२० माघ २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

परम्परागत धानको जात संरक्षण

प्रकाशित मिति :  9 July, 2024 12:09 pm


गण्डकी । पोखरा महानगरपालिका क्षेत्रमा ६० प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ । पोखरामा करिब ११ हजार दुई सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकामा ६० प्रतिशतभन्दा बढी रोपाइँ सकिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो ।

पोखराका विशेषगरी पामे, कुँडहर, सिसुवा, पटनेरी, मालमुल, गगनगौडा, अर्मला, सुरौदीलगायत फाँटक्षेत्रमा धानखेती हुने गरेको छ भने माझठाना, खुर्वादी, आँगेटारीलगायतका टारी खेतमा धानखेती गरिँदै आइएको छ । पोखरा आसपासका क्षेत्रमा झण्डै ४० प्रतिशत जेठोबुढो रोप्ने गरिएको र बाँकी विभिन्न उन्नतजातका धान रोप्ने गरिएको कडरियाले जानकारी दिनुभयो । तथ्याङ्कानुसार पोखरामा वार्षिक ३९ हजार मेट्रिक टन धानको उत्पादन हुने गरेको छ । पछिल्ला वर्षमा धानखेती गरिने क्षेत्र घट्दो क्रममा रहे पनि उत्पादकत्व भने वृद्धि भएको जनाइएको छ । उहाँका अनुसार पोखराको बेगनास आसपास क्षेत्रमा रैथाने धानको जातको संरक्षणमा पनि किसानहरूले सक्रियता देखाएका छन् ।

पछिल्ला वर्षमा चैते धानतर्फ पनि किसान आकर्षित बनिरहेको जनाउँदै उहाँले यस वर्षको चैते धान भित्र्याउने क्रम चलिरहेको जानकारी दिनुभयो । पोखरामा चैते धान करिब एक हजार पाँच सय रोपनीमा लगाउने गरिएको छ, उहाँले भन्नुभयो, चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्दो क्रममा छ, दुई बाली धानका कारण उत्पादन समेत बढ्दा किसानलाई राहत मिलेको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !