हेमबहादुर मल्ल सम्मान डा.भेषबहादुर थापालाई प्रदान गरिने

काठमाडौं । नेपाल जनप्रशासन संघले २०७९ सालको हेमबहादुर मल्ल सम्मान डा. भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मान विशेष समारोह बीच आगामी श्रावण २३ गते प्रदान गरिने जानकारी दिइएको छ । सम्मानसहित नगद राशी रु दुई लाख प्रदान गरिने छ ।सम्मान वर्षेनी प्रदान गरिन्छ ।
पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राक्षिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै संस्थागत विकास र अन्तर्राष्ट्रिय स्तरमा नेपालको राष्ट्रिय हित र योगदानको कदरस्वरूप हेमबहादुर मल्ल सम्मान २०७९ डा.भेषबहादुर थापालाई प्रदान गरिने भएको हो ।
सम्मान छनौटका लागि नेपाल सरकारका पूर्वसचिव एवं पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाको संयोजकत्वमा एक सम्मान छनौट समिति गठन गरिएको थियो । समितिमा नेपाल जनप्रशासन संघका तत्कालीन अध्यक्ष कृष्णहरि बास्कोटा, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, सचिव विन्दु विष्ट र पूर्व सचिव शिशिर कुमार ढुंगाना सदस्य रहेका थिए ।
अघिल्ला वर्षहरूमा हेमबहादुर मल्ल सम्मानबाट केदारभक माथेमा, चादनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला. महावीर पुन, स्व.अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा.सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्ष बहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानीत भएका थिए ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको सौजन्यमा सो संस्थाका प्रेसिडेन्ट एवं कुशल व्यवस्थापक स्व.हेमबहादुर मल्लको स्मृतिमा नेपाल जन–प्रशासन संघले २०७९ मा ‘हेमबहादुर मल्ल सम्मान’ स्थापना गरेको हो ।