्रो शिक्षा किसानका घर-घरमा पुग्न सक्नुपर्छ : प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा राम्रो हुन शिक्षक राम्रो हुनुपर्ने बताउनु भएकाे छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालयहरुसहितको प्रतिवेदन हस्तान्तरण गर्न बिहीबार बालुवाटारमा आयोजित कार्यक्रममा उहाँले शिक्षककाे गुणस्तर ध्यान दिनुपर्ने बताउनुभयाे ।
प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘शिक्षकको गुणस्तर माथि नउठाएसम्म विद्यार्थीको गुणस्तर बढ्न सक्दैन, शिक्षकले आफ्नो ज्ञानलाई सही रूपमा विद्यार्थीमा हस्तान्तरण गर्नुपर्छ ।’ विद्यार्थीको ध्यानाकर्षण गर्न सक्ने, विद्यार्थीले बुझ्ने गरी पढाउन सक्ने र आफ्ना विद्यार्थीप्रति उत्तरदायी हुने खालकाे शिक्षक हुनुपर्ने बताउँदै उहाँले भन्नुभयाे – ‘बेला-बेलमा शिक्षककाे गुणस्तरण परीक्षण गर्नुपर्छ, विद्यालयमा पनि उपयुक्त शैक्षिक वातावरण हुनुपर्छ ।’
प्राविधिक शिक्षालाई प्राथमिकतासाथ अगाडि लैजानुपर्ने बताउँदै प्रधानामन्त्री ओलीले भन्नुभयो – ‘किसानलाई जीवन बदल्ने सूत्र र सीप लिएर हाम्रो शिक्षा उनीहरुको घरघरमा पुग्न सक्नुपर्छ, कलिला बालबालिकालाई अनुत्तीर्ण घोषित गर्ने खाले हाेइन सक्षम नागरिक बनाउने खालकाे शिक्षाको विकास गर्नुपर्छ ।’ सक्षम, सुयोग्य र दक्ष नागरिक नै देशको ठूलो सम्पत्ति भएकाले सरकारले अब शिक्षालाई पछाडि फर्कन नदिन समेत प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले ज्ञान र पूर्वाधार दुवै दृष्टिले शिक्षा सक्षम बनाउन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले आधार तय गर्ने पनि बताउनुभयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत देशभरका ४ हजार २ सय ५० वटा विद्यालयलाई कक्षाकोठा, शौचालय, शैक्षिक सामग्री, सूचना प्रविधि, ल्याब तथा पुस्तकालयलगायत शीर्षकमा बजेट विनियोजन गरिएको पनि उहाँले जानकारी दिनुभयाे ।
उहाँले शिक्षा क्षेत्रको समग्र विकास र जनशक्ति उपयोगका लागि गुरुयोजना बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन पनि दिनुभयो । विकासको आधारभूत आधार शिक्षा भएको प्रधानमन्त्रीकाे भनाइ छ ।