देउवा निवासको बैठकमा अनौठा पात्रहरु
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाउनुभएको आजको तीन दलीय बैठक अनौठो भएको छ । बैठकमा कांग्रेसको तर्फबाट अनौठा पात्रहरु सहभागी भएका छन् ।
देउवा निवास बुढानिलकण्ठमा भएको बैठकमा रामचन्द्र पौडेल पनि सहभागी हुनुभएको हो । आज दिउँसो राजधानीमा भएको एक कार्यक्रममा देउवा र पौडेलबीच भनाभन मात्र भएन, झण्डै हानाहान समेत भएको थियो । त्यस लगत्तै दुवैजना बुढानिलकण्ठ बैठकमा सहभागी हुनुभएको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नलाई बैठक बोलाइयोस् भन्ने माग अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलीय बैठक बोलाउनुभएको हो । बैठकमा कांग्रेसबाट विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार पनि सहभागी हुनुहुन्छ ।
भ्रष्टाचार मुद्दा लागेका गच्छदारलाई पनि देउवाले बैठकमा सहभागी बनाउनुभएको हो ।
बैठकमा तीन दलीय बैठकमा जसपाका नेताहरु भने ढिला पुगेका छन् ।
तीन बजे बोलाइएको बैठक चार बजे सुरु भएको हो । जसपाको तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई, बाबुराम भट्टराई, महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेता बैठकमा पुग्नुभएको हो ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणकाजी श्रेष्ठ र देव गुरुङ बाहेक कृष्णबहादुर महरालाई पनि लैजानुभएको छ । सभामुख पदबाट अपदस्त बन्नुभएपछि महरालाई पार्टीको आन्तरिक राजनीतिमा प्रचण्डले अगाडि बढाउनुभएको थिएन । केही समय पहिले उहाँलाई स्थायी समितिमा लगिए पनि खासै भूमिका दिइएको थिएन । अहिले भने प्रचण्डले उच्च बैठकमा लैजानुभएको हो ।
-आईएनए न्युज एजेन्सी