दलित विद्यार्थीलाई पोशाक वितरण
प्रकाशित मिति : २३ असार २०८१, आईतवार १४:५३

टीकापुर (कैलाली) । जिल्लाको टीकापुर नगरपालिकाले दलित समुदायका विद्यार्थीलाई विद्यालय पोशाक निःशुल्क वितरण गरेको छ । नगरपालिकाले टीकापुरका आठ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ८५ जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरेको हो ।
टीकापुरको राजिपुरकी हिरा नगार्जीको कक्षा ७ मा पढ्ने नातिको यसअघि एक थान विद्यालय पोशाक थियो । पालिकाले एक थान पोशाक उपलब्ध गराएको छ । वर्षाको फेर्ने पोशाक नहुँदा सास्ती हुँदै आएको थियो । अब फेरेर लगाउन सहज हुनेछ, उहाँले भन्नुभयो ।
जवाकला विकका चार नातिनातिना छन् । दुईजनाले पोशाक पाएपछि विद्यालय पठाउन सहज भएको उहाँले बताउनुभयो । “छोराबुहारी छैनन् । आफूलाई खाना तथा अन्य आवश्यक सामग्रीको जोहो गर्न समस्या भएको अवस्थामा पालिकाले पोशाक वितरण गरेपछि खुसी लागेको छ”, उहाँले भन्नुभयो ।
पोशाक वितरण गर्दै नगरप्रमुख रामलाल डगौँरा थारुले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावकले शिक्षामा ध्यान नदिएको, बालबालिकाका लागि समय दिन नसकेको गुनासो गर्नुभयो । बालबालिका पछाडि पर्नु भनेको राज्य पछाडि पर्नु हो । उनीहरुलाई पर्याप्त समय दिनुपर्छ”, उहाँले भन्नुभयो, अभिभावक पनि जिम्मेवार बन्नुपर्छ । विपन्न परिवारलाई पोशाक तथा शैक्षिक सामग्री स्थानीय सरकारले उपलब्ध गराउने छ ।
प्रमुख प्रशासकीय अधिकृत दमनसिँह चौधरीले अव्यवस्थित बसोबास रहेको क्षेत्रमा पालिकालाई सहयोग गर्न केही असहज हुने धारणा राख्नुभयो । “शिविरमा रहेका बालबालिकालाई सहयोग गर्न कठिन छ, उहाँले भन्नुभयो, अभिभावकले बालबालिकाको शिक्षामा ध्यान दिएमा नगरपालिका तथा अन्य निकायमार्फत सहयोग गर्नेछौँ ।
कार्यपालिका सदस्य दीपक निसानीले दलित बालबालिका पोशाक अभावमा विद्यालय जानबाट वञ्चित नहुन भनी पोशाक वितरण गरिएको बताउनुभयो । आगामी वर्ष पनि शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम राखेका छौँ, उहाँले भन्नुभयो, विपन्न दलितका बालबालिकालाई पोशाक सहयोगले हौसला मिल्ने अपेक्षा गरेका छौँ ।
कार्यक्रममा कर्णालेश्वर आधारभूत विद्यालयका अध्यक्ष चन्द्रप्रसाद भण्डारीले सिमान्तकृत, पछाडि परेका वर्गीय, जातीय समुदायका बालबालिकालाई आवश्यकतका आधारमा सहयोग गरिने बताउनुभयो ।
-रासस
0
Shares