११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

डडुवाका ४३ घर थामी समुदायको त्रिपालमुनि बास, मरिसक्यो सकारले सहयोग गर्छ भन्ने आस

प्रकाशित मिति :  २० भाद्र २०८१, बिहीबार १३:५९


रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका विपन्न सीमान्तकृत र अल्पसङ्ख्यक थामी समुदायले त्रिपालमुनि बास बसेको १२ दिन बित्यो ।

बाढी पहिरोले गाउँ क्षतविक्षत भएपछि सडक र डाँडामा त्रिपाल हालेर बसेका स्थानीयका कम्तीमा स्थानीय सरकार आउला र सहयोग गर्ला भनेर हेर्दा हेर्दै आँखा टट्टाइसके । तर उनीहरूले गाउँको सिंहदरबारको अनुभूति गर्न पाएका छैनन् । उनीहरूको चिसो त्रिपालमुनिको बास कहिलेसम्म हुने हो कुनै ठेगान पनि छैन ।

पानी पर्न छाडेको छैन, पहिरोको जोखिम टरेको छैन । वर्षाको पानी मात्र होइन शैलुङको फेदमा रहेको गाउँमा जोडो पनि पसिसक्यो । वर्षाको पानी र चिसोमा पाल मुनिको बसाई कम कष्टकर छैन, तर उनीहरूसँग अर्को विकल्प पनि छैन ।

आफूहरूको बिजोग हुँदा पनि व्यवस्थापनका लागि गाउँपालिका लगायत सम्बन्धित निकायको खासै ध्यान नदिएको पहिरो पीडित भीमबहादुर थामी बताउनुहुन्छ । ‘अब त आस पनि मर्दै गयो, यस्तो बिचल्ली हुँदा पनि नपाएको सहयोग कहिले पाउनु ?’ थामीले भन्नुभयो ।

सो वडाका विभिन्न बस्तीका ४८ भन्दा बढी घर परिवार पहिरोको जोखिममा परेका वडाध्यक्ष प्रेम लामा बताउनुहुन्छ । भदौ ८ गते रातिको अविरल वर्षा पछिको पहिरोले गाउँ क्षतविक्षत भएको छ ।

दोरम्बा शैलुङ गाउँपालिका–१ को मझुवा सल्लेटार स्थित थामी बस्तीमा ३२ घर, पात्लेका तीनघर, मङ्सिरेका ६ घर र नागीका दुई घर गरी ४३ घरका परिवार घरमा बस्नै नसक्ने भएपछि त्रिपाल हालेर बसेका छन् । अन्य केही घर जोखिममा भए पनि उनीहरू घरमा नै छन् ।

पहिरोका कारण सिङ्गो गाउँकै त्रिपालमुनिको बास हुँदा पनि गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समिति लगायतका निकाय बेखर जस्तै भएका वडाध्यक्ष लामाको गुनासो छ । ‘सबैको ध्यान जान मान्छे नै मर्नुपर्ने रहेछ, हामी मान्छे बचाउने अभियानमा लागेका छौँ, त्यसैले सहयोग पाइएन’, उहाँले गुनासो गर्नुभयो ।

विस्थापित केही घरका परिवार चिहान डाँडा, केही परिवार सडकमा र केही परिवार बारीका पाटामा त्रिपाल टाँगेर बसेका लामाले जानकारी दिनुभयो । यसबारेमा जति भने पनि सरोकारवाला निकायको ध्यान नगएको उहाँले बताउनुभयो ।

विस्थापितका लागि गाउँपालिका र रेडक्रसले केही त्रिपाल उपलब्ध गराएको भए पनि त्यो अपुग भए पछि व्यक्तिगत रूपमा सहयोगको लागि अनुरोध गरेर स्थानीलाई त्रिपालमुनि राखेको लामाले बताउनुभयो । अति विपन्न समुदाय भएकाले उनीहरूलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने भए पनि त्यसमा कसैको ध्यान नपुगेको लामाको गुनासो छ ।

सरोकारवालाले वास्ता नगरेपछि चन्दा सङ्कलन गरेरै भए पनि पीडितहरूलाई अस्थायी टहरा निर्माण गरेर सुरक्षित रूपमा राख्ने योजना वडा कार्यालयले बनाएको लामाले बताउनुभयो । तत्काल यो काम नगर्ने हो भने त्रिपालमा बस्ने धेरै मानिसहरू बिरामी पर्ने सम्भावना बढेको लामाको भनाइ छ ।

पहिरो पीडितका लागि हालसम्म दोरम्बा शैलुङ गाउँपालिकाले आठ बोरा चामल, दुई बोरा चिउरा र दुई कार्टुन खाने तेल तथा केही थान त्रिपाल उपलब्ध गराएको छ । यस बाहेक रेडक्रस रामेछापले केही ठाउँका पीडितलाई त्रिपाल लगायतका केही राहत सामाग्री उपलब्ध गराएको छ । ‘४३ घर विस्थापित भएका छन्, अधिकांश दैनिक ज्याला मजदुरी गरेर खाने मानिसहरू छन्, उनीहरूको आफ्नो केही छैन, त्यति सहयोगले के गर्नु ?’लामाले प्रश्न गर्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !