१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादी केन्द्रको ध्यान संगठ निर्माणमा केन्द्रित : पुष्पकमल दाहाल प्रचण्ड

प्रकाशित मिति :  १० भाद्र २०८१, सोमबार १८:३६


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले माओवादी केन्द्रको ध्यान संगठ निर्माणमा केन्द्रित भएको बताउनुभएको छ ।

कास्कीको पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको समापन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पार्टीका सबै नेता कार्यकर्तालाई संगठन निर्माणको काममा जुट्न आग्रह गर्नुभयो । ‘हामी सरकारको जोड घटाउमा लाग्ने होइन, अरूले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ’, उहाँले भन्नुभयो ।

माओवादी केन्द्र अहिले पनि देशको महत्त्वपूर्ण शक्ति रहेको रहेको कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो । राष्ट्रिय स्वाधीनताको रक्षा र अहिलेका उपलब्धिको रक्षा अन्यबाट सम्भव नरहेको उहाँले दाबी गर्नुभयो ।

परिवर्तनका उपलब्धिलाई उल्टाउने षड्यन्त्र भइरहेको बताउँदै दाहालले त्यसमा सजग हुन आग्रह गर्नुभयो । आवश्यक पर्दा पुनः संघर्षमा उत्रिएर भए पनि परिवर्तनलाई जोगाउनु पर्ने उहाँको भनाइ छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै १२ बुँदे सहमति करिब अन्तिम अवस्थामा पुगेको दाहालले बताउनुभयो ।

दाहालले अहिले देशमा समाजवादी क्रान्तिका लागि वस्तुगत आधार तयार भएको बताउनुभयो । त्यसका लागि पहिलो सर्त पार्टीभित्रको एकता भएको उहाँले स्पष्ट पार्नुभयो ।

बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेललगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !