भारतमा एकैदिनमा एक लाख ३२ हजार संक्रमीत
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमीतको सङ्ख्या दिनप्रति दिन तिव्ररुपमा बढ्दै गएको छ ।
पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । दिनप्रतिदिन दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै हुदै गएको छ । यो सङ्ख्या अहिले बढेर झण्डै एक लाख ३२ हजारमा पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टा एक लाख ३१ हजार नाै सय ६८ पुगेको हो ।भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३० लाख ६० हजार पाँच सय ४२ पुगेको अधिकारीहरुको भनाई छ ।
यही हप्ता दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी पुगेको शुक्रबार चौथो पटक हो । यसअघि गत सोमबार एक लाख तीन हजार पाँच सय ५८ जना सङ्क्रमित भएका थिए भने बुधबार एक लाख १५ हजार सात सय ३६ जना सङ्क्रमित भएका थिए ।
त्यसैगरी बिहीबार एक लाख २६ हजार सात सय ८९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको थियो । भारतमा पछिल्लो २४ घण्टामा सात सय ८० जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या एक लाख ६७ हजार ६ सय ४२ पुगेको छ ।
मन्त्रालयका अनुसार भारतमा अहिलेपनि नौ लाख ७९ हजार ६०८ जना सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी कुल एक करोड १९ लाख १३ हजार दुई सय ९२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।
– रासस