९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

जस्तोसुकै संकट आएपनि ओलीको साथ छोड्दैनाैं–टोपबहादुर रायमाझी

प्रकाशित मिति :  २९ चैत्र २०७७, आईतवार १२:११


काठमाडौं । ‘जस्तोसुकै संकट आएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ छाड्दैनौं’– उर्जा जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले भन्नुभयो ।

अर्घाखाँचीको सितगंगा–७ तामातालमा नौमुरे वहुउद्देश्यीय जलविद्युत आयोजनाको आयोजना साइट कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले त्यसो भन्नुभएको हो ।

‘हाम्रो ट्युनिङ मिलेको छ, हाम्रो विचार मिलेको छ, राष्ट्र, राष्ट्रियता र समृद्धिको भावना मिलेको छ, जस्तोसकुै संकट आएपनि केपी ओलीको साथ छाड्दैनौं’– रायमाझीको भनाइ छ । राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिको काम ओलीबाहेक अरुबाट सम्भव छैन भन्ने कुरा पनि इतिहासले देखाएको मन्त्री रायमाझीले बताउनुभयो ।

केपी ओलीको नेतृत्वमा विकास र समृद्धि लक्ष्य पूरा गर्ने गतिमा देश अगाडि बढिरहेको उहाँले बताउनुभयो । केपी ओली अहिलेसम्मकै अब्बल नेता भएको भन्दै उहाँले यो कुरा देश र जनताले मानिसकेको प्रष्ट पार्नुभयो ।

‘राष्ट्रिय र राष्ट्रिय स्वाधिनताको पक्षमा दृढ रुपमा उभिने, राष्ट्र नायक, समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यसाथ अगाडि बढ्नुभएका, विकास र समृद्धिको नेतृत्व गर्नुभएका हाम्रा नेता केपी शर्मा ओलीलाई अरु भन्दा अब्बल नेताका रुपमा राष्ट्रले मानेको छ’– रायमाझीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले जति काम अहिलेसम्मका कुनै पनि प्रधानमन्त्रीले गर्न नसकेका पनि उहाँले बताउनुभयो ।  ‘प्रधानमन्त्री र मन्त्री त अरु पनि भएकै हुन््, इतिहास पल्टाएर हेरौं अरुले कति गरे ? ओलीले कति काम गर्नुभयो ?व्याख्या गर्न जरुरी छैन, जनताले राम्रोसँग बुझेका छन्’– रायमाझीले भन्नुभयो ।

सरकार ढाल्ने, पार्टी फुटाउने र विग्रह ल्याउनेबाहेक अरुले केही गर्न नसकेका उहाँले बतानुभयो । पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै मन्त्री रायमाझीले भन्नुभयो – ‘खाली अराजक कुरा गर्ने, खाली मांसाहारी क्रान्तिका कुरा गर्ने, विकास र समृद्धिको एजेण्डा छ तर उनीहरु मांसाहारी आन्दोलन गर्ने भनेका छन्, ढुंगामुढा गरेका छन् ।

’ शान्तिपूर्ण राजनीति आएपनि प्रचण्डमा युद्धको धङधङी बाँकी नै रहेको रायमाझीको भनाइ छ । त्यस्ता नेताहरुबाट समृद्धिको एजेण्डा पूरा नहुने बताउँदै उहाँले भन्नुभयो – ‘अब पनि विकास र समृद्धिको महान् एजेण्डा नै हाम्रो एजेण्डा हुनेछ, ओलीकै नेतृत्वमै यो पूरा हुनेछ ।’

केपी ओलीको नेतृत्वमा विकास र समृद्धिको महान अभियानमा देश अगाडि बढिरहेकाले ढुक्कसाथ बस्न उहाँले जनतालाई आग्रह गर्नुभयो । ‘जस्तोसुकै संकट आएपछि झेलेर अगाडि बढ्छौं, ढुक्कसाथ अगाडि बढ्नुस्, तपाईंहरुको साथमा हामी छौं, केपी ओलीकै नेतृत्वमा तपाईंहरुका सपना पूरा गर्छौं’– रायमाझीको भनाइ छ ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !