माधव गुटले दुई महिने अभियान चलाउने
काठमाडौं । नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपाल गुटले ‘संगठन निर्माण र सुदृढीकरण अभियान’ चलाउने भएकाे छ ।
शनिबार कलंकीको मेगा पार्टी प्यालेसमा बसेको साे गुटकाे भेलाले एमालेकाे एकता जाेगाउन भन्दै माधव गुटले देशभर साे अभियान चलाउने निर्णय गरेकाे हाे ।०७५ जेठ २ को संरचनामा फर्की एकताको पक्षमा फर्किन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्ने निर्णय पनि भेलाले गरेकाे नेता रघुजी पन्तले जानकारी दिनुभयाे ।
सबै तहमा प्रशिक्षण कार्यक्रम चलाइने पनि पन्तले बताउनुभयाे । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले संगठन पुर्नगठन गरेपछि आफूहरुले वाध्य भएर याे अभियान चलाइने बताउनुभयाे । विधिसम्मवत् कमिटीलाई ओलीले भटाभट हटाउनु भएकाे उहाँले बताउनुभयाे । केन्द्रका चार नेतालाई नभएर सबैभन्दा तल्ला कमिटीबाटै ओलीले कारबाही थाल्नुभएकाे उहाँले बताउनुभयाे ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै साे गुटका अर्का नेता याेगेश भट्टराईले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नारा साथ दुई महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयाे । माधव नेपाल लगायत नेतालाई गरिएकाे कारबाहीकाे कुनै अर्थ नभएको भट्टराईले बताउनुभयो ।
-आईएनए न्युज एजेन्सी