एमसिए–नेपालद्वारा ४०० केभी सबस्टेशनको निर्माण सम्झौता सम्पन्न
काठमाडौ । एमसिए–नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता सम्पन्न भएको घोषणा गरेको छ । यो सम्झौतासँगसँगै एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएका तीनवटै ४०० केभी सबस्टेशन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
निर्माण सम्पन्न भएपछि नयाँ दमौली सबस्टेशन पनि सोही कम्पनीसँग २०८१ साल जेठमा निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको रातमाटे सबस्टेशन जस्तै एक हजार मेगा भोल्ट एम्पिएर क्षमताका नेपालकै ठुला सबस्टेशनमध्ये एउटा बन्नेछ । उक्त नयाँ दमौली सबस्टेशनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेशनबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्नेछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्का, नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सन, एमसिए–नेपालका सञ्चालक समितिका सदस्यहरू, टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङका प्रबन्ध निर्देशकपदम प्रकाश गुप्ता, नेपाल विद्युत् प्राधिकरण, एमसीसी र एमसिए–नेपालका अधिकारीहरूको समुपस्थितिमा आज आयोजित एक समारोहमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले यी तीनवटै सबस्टेशनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे । उनले आयोजना समयमै सम्पन्न गर्नका लागि सशक्त पहल गर्न पनि सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई आह्वान गरे ।
सो समारोहमा अर्थ मन्त्रालयका सचिव एवं एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले भने, “यो प्रगति एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि एमसिए–नेपालले गरेका निरन्तर प्रयासहरूको राम्रो सङ्केत हो । नेपालको फैलँदो ऊर्जा क्षेत्रका लागि यी तीनवटा सबस्टेशन महत्वपूर्ण छन् र यिनीहरूले नेपालको आर्थिक विकासका लागि आवश्यक औद्योगिक र व्यापारिक क्रियाकलाप विस्तार गर्न भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्नेछ ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अमेरिकी राजदूत थम्प्सनले भने, आज नेपाल सरकार, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र एमसिए–नेपालसँग काँधमा काँध मिलाउँदै यो आयोजनाको प्रगति र नेपालको सुन्दर भविष्य निर्माणका लागि यहाँहरू सबैले निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाको म प्रशंसा गर्दछु ।” उनले अगाडि थपे, “समावेशी एवं दिगो आर्थिक विकासमार्फत नेपालको घर घरमा ऊर्जा पुर्याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा प्रदान गर्न, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न नेपालसँग सहकार्य गर्दै एमसीसी नेपाल कम्प्याक्ट हाम्रो साझा सफलताको कथाको महत्वपूर्ण अङ्ग बन्दैछ ।
एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले भने, एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा गएको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा तीनैवटा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनु महत्वपूर्ण कोशेढुङ्गा हो । यस अवसरमा म नेपाल सरकार, हाम्रा महत्वपूर्ण सरोकारवाला निकायहरू अर्थ मन्त्रालय, एमसिए–नेपाल सञ्चालक समिति, नेपाल विद्युत् प्राधिकरण तथा एमसीसीलाई निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गर्दछु ।
एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजना अन्तर्गत तीनवटा सबस्टेसनका अतिरिक्त काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किमि लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ ।
अहिले १८ किमि लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्याङ्कन कार्य भइरहेको छ । एमसिए–नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको छ । त्यस्तै, बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्ष यथाशीघ्र पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ । एमसिए–नेपालले सडक मर्मत आयोजनातर्फ फूल डेप्थ रिक्लेमेसनसम्बन्धी खरिदका लागि यही वर्षको भदौभित्र बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।