९ आश्विन २०८३, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बालेनलाई कृष्णभक्तको चुनौती – दल खोलेर एमालेसँग प्रतिष्पर्धा गर्नूस्

प्रकाशित मिति :  4 September, 2024 5:56 pm


काठमाडाैं । नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जबरजस्ती ‘अनपपुलर’ भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएकाे छ ।

बुधबार रिपोर्टर्स क्लबमा भएकाे कार्यक्रममा बाेल्दै नेता पाेखरेलले यस्ता प्रकारको भाष्यबाट सचेत हुनुपर्ने बताउनुभयाे । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै उहाँले भन्नुभयाे – ‘अहिले केपी ओली अनपपुलर भन्ने भाष्य जबरजस्त निर्माण गर्न खोजिँदैछ, हामी त्यस्तो चाहँदैनौं, लोकतन्त्रमा सबै फूल फुल्न पाउनुपर्छ, हाँस्न पाउनुपर्छ भन्ने हो ।’

नेता पोखरेलले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने भन्दै उहाँले एउटा दलको विकल्प अर्को दल हुने बताउनुभयाे । नेता पाेखरेलले काठमाडौं महानगरका प्रमुख शाहलाई स्वघोषित पपुलरको संज्ञा दिँदै नेता पाेखरेलले दल खोलेर एमालेसँग प्रतिष्पर्धा गर्न चुनौती पनि दिनुभयाे । उहाँले भन्नुभयाे – ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, एउटा दलको विकल्प अर्को दल हुनसक्ला, अरु साथीहरू आफूलाई स्वघोषित पपुलर भन्नुभएको छ, उहाँहरूले पनि गरे हुन्छ, दल खोलेर हामीसँग प्रतिस्पर्धामा आए हुन्,त्यो प्रतिष्पर्धामा जनताबाट अब्बल सावित भए हुन्छ, आवधिक निर्वाचन प्रणाली लोकतन्त्रको सुन्दरता हो, हामी तयार छौं ।’

प्रधानमन्त्री ओलीले बालेनलाई सहयोग नै गर्न चाहेको तर बालेन भने ओलीविरुद्ध लगातार नकारात्मक रुपमा प्रस्तुत भइरहेको नेता पाेखरेलले बताउनुभयाे । एमालेका कुनै पनि नेता, सांसद्ले अपराध गरे उनीहरूलाई दण्डित गर्न कसैले नरोक्ने उहाँले बताउनुभयाे । ‘ओली र बालेनबीचमा कुनै त्यस्तो म देख्दिनँ, ओलीले उहाँलाई जहिले पनि हामी उहाँलाई सहयोग गर्छौं भन्ने हिसाबबाटै कुरा राख्नुभएको छ, तर बालेनजी लगातार नेगेटिभ ढंगबाट प्रस्तुत हुनुभएको छ, प्रदेश सांसद रेखाजीको कुरा छ, उजुरी परेर प्रहरीले पक्राउ गर्ने प्रक्रिया किन थालेन ? एमालेले कहाँ बाधा गर्छ ?’- पाेखरेलकाे प्रश्न छ ।

पहिलो पटक नेपालको इतिहासमा समृद्धि पनि हाम्रो राष्ट्रको एजेण्डा बन्छ भन्ने कुराको सुरुआत केपी ओलीबाट भएको उहाँले बतताउनुभयाे ।  समृद्ध नेपाल खुसी नेपालीको सपना साकार पार्न प्रधानमन्त्री ओली लागिरहनुभएकाे नेता पाेखरेलले बताउनुभयाे ।

गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमा प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि युवाहरुले व्यक्त गरेको आक्रोशलाई उहाँले मनपरी भएको बताउनुभयाे । जे मन लाग्यो त्यो बोल्नेलाई कुनै पनि कारबाही नगर्ने लोकतन्त्र हुन नसक्ने बताउँदै नेता पाेखरेलले भन्नुभयाे – ‘पञ्चायतकालमा विरोध गर्नेहरूले कति वर्ष जेल बस्नुपरेको थियो ? अहिले त खुल्ला मञ्चको औपचारिक कार्यक्रममा प्रधानमन्त्रीको विरुद्धमा जे मन लाग्यो त्यो बोल्ने, जे मन लाग्यो त्यो बोल्नेलाई कुनै पनि कारबाही नगर्ने लोकतन्त्र हो ?’

राष्ट्रिय सहमति गरेर नै संविधान संशोधनको प्रयास गरिने उहाँले प्रष्ट पार्नुभयाे । ‘हामीले जबरजस्ती रुपमा संविधान संशोधन गर्न चाहेको छैनौँ, राष्ट्रिय सहमति गरेरै संविधान संशोधन हुन्छ, संविधान कुनै बाइबल, कुरान होइन, यो संशोधनीय दस्तावेज हो, एउटा अवधिमा यसलाई संशोधन गरौं भन्दा विभिन्न भ्रम पाल्न जरुरी छैन ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !