१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुनियाँको कुनै पनि प्रेस स्वतन्त्र छैन, हाम्रो दुर्गति हाम्रै कारणले हुन्छ : पृथ्वीसुब्बा गुरुङ

प्रकाशित मिति :  ३२ श्रावण २०८१, शुक्रबार १४:५३


काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मर्यादित र अनुशासित सञ्चारमाध्यमले सरकालाई उत्तरदायी हुन सहयोग गर्ने बताउनुभएको छ ।

राष्ट्रिय समाचार समितिको सङ्ग्रहालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले सञ्चारमाध्यमले आफ्नो भूमिका राम्रोसँग निर्वाह गरिदियो भने सरकार नागरिक प्रति उत्तरदायी हुन बाध्य हुने बताउनुभयो । मिडियाले सहीलाई सही र गलतलाई गलत भन्न सक्नु पर्ने र समाजलाई सकारात्मक बाटो तर्फ डोर्‍याउन सक्ने उहाँको धारणा छ ।

नेपाली प्रेसलाई नकारात्मक हुनबाट जोगाउनु र सकारात्मक बाटोमा ल्याउनु आजको आवश्यकता भएको गुरुङले बताउनुभयो । सबै कुराको विरोध गरेर मात्र सही गन्तव्यमा पुन नसकिने कुरामा सचेत हुनुपर्नेमा गुरुङले जोड दिनुभयो । ‘दुनियाँको कुनै पनि प्रेस स्वतन्त्रै छैन’, उहाँले भन्नुभयो ।

हरेक कुराको आलोचना त्यसलाई ठिक ठाउँमा ल्याउनको लागि गर्नुपर्ने उहाँले बताउनुभयो । तर कसैलाई सिद्ध्याउनको लागि सञ्चारमाध्यमले आलोचना गर्ने गरेका उहाँले बताउनुभयो । सरकारलाई उत्तरदायी बनाउन सञ्चारमाध्यमको प्रभाकारी र सकारात्मक भूमिका हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बलिदानबाट लडेर ल्याएको व्यवस्था प्रति नागरिकको निराशा बढेको बताउँदै गुरुङले यसलाई जोगाउनको लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । नागरिकमा निराशा बढाएर देश र व्यवस्था जोगाउन नसकिने उहाँले स्पष्ट पार्नुभयो ।

गुरुङले  सञ्चारमाध्यमले सरकारको भजन गाउनु नपर्ने भए पनि सही काम गर्नेको उचित प्रशंसा गर्न आग्रह गर्नुभयो । यसले समाजलाई सकारात्मक सन्देश दिने गुरुङको धारणा छ । के लेख्दा आफ्ना भ्युज बढी हुन्छ भन्ने कुरामा मात्र ध्यान नदिन उहाँले पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

नेपाली पत्रकारिता विगतको भन्दा अमर्यादित र अव्यवस्थित बन्दै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । मुलुक बनाउनको लागि सबै आफ्नो ठाउँबाट सच्चिएर जानु पर्नेमा उहाँले जोड दिनुभयो ।

अरू कसैले आएर मुलुक नबनाइदिने बताउँदै उहाँले आपसी झगडाले विश्वका कतिपय देशहरूले दुःख पाएका कुरालाई नबिर्सन आग्रह गर्नुभयो । ‘हाम्रो दुर्गति हाम्रै कारणले हुन्छ, त्यस कारण देश निर्माणमा हाम्रो एकता जरुरी छ’, उहाँले भन्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !