कांग्रेसको हिजोको बैठकमा एउटा निर्णय, अर्को बैठक भदौ १२ गते
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको साउन २३ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठक अझै जारी छ ।
साउन २३ गतेबाट सुरु भएको बैठक साउन २८ गतेसम्म सञ्चालन भदौ ७ गतेसम्मको लागि रोकिएको थियो । विभिन्न ११ वटा प्रस्तावमा केन्द्रित बैठकमा हिजो केही छलफल भएपछि पुनः भदौ १२ गतेसम्मका लागि स्थगित भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा नेताहरूले सभापतिलाई सत्ता साझेदार नेकपा एमालेसँग नियमित सम्पर्क र सम्बन्धमा रहन सुझाव दिनुभएको छ । सत्ता साझेदारलाई चिढ्याउने गरी काम नगर्न पनि उहाँहरूले आग्रह गर्नुभएको छ ।
बैठकले शुक्रबार पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय पर्यटक बोकेको बस दुर्घटना प्रति दुःख व्यक्त गरेको छ । त्यसै गरी शुक्रबारै रौतहटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ४७ नम्बरको बस मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिकाको सत्र किलोमा माथिबाट खसेको डुङ्गाका कारणले अनियन्त्रित भई पल्टिदा २५ जना घाइते भएको घटनाप्रति पनि बैठकले दुःख व्यक्त गरेको छ । दुवै घटनाका घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस सरकारसँग माग गरेको छ ।
हिजोको बैठकमा सहमहामन्त्रीहरू– फरमूल्लाह मन्सुर, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, जीवन परियार, केन्द्रीय सदस्यहरू— गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, अजयकुमार चौरसिया, शंकर भण्डारी, डा.आरजु राणा देउवा, जीतजंग बस्नेत र आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्काले आ–आफ्नो धारणा राख्नु भएको नेपाली कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय कार्यसमितिको अर्को बैठक भदौ १२ गते बुधबार दिउँसो तीनबजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।