शेख हसिनाले देश छाडिन
काठमाडौं । बंगलादेश प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर पलायन भएको समाचार एजेन्सीहरुले जनाएका छन् । शेख हसिना सवार जहाज भारतको उत्तर प्रदेशमा अवतरण गरेको जनाइएको छ ।
देशभरमा चर्किएको विद्यार्थी आन्दोलन र आफ्नो राजीनामाको मागबिच सोमबार प्रदर्शनकारीहरूले हसिनाको सरकारी आवासमा ढुंगामुढा गरेलगत्तै राजीनामा दिएर उनी भारतर्फ लागेकी हुन् ।
इन्डिया टुडेका अनुसार बंगलादेशी सेनाको यो जहाज स्थानीय समयअनुसार ५.३६ बजे उत्तर प्रदेशको गाजियावादस्थित हिन्डन एरयबेसमा अवतरण गरेको हो । जुलाई १५ बाट कोटा बिरोधी आन्दोलनमा ३०० बढीको ज्यान गइसकेको छ भने आइतबार एकै दिन ९० जनाको ज्यान गएको थियो ।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।
लगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुख जनरल वाकर उज जमानले हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।