९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेता–कार्यकर्ताले छाड्दै, माधव नेपाल एक्लिँदै

प्रकाशित मिति :  २१ चैत्र २०७७, शनिबार ०१:४५


काठमाडौं । पार्टी नै सिध्याउने गरी लागेपछि निलम्बित नेकपा एमालेका नेता माधवकुमार नेपाल एक्लिँदै जानुभएको छ ।

उहाँलाई एक पछि अर्का नेताले साथ छाड्दै जानुभएको छ । उहाँकै गुटभित्र पनि उहाँको चर्को आलोचना हुन लागेको छ । उहाँलाई साथ दिइरहेका उहाँका गुटका नेता पनि एक पछि अर्को गर्दै उहाँलाई छाड्दै जान लाग्नुभएको छ ।

नेपालको पक्षमा लाग्नु भएका ताप्लेजुङका नेता एमाले केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वो लिम्बूले पनि नेपालको साथ छाड्नु भएको छ । शुक्रबार ताप्लेजुङमा आयोजना गरिएको युवाको कार्यक्रममा पार्टी विभाजन गर्ने र समानान्तर संगठन खोल्ने कुरामा आफ्नो सहमति नभएको भन्दै उहाँले यस्तो कुरालाई साथ दिन नसक्ने बताउनुभयो ।

नेता नेपालले शुक्रबार गरेको आफ्ना पक्षका स्थायी कमिटी सदस्यको छलफलमा समेत नेपालको आलोचना भएको छ । नेताहरुले प्रचण्डसँग अस्वभाविक उठबस गरेको भन्दै नेपालको आलोचना गर्नुभएको थियो ।

ताप्लेजुङको कार्यक्रममा अन्य थुप्रै नेताहरु एमालेको मूलधारमा आउनुभएको एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतले जानकारी दिनुभयो । ‘गुटबन्दी गर्ने, समानान्तर गतिविधि गर्ने, पार्टी विभाजनको लक्षण देखाउने उहाँहरुको कार्यले स्वार्थ जोडिएको र हिजो विविध कारणले मन जोडिएका केही एकठाउँमा होलान्, बाँकी ग्राउण्डमा त्यस्तो देखिदैँन, ताप्लेजुङको युवा संघको कार्यक्रममा निक्कै उत्साह देखियो, माओवादीका मन्त्री, पूर्वमन्त्रीदेखि सांसद्सम्म एमालेमा आउनुभएको छ’, बस्नेतले सनराइज खबरलाई भन्नुभयो ।

नेपाललाई केन्द्रीय सदस्यदेखि संघीय सांसद् र प्रदेश सांसद् समेतले एक पछि अर्को गर्दै छाड्दै गएका छन् । प्रदेश १ र वाग्मती प्रदेश सभामा प्रचण्ड समूहसँग मिलेर प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने नेपाल पक्षका सबै सांसद्ले अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टीको मूलधारमा समाहित भइसक्नु भएको छ । त्यस्तै कर्णाली प्रदेशमा पनि नेपाल पक्षका भनिएका सांसद् समेत मिलेर सबै एमाले सांसद्ले महेन्द्रबहादुर शाही नेतृत्वको माओवादी सरकारलाई दिएको विश्वासको मत फिर्ता लिइसकेको छ ।

संघमा समेत एमाले सांसद्हरु एमालको पक्षमा एक ढिक्का हुँदैछन् । संसदीय दलको बैठकमा जान सांसद्लाई रोक्ने नेपालको बारम्बारको प्रयास असफल भएको छ । पार्टी हित विरुद्ध काम गर्ने नेपाल सहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पार्टीमा ६ महिनाको लागि निलम्बनमा पर्नुभएको छ ।

माथिदेखि तलसम्मका नेताहरुले साथ छाड्दै गएपछि नेपाल थप अप्ठेरोमा पर्नुभएको छ । नेताहरुलाई थुमथुम्याउनको लागि नेकपा एमालेले गत फागुन २८ गते गरेको निर्णयको विरुद्ध अदालत जाने योजना नेपालले बनाउनुभएको छ । सो बैठकले माओवादी छाडेर नेकपा एमालेमा आउनुभएका नेताहरुलाई केन्द्रिय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

लामो समय एमालेको महासचिव बनेर पार्टी हाँक्नु भएका नेपाल राजनीतिक छवि विगार्दै पार्टी फुटको गतिविधिमा लाग्नुभएको छ । अझ मुद्दा लड्ने झगडिया झै एक पछि अर्को मुद्दा बोकेर अदालत धाउने खेलोफड्कोमा लाग्नुभएको छ ।
-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !