कर्णालीमा फ्लोर क्रस गरेर एमाले सांसद्ले हामीलाई मत दिन्छन् – सांसद् बिष्ट
काठमाण्डौं । माओवादी केन्द्रका सांसद् ठम्मरबहादुर विष्टले एमालेकै सांसदले मुख्यमन्त्री महेन्द्र बहादुर साहीलाई कर्णाली प्रदेशमा विश्वासको मत दिने वताउनुभएको छ ।
ठम्मरले भन्नुभयो – ‘राजनीति सम्भावनाको खेल हो, नेकपा एमाले सांसदले हामीलाई मत दिन सक्छन् ।’
‘मुख्यमन्त्रीले राजीनामा दिने केनै सम्भावना छैन, सरकारले विश्वासको मत लिन्छ’, – उहाँले भन्नुभयो ।
चैत ४ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमाले बाहेकका सबै दल एक हुँदा पनि मुख्यमन्त्रीलाई जोगाउन सक्दैनन् ।
सरकार बनाउन २१ जना सांसद्को समर्थन चाहिन्छ । प्रदेश सभामा एमालेका सभामुखसहित २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६, राप्रपाका एक जना सांसद् छन् । यस्तो अवस्थामा मुख्यमन्त्री साहीलाई सरकार बनाउन २१ जना सांसद् चाहिन्छ एमाले बाहेक सम्पुर्ण दलको गठबन्धन भएपनि साहीको पक्षमा बहुमत नपुग्ने पक्कापक्की छ ।
साहीको सरकार बचाउँन एमाले सांसद्ले फ्लोर क्रस गरेर साहीलाई विश्वासको मत दिनुपर्ने हुन्छ । फ्लोर क्रस गरेर विश्वासको मत दिए सांसद् पद नै धरापमा पर्छ ।
-आइएनए न्युज एजेन्सी