९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बगरको तरकारी उत्पादनबाट मनग्य आम्दानी

प्रकाशित मिति :  ९ श्रावण २०८१, बुधबार १७:११


बरहथवा(सर्लाही) । सर्लाहीको बागमती नगरपालिका–१२ का गोपाल घिसिङ हिजोआज बागमतीको बगरमा परवल टिप्नमा ब्यस्त हुनुहुन्छ । घिसिङ जस्तै बागमती नगरपालिकाका सयौँ किसान हरेक स्थानीय बजारको दिन बिहानै खेतमा परवल टिप्न पुग्छन् । बागमती बगरमा परवल टिप्ने किसानको सङ्ख्या अत्यधिक छ । कोही बाल्टिन लिएर र कोही बोरामा परवल टिपिरेहका छन् । परवल बजारसम्म पु¥याउन उनीहरुलाई भ्याइनभ्याइ भइरहेको छ ।

केही समय पहिलासम्म बालुवाको थुप्रोको रुपमा रहेको बगरमा अहिले तन्न परवल उत्पादन गरिएको छ । नदी उकास बगरमा विपन्न किसान परवल उत्पादन गरिरहेका छन् । वैदेशिक रोजगारका लागि पाँच वर्ष मलेसिया बसेर एक वर्ष अघि मात्र घिसिङ नेपाल फर्कनुभएको हो । नेपालमा केही समय बसेपछि फेरि विदेश फर्कने उहाँको योजना थियो । तर परवलको आम्दानीले अब उहाँ विदेश नजाने सोचमा हुनुहुन्छ ।

छिमेकीले परवल उत्पादन र बिक्रीबाट गरेको मनग्य आम्दानी थाहा पाएपछि घिसिङ पनि तरकारी उत्पादनमा लाग्नुभएको हो । नेपालमै विदेशको सरह मेहनत गरे कमाइ पनि विदेशमा सरह हुने रहेछ भन्ने उहाँलाई विश्वास लाग्यो । उहाँले भन्नुभयो, विदेशमा जस्तै काम गर्ने हो भने, घर परिवारसगँै बसेर परिवार मज्जाले पाल्न सक्छु भनेर परवल खेतीमा लागे ।

विदेशको कमाइसगँ बागमती बगरको परवल खेतीको हिसाबकिताब गर्दा परवल खेतीले जितेपछि विदेश नजाने निर्णयमा पुगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘बागमती बगरमा पसिना मिसाउने सङ्कल्प गरेँ, परिवारको समेत साथ पाएपछि बगरको खेतीले फेरि विदेश सम्झनु परेको छैन ।’’

घिसिङले परवल खेतीसगैँ दूध उत्पादनका लागि पशुपालन समेत गरिरहनु भएको छ । उहाँले झण्डै १० कठ्ठा बगरमा परवल खेती गर्नुभएको छ । परवल खेतीबाट मात्र वर्षमा सबै खर्च कटाएर रु सात लाखसम्म कमाइ हुने उहाँको दाबी छ । परवल किलोको रु १० देखि रु १०० सम्ममा बिक्री हुने गरेको उहाँको भनाइ छ । अन्य खेतीबाट पनि मेहनत अनुसारको कमाइ भइरहेको घिसिङले बताउनुभयो ।

बागमती नगरपालिका–४, का धनबहादुर लामाले पनि विगत पाँच वर्षदेखि परवल खेती गरिरहनुभएको छ । स्थानीयको खेती देखेरै आफू पनि परवल खेतीमा आकर्षित भएको उहाँको भनाइ छ । मौसम १० कठ्ठामा एक बजारमा ३५०० किलोसम्म परवल टिपेर बेचेको उहाँले बताउनुभयो ।

परिवारमा आर्थिक उपार्जनको कुनै उपाए नभएका उनलाई पनि बगरमा सुरु गरेको परबर खेतीले नै भर दिएको छ । काँश र अन्य घाँसले ढाकेको यस बगरलाई बागमती नगरपालिकाको पहलमा सुकुम्वासी किसानलाई व्यवस्थित ढङ्गले बाँडेर खेती गर्न दिएको हो । त्यसयता मेहनतमा रमाउने किसानका लागि बगरमा परवल खेती कमाइको बलियो आधार बनिरहेको छ । नगरपालिकाको पहलमा बागमती नदीले छाडेको चार सय बिघा क्षेत्रफलमा एक हजार आठ सय परिवारले खेती गर्ने गरेका बागमती नगरपालिका–४ का वडाध्यक्ष कृष्णकुमार लामाले जानकारी दिनुभयो । बगर खेतीले विपन्न सुकुम्वासी परिवारलाई दैनिक हातमुख जोड्न निकै सहज भइरहेको उहाँको भनाइ छ ।

 

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !