२२ माघ २०८२, बिहिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बेइजिङ र मस्कटमा लगानी प्रवर्द्धन कार्यक्रम

प्रकाशित मिति :  16 July, 2024 1:41 pm


काठमाडाैं । नेपालमा लगानीका अवसरबारे जानकारी दिन बेइजिङ र मस्कटस्थित नेपाली दूतावासले हालै लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रम आयोजना गरेका छन् ।

गत आइतबार बेइजिङस्थित दूतावासले चिनियाँ लगानीकर्तासहित विभिन्न उद्यम व्यवसायी एवं सञ्चारकर्मीको उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालमा लगानीका पर्याप्त अवसर रहेका र प्रतिफल पनि आकर्षक रहेकाले ढुक्क भएको पुँजी परिचालन गर्न आग्रह गर्नुभयो ।

चीन समुद्रपार विकास सङ्गठनका उपमहासचिव वाङ केविनले नेपालका निम्ति चीन सबैभन्दा ठूलो लगानीकर्ता मुलुक भएको उल्लेख गर्दै त्यसबाट सयौँ नेपालीले रोजगारी पाएका बताउनुभयो ।

हालै नेपालमा आयोजित लगानी सम्मेलनमा भाग लिनुभएकी उहाँले दुई देशबीच सहकार्य र साझेदारीका प्रशस्त क्षेत्र रहेका बताउनुभयो । नेपालको जलस्रोत क्षेत्र सर्वाधिक आकर्षक लगानीको गन्तव्य भएको उहाँले उल्लेख गर्नुभएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

यसैबीच, सोही दिन मस्कटमा आयोजित कार्यक्रममा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले ओमानसँगको व्यापार सन्तुलनमा जोड दिँदै पर्याप्त प्रतिफल प्राप्त हुने पर्यटन, पूर्वाधार एवं ऊर्जाका परियोजनाहरुमा लगानी गर्न ओमानी लगानीकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले प्रवासी नेपालीलाई मातृभूमिको उन्नयनका निम्ति आफूले सिकेको सीपका साथै पुँजी परिचालन गर्न अनुरोध गर्नुभयो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !