केपी ओलीलाई हल्लाउने तागत कसैसँग छैन – कैलाश ढुंगेल
रामेछाप । प्रधानमन्त्री केपी ओलीलाई हल्लाउने तागत कोहीसँग नभएको वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताउनुभएको छ ।
रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा आइतबार नेकपा एमाले वडा कार्यालयको उद्घाटन गर्दै मन्त्री ढुंगेलले जनताको जगमा उभिएको नेता केपी ओली भएको बताउनुभयो ।
‘प्रचण्डको केही लागेन, माधव नेपालको केही लागेन, शेरबहादुर देउवाको केही लागेको छैन, राजसंस्था विघटन नै भएर गयो, त्यसको केही लागेन, केपी ओलीलाई कसैले हल्लाउन सक्दैन’– उहाँले भन्नुभयो । देशभर केपी ओलीको पुत्ला र फोटो जलाउनेलाई एमालेमा ल्याउन नसकिने बताउँदै उहाँले भन्नुभयो – ‘गल्ती नस्वीकार्नेलाई पार्टी नेता कार्यकर्ताले क्षमा दिन सक्दैनन् ।’
एमाले महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा हारेदेखि नै माधव नेपालले निहु खोज्न थाल्नुभएको ढुंगेलले सुनाउनुभयो । उहाँले भन्नुभयो – ‘हारेकै दिनदेखि त्यो विषय उठाउँदै उठाउँदै आएर प्रचण्डको आड भरोसा पाउनुभएछ क्यारे माइतीघर मण्डलाबाट केपी ओलीलाई कारबाही गरिदिएँ, म नै अध्यक्ष भएँ भन्नुभयो ।
’प्रचण्डको काँधबाट झर्ने बित्तिकै एमालेमा अएपनि माधवको मति नसुध्रिएको उहाँले बताउनुभयो । प्रचण्डसँग मिलेर अध्यक्षविरुद्धको अभियोग पत्रमा सही गर्नुभएका माधव त्यो फिर्ता नलिइ निहु खोज्नकै लागि एमालेमा आएको उहाँले बताउनुभयो ।
जुनसुकै पार्टीमा पुगेपनि प्रधानमन्त्री र अध्यक्ष पदका लागि माधव र प्रचण्डले मरिहत्ते गर्न नछाड्ने समेत ढुंगेलले बताउनुभयो । ‘पार्टीलाई कमजोर बनाउने, राष्ट्रियतालाई कमजोर पार्ने, विदेशीसँग साँठगाँठ गर्ने, राष्ट्रवादी राजनेता केपी ओलीलाई कमजोर बनाउने खेल भयो’– ढुंगलले भन्नुभयो ।
पार्टी एकतापछि तीनवर्षसम्म पार्टीको ब्यानर र झण्डा पोकोपारेर राख्नु पर्ने अवस्था आएको उहाँले स्मरण गर्नुभयो । सर्वोच्च अदालत पार्टीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि एमालेमा पर्व आएजस्तो उल्लास छाएको समेत बताउनुभयो ।
-आइएनए न्युज एजेन्सी