गण्डकीको गडबडी नियन्त्रणमा, सरकार नढल्ने नै भयो
काठमाडौं । गण्डकी प्रदेश सरकारलाई अपदस्त गरेर विपक्षी गठबन्धन नबनाउने जानकारी राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापाले दिनुभएको छ ।
बुधबार माओवादी केन्द्रका दुई मन्त्रीले गण्डकी प्रदेश सरकारबाट राजीनामा दिएका थिए । एमालेका पृथ्वीसुब्बा गुरुङ माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । माओवादी मन्त्रीहरुले सरकार त्यागे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
माओवादी मन्त्रीहरुले सरकार छाडे पनि पृथ्वी सुब्बाको सरकार खतरामुक्त रहेको छ । जनमोर्चाले विपक्षी गठवन्धनमा नजाने भन्नासाथ गण्डकी सरकार जोगिएको हो ।
एमालेका २८ जना सांसद् छन् । जनमोर्चाका तीनजना सांसद् छन् । जनमोर्चाको समर्थन यथावत रहँदा पृथ्वी सुब्बाको पक्षमा ठ्याक्कै बहुमत पुग्छ ।
बुधबार माओवादीले विपक्षी गठबन्धन बनाएर मुख्यमन्त्री हटाउन चाहेको संकेत आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर दिएको थियो । तर, निर्णायक भूमिकामा रहेको जनमोर्चाका सांसदहरुलेमुख्यमन्त्रीको साथ नछोड्ने भएका छन् । कृष्ण थापा भन्नुहुन्छ– ‘हामी यही सरकारको निरन्तरताको पक्षमा छौं ।’
सांसद थापाले भन्नुभयो – ‘विपक्षी गठबन्धनमा गएर मन्त्री हुने लोभ हामीलाई छैन, हाम्रो समर्थन एमालेलाई कायमै छ । बन्न मन लाग्यो भने मलाई एमालेले तत्कालै मन्त्री बनाइदिन्छ । तर, म पदको नभएर विचारको राजनीति गर्छु ।’
थापाका अनुसार माओवादीले गठवन्धन बनाउन चाहेको अवस्थामा पनि नयाँ मुख्यमन्त्री कसलाई बनाउने भन्ने सहमति हुन सम्भव छैन ।
६० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५ र माओवादी १२ सांसद् छन् । त्यसैगरी जनता समाजवादी पार्टीका दुई सांसद् छन् ।
-आईएनए न्युज एजेन्सी