युवा संघ नेपाल सडकको बाघ संगठन हो– क्षितिज थेबे
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय युवा संघ नेपाललाई व्यवस्थित र सबैभन्दा प्रभावशाली संगठन बनाउने बताउनुभएको छ ।
कोशी प्रदेश स्तरीय युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार विराटनगरमा सम्बोधन गर्दै थेबेले देशमा रहेका विभिन्न चुनौतीलाई चिर्दै युवा आन्दोलनलाई अघि बढाउने बताउनुभयो । राष्ट्रिय युवा संघ नेपालले देशमा युवालाई मार्गदर्शन दिएर नेतृत्व गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
राष्ट्रिय युवा संघ नेपाल सुशासन, राष्ट्रियता, सामाजिक न्याय तथा समृद्ध नेपालको पक्षमा सतिसाल जस्तै अडिएर अघि बढ्ने उहाँले बताउनुभयो । राष्ट्रिय युवा संघ नेपाल सडकको बाघ संगठन भएको उहाँले दाबी गर्नुभयो ।
राष्ट्रिय युवा संघ नेपाल विकृति र विसङ्गतिको विरुद्धमा निरन्तर लड्दै आएको उहाँले बताउनुभयो । राष्ट्रियता र व्यवस्था विरुद्ध टाउको उठाउनेहरूलाई तह लगाउने संगठन राष्ट्रिय युवा संघ नेपाल मात्र भएको उहाँले दाबी गर्नुभयो ।
देशमा केही भएको छैन भन्नेहरूलाई थेबेले देशमा गणतन्त्र आएपछि ८० प्रतिशत जनताको पहुँचमा सडक पुगेको स्मरण गराउनुभयो । एमाले समृद्ध नेपाल र सुखी नेपालीको स्पष्ट दृष्टिकोण बोकेर हिँडेको पार्टी भएको पनि उहाँले स्पष्ट पार्नुभयो । ‘जनताको सापेक्ष परिवर्तनबाट मात्र यो देशको परिवर्तन हुनसक्छ’, उहाँले भन्नुभयो ।
उहाँले तत्काल बिदेसिएका युवालाई देशमा ल्याएर रोजगारी दिन सकिने अवस्था नभएको भए पनि विदेश जाने युवालाई सिप र तालिम सहित रोजगारीमा पठाउनु पर्नेमा जोड दिनुभयो । राम्रो पारिश्रमिक सहित वैदेशिक रोजगारीमा जाने युवा तयार गर्नुपर्ने उहाँले बताउनुभयो ।
देशमा युवा टिकाउनको लागि युवा स्वरोजगारी र युवा उद्यमका कार्यक्रम सुरु गर्नुपर्ने उहाँले बताउनुभयो । नयाँ नेपाल बनाउने जिम्मा बोकेका युवाले नेपाल बनाउनु पर्ने उहाँले बताउनुभयो । ‘यो देश बनाउने पहिलो जिम्मा तपाईँ÷हाम्रो हो, तपाईँ÷हामीले बनाउने हो’, उहाँले भन्नुभयो ।
राष्ट्रिय युवा संघ नेपालले एक वर्षमा १० हजार युवालाई रोजगार बनाउने उहाँले बताउनुभयो । त्यसको लागि राष्ट्रिय युवा संघ नेपालले स्टाटप कार्यक्रम सञ्चालन गर्ने थेबेको भनाइ छ । ‘बेरोजगारीको समस्या अन्त्य राष्ट्रिय युवा संघ नेपालले गर्छ, रोजगारीको सुरुवात राष्ट्रिय युवा संघ नेपालले गर्छ’, उहाँले भन्नुभयो ।