९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बिनाकारण ओलीको सती महन्थ ठाकुर जानुहुन्न – उपेन्द्र यादव

प्रकाशित मिति :  २९ चैत्र २०७७, आईतवार १०:०९


काठमाडौं । ‘केपी ओलीलाई साथ दिने–नदिने भन्ने कुरा अध्यक्ष महन्थ ठाकुरको हातमा छ’– जसपाका नेता उपेन्द्र यादवले भन्नुभयो । सत्ता साझेदारीका लागि ओलीलाई साथ दिन पहिला महन्थले आफूलाई  मनाउनुपर्ने उपेन्द्रले बताउनुभयो ।

जसपा अध्यक्ष ठाकुर ओलीसँग सत्ता साझेदारीका लागि तयार हुनुहुन्छ । तर, उपेन्द्र यादव, बाबुराम भटट्राई लगायत नेताले ओलीसँग कुनैपनि हालतमा सहकार्य गर्न नसकिने बताउँदै आउनु भएको छ ।उहाँहरु कांग्रेस र माओवादीसँग सहकार्य गर्ने पक्षमा हुनुहुन्छ । यही विषयका कारण जसपा लगभग फुटको संघारमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुका माग पूरा गर्न थालिसक्नुभएको महन्थले बताउँदै आउनु भएको छ । महन्थले कांग्रेस र माओवादीसँग सहकार्य हुनै नसक्ने पनि बताइसक्नुभएको छ ।

आफूलाई विस्वस्त पार्न सके महन्थको विचारसँग सहमत हुन सकिने यादवले बताउनुभयो । ‘ओलीसँग महन्थ जी त्यसै सति जाने योजनामा त हुनुहुन्न होला, केही केही त छ, उहाँले (महन्थ) ले कन्भिन्स पार्न सक्नुभयो भने उहाँको विचारमा सहमत हुन सक्छु’– उपेन्द्रले भन्नुभयो । यस विषयमा अहिलेपनि आफूहरु छलफलमा रहेको बताउँदै उपेन्द्रले भन्नुभयो –‘केही दिनभित्र एकै विचारसाथ उभिन्छौं, त्यो कुरा महन्थजीको हातमा छ, उहाँले मलाई कसरी विस्वस्त पार्न सक्नुहुन्छ ।’

नेपाली कांग्रेससँग मिलेर सरकार बनाउन आजदेखि छलफल थालिएको समेत उपेन्द्रले बताउनुभयो । ‘छलफल सुरु भएको छ, कहिलेसम्म सकिन्छ टुंगो छैन’–यादवले भन्नुभयो ।ओलीसँग सहकार्य हुने सम्भावना कम रहेको बताउँदै उपेन्द्रले भन्नुभयो – ‘ओलीजीले प्रतिगमनकारी काम गर्नुभएको छ, उहाँसँग सहकार्य हुनै सक्दैन, हाम्रो मुख्य उद्देश्य उहाँको बहिर्गमन हो ।’

महन्थ र तपाईंको विचार नै फरक छ, यसले जसपाभित्र विभाजनको रेखा कोर्दैन ?भन्ने प्रश्नमा यादवले भन्नुभयो – ‘फरक विचार जन्मिनु लोकतन्त्रमा राम्रो कुरा हो, हामी यस्ता कुरामा पार्टीभित्र छलफल गरेर जान्छौं, सहकार्य र संवादबाट समस्याको सामाधान खोज्छौं ।’

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !